३ मंसिर, काठमाडौं । सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ भोलि सोमबारदेखि गोकर्ण गल्फ कोर्समा सुरु हुने भएको छ ।
सूर्य नेपाल गल्फ टुर २०२३/०२४ को पहिलो प्रतियोगिताको रूपमा रहेको सूर्य नेपाल सेन्ट्रल ओपन सोमबार हुन लागेको हो ।
आयोजक नेपाल प्रोफेसनल गल्फर्स एशोसिएशनले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै यस सिजनको सूर्य नेपाल गल्फ टुरको सुरुवातबारे जानकारी दिएको थियो ।
सूर्य नेपाल गल्फ टुर २०२३/०२४ अन्तर्गत कुल आठ वटा प्रतियोगिता छन् । जसमध्येको पहिलो प्रतियोगिता भोलि सोमबारदेखि सुरु हुन लागेको हो ।सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपबाट यस सिजनको टुर सम्पन्न हुनेछ ।
सिजनको पहिलो प्रतियोगिता सेन्ट्रल ओपन चार दिनसम्म सञ्चालन हुनेछ । कुल ७२ होलमा प्रतिस्पर्धा हुनेछन् ।
दुई चरण (३६ होल) को खेलपछि कट नियम लागू हुनेछ । शीर्ष २१ प्रोफेसन र ६ एमेच्योर गल्फर फाइनल (३६ होल) का लागि छनोट हुनेछन् ।
शीर्ष २१ भित्र अंक बराबरी भएका गल्फरले पनि फाइनलको यात्रा तय गर्ने प्रावधान छ ।
सिजनको पहिलो प्रतियोगितामा भुवन नगरकोटी, नीरज तामाङ, धन थापा, सञ्जय लामा र रवि खड्कालाई उपाधि दाबेदारका रूपमा हेरिएको छ । एमेच्योरतर्फ सद्भाव आचार्य उपाधि दाबेदार हुन् ।
यो प्रतियोगिताको विजेताले एक लाख ४५ हजार र उपविजेता ९४ हजार रुपैयाँ प्राप्त गर्नेछन् । तेस्रो हुनेले भने ७० हजार रुपैयाँ पाउनेछ ।
एमेच्योर गल्फरले भने प्रो. को उपाधि जितेमा पुरस्कार भने पाउने छैनन् । उनीहरूले ट्रफीमा नै चित्त बुझाउनु पर्नेछ ।
यद्यपि, शीर्ष २१ प्रो गल्फरले भने नगद पुरस्कार पाउनेछन् । यस प्रतियोगिताबाट खेलाडीहरूले कुल आठ लाख ४० हजार रुपैयाँ पुरस्कार रकम पाउनेछन् ।
सिजनको आठ प्रतियोगिताबाट भने प्रो.गल्फरले कुल ६४ लाख ३६ हजार एक सय ५० रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।
नेपाल प्रोफेसन गल्फर एशोसिएशनका अध्यक्ष रविन्द्रमान श्रेष्ठले अहिले १७औं संस्करण चलिरहेको र यो आयोजनाले नेपालमा एमेच्योर र प्रो. गल्फरले राम्रो प्रतियोगिताहरू पाइरहेको बताए ।
यस टुरबाट नयाँ युवा गल्फर पनि आइरहेको उनको दाबी छ । टुरको दोस्रो प्रतियोगिता भने आगामी डिसेम्बर २४ देखि रोयल नेपाल गल्फ क्लवमा सुरु हुनेछ ।
प्रतिक्रिया 4