+
त्रिदेशीय टी-२०आई शृंखला :

नेपाल नेदरल्याण्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित

२०८२ असार  ३ गते ०:०२ २०८२ असार ३ गते ०:०२
नेपाल नेदरल्याण्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई शृंखलाको पहिलो खेलमा नेदरल्याण्ड्ससँग पराजित भयो।
  • खेलमा निर्धारित २० ओभर र तीन सुपर ओभर बराबरी भएपछि नेदरल्याण्ड्सले अन्तिम सुपर ओभरमा जित हासिल गर्यो।
  • यस खेलमा नेपाली टोलीबाट किरण ठगुन्ना र रुपेश सिंहले टी-२०आई डेब्यू गरे र यो नेपालको १००औं टी-२०आई खेल हो।

२ असार, काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई शृंखलाअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपाल नेदरल्याण्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको हो ।

निर्धारित २० ओभरको खेल टाइ भएपछि त्यसपछिका दुई सुपर ओभर पनि टाइ भएको थियो । तेस्रो सुपर ओभरमा भने नेदरल्याण्ड्सले बाजी मारेको हो ।

पहिलो सुपर ओभरमा नेपालले १९ रन बनाएर २० रनको लक्ष्य दिँदा जवाफमा नेदरल्याण्ड्सले पनि १९ रन नै बनाएको थियो ।

दोस्रो सुपर ओभरमा पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले १७ रन बनाएको थियो । जवाफमा नेपालले पनि १७ रन नै जोडेपछि खेल फेरि तेस्रोपटक सुपर ओभरमा गएको थियो ।

तेस्रो सुपर ओभरमा भने नेपालले रन नै जोड्न सकेन । पहिलो बलमै कप्तान रोहित पौडेल आउट भए भने रुपेश सिंह त्यसपछि दुई बल डट खेलेर चौथो बलमा आउट भए । १ रनको लक्ष्य नेदरल्याण्ड्सले पहिलो बलमै छक्का प्रहार गरेर जित्यो ।

त्यसअघि निर्धारित २० ओभरको खेलमा १५३ रनको लक्ष्य पछ्याएको नेपालले पूरा २० ओभरमा ८ विकेट गुमाएर १५२ रन बनाएपछि स्कोर बराबर भएर खेल सुपर ओभरमा गएको थियो ।

कप्तान रोहित पौडेलले ३५ बलमा सर्वाधिक ४८ रन बनाएर फिनिस भने गर्न सकेका थिएनन् । कुशल भुर्तेलले ३४ रन बनाए ।

नेपाललाई अन्तिम ओभरमा १६ रन आवश्यक हुँदा सन्दीप लामिछाने र नन्दन यादव क्रिजमा थिए । सन्दीपले पहिलो बलमा २ रन लिए, दोस्रो बलमा १ रन लिएर नन्दनलाई स्ट्राइक दिए ।

तेस्रो बलमा नन्दनले चौका प्रहार गरे । चौथो र पाँचौं बलमा २-२ रन लिएर अन्तिम बलमा ५ रन आवश्यक हुँदा नन्दनले चौका प्रहार गरेका थिए ।

नेदरल्याण्ड्सका डानियल डोरामले ४ ओभरमा १४ रन मात्र दिएर ३ विकेट लिए । विक्रमजित सिंहले ४ ओभरमा ३० रन दिएर २ विकेट लिए । काइल क्लेइन, बेन फ्लेचर र जाच लायनले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ७ विकेट गुमाएर १५२ रन बनाउँदै नेपाललाई १५३ रनको लक्ष्य दिएको थियो ।

नेदरल्याण्ड्सका लागि तेजा निदामानुरुले सर्वाधिक ३५ रन बनाए भने विक्रमजित सिंहले ३० तथा साकिब जुलफिकरले अविजित २४ रन बनाए ।

ओपनर माइकल लेभिटले २० तथा म्याक्स ओ डाउडले १९ रन बनाए । जाच लायन काचेटले ११ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछानेले ४ ओभरमा १८ रन दिएर ३ विकेट लिए । नन्दन यादवले २.५ ओभरमा १८ रन दिएर २ विकेट लिए । ललित राजवंशी र कुशल भुर्तेलले १-१ विकेट लिए ।

यस खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट टी-२०आईमा ब्याटर किरण ठगुन्ना र बलर रुपेश सिंहले डेब्यू गरेका छन् ।

यो नेपालको १००औं टी-२०आई खेल पनि हो ।

नेपाली क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय