+
+
टी-२० विश्वकप छनोट :

नेपाल र ओमानबीचको खेल आज, यस्तो छ हेड टु हेड

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० कात्तिक १६ गते ६:३१
फाइल तस्वीर ।

१६ कात्तिक, काठमाडौं । घरेलु मैदानमा जारी आईसीसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा आज ओमनसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र ओमानबीचको खेल बिहीबार बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।

यसअघि नै समूह ‘ए’ मा लगातार दुई खेल जितेर सेमिफाइनल पुगिसकेका नेपाल र ओमानबीचको खेल हुँदा समूह विजेता बन्ने होड हुनेछ । दुवैले यसअघि सिंगापुर र मलेसियालाई हराउँदै एक खेलअघि नै अन्तिम चारमा स्थान सुरक्षित गरेका थिए ।

पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको नेपालले दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । यस्तै ओमानले मलेसियालाई ३२ रन र सिंगापुरलाई २२ रनले पराजित गरेको थियो । लगातार दुई खेल हारेका मलेसिया र सिंगापुर सेमिफाइनल होडबाट बाहिरिसकेका छन् र सान्त्वना जितका लागि खेल्दैछन् ।

यी दुई खेलसहित बिहीबार समूह चरणका बाँकी चार वटै खेल हुनेछ र त्यसपछि सेमिफाइनल पुग्ने बाँकी दुई टिम र सेमिफाइनल समिकरण पनि टुङ्गो लाग्नेछ ।

यस्तै समूह ‘बी’ अन्तर्गत यूएई र हङकङबीचको खेल मुलपानी क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ । यो खेल यूएईलाई समूह विजेता बन्न महत्वपूर्ण छ भने हङकङलाई सेमिफाइनल पुग्नका लागि महत्वपूर्ण छ । यस्तै कुवेत र बहराइनबीच दिउँसो सवा १ बजे मुलपानी मैदानमै खेल हुनेछ ।

यूएई २ खेलबाट ४ अंकसहित शीर्ष स्थानमा छ । हङकङ र बहराइनको दुई खेलबाट समान २ अंक छ । दुई हार बेहोरेको कुवेत अंकविहीन छ ।

समूह ‘बी’ मा यूएई समूह विजेता बन्ने सम्भावना रहेकोले नेपाल र ओमान समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा यूएईसँगको सम्भावति भेट टार्न चाहन्छ । समूह ‘ए’ को विजेताले पहिलो सेमिफाइनल टीयू मैदानमै खेल्ने भएकोले पनि नेपालले ओमानलाई हराएर समूह विजेता बन्ने लक्ष्य छ र महत्वपूर्ण हुने सेमिफाइनल खेल टीयू मैदानमा खेल्न चाहन्छ ।

किनकि सेमिफाइनल विजेता दुई टोलीमात्रै अर्को वर्ष हुने टी-२० विश्वकपमा छनोट हुनेछ ।

समूह चरणमा दुवै खेलमा सहज जित निकालेको नेपालको लागि सेमिफाइनल अघि ओमानविरुद्धको खेलमा असली परीक्षण हुन सक्छ । किनभने नेपालका स्टार लअराउण्डर दीपेन्द्रसिंह ऐरी चोटका कारण अघिल्ला दुई खेलमा खेल्न सकेनन् । उनले छनोटमा अब खेल्ने सम्भावना कम छ । त्यसैले अनुभवी टिमविरुद्ध हुने महत्वपूर्ण खेलमा दीपेन्द्रको स्थान कसले लिन्छ भन्ने चासोका साथ हेरिएको छ ।

गत वर्ष ओमानमै भएको टी-२० विश्वकप ग्लोबल क्वालिफायरका नेपाल र ओमान दुवै छनोट हुन असफल भएका थिए ।

यस पटक लयमा रहेको नेपाल घरेलु मैदानमा हजारौं समर्थकअघि खेल्दैछ र र १० वर्षपछि टी-२० विश्वकपमा स्थान बनाउने एक मात्र लक्ष्य छ । २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकप खेलेपछि नेपाल पछिल्लो तीन संस्करणमा छनोट हुन सकेको छैन ।

नेपाल र ओमानबीच हेड टु हेट

टी-२० आईमा नेपाल र ओमानको विगत हेर्दा नेपाल अघि छ । अहिलेसम्म यी दुई टोलीबीच चार टी-२०आई खेल हुँदा नेपालले तीन खेल जितेको छ भने ओमानले एक खेल जितेको छ ।

संयोगवस २०२२ मा भएको तीनवटै खेल ओमानको मैदानमा भएको थियो । त्यसमा सबै खेल नेपालले जितेको थियो ।

गत वर्ष पनि आईसीसी टी-२० विश्वकप ग्लोबल छनोटको समूह ‘ए’ मा यी दुई टोली एकै समूहमा परेका थिए । जहाँ नेपालले समूह चरणको खेलमा ओमानलाई ३९ रनले पराजित गरेको थियो । तर, दुवै टोली सेमिफाइनलमा पराजित हुँदै विश्वकपमा छनोट हुन सकेनन् र तेस्रो स्थानको लागि पुन: खेल भएको थियो । त्यसमा नेपालले ओमानलाई ९ विकेटले सहजै हराएको थियो ।

विश्वकप छनोटअघि भएको चारदेशीय टी-२० सिरिजमा पनि यी दुई टोलीबीच भेट हुँदा नेपाल ६ विकेटले विजयी भएको थियो ।

२०१९ मा ओमानमै भएको पाँच देश सम्मिलित पेन्टागुलर टी-२० सिरिजमा भने नेपाल ओमानसँग ६ विकेटले पराजित भएको थियो ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?