+
+

‘फ्ल्यासब्याक’ मा पहिलो संस्करणको एनएसएल

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ८ गते ७:३३
पहिलो संस्करणको च्याम्पियन काठमाडौं रेजर्स । तस्वीर : अनलाइखबर फाइल ।

८ मंसिर, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण आज शुक्रबारदेखि सुरु हुँदैछ । यस फ्रेन्चाइज लिगको पहिलो संस्करण ०७८ सालमा भएको थियो, जति बेला कोरोना भाइरस संक्रमणको महामारी चलिरहेको थियो ।

दशरथ रंगशालामा भएको त्यस प्रतियोगिता दर्शकविना नै चलेको थियो । कस्तो रह्यो त पहिलो संस्करणको एनएसएल ? त्यसको फ्ल्यासब्याकमा केही महत्त्ववपूर्ण तथ्यांक यस प्रकार छन् –

१. एनएसएल आयोजना गर्नका लागि सबैभन्दा पहिले ०७५ पुस १७ मा अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल स्पोर्टस एन्ड इभेन्ट्स म्यानेजमेन्टबीच सम्झौता भएको थियो ।

२. पहिलो संस्करणको एनएसएल आयोजना गर्ने घोषणा भने ०७७ फागुन १० मा भएको थियो । त्यसपछि चैत १ मा सहभागी हुने सात टिमको घोषणा गरिएको थियो । ती थिए, विराटनगर सिटी एफसी काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल-लुम्बिनी एफसी र धनगढी एफसी ।

३. नेपाली फुटबल इतिहासमै पहिलो पल्ट ०७७ चैत ६ मा खेलाडीका लिलामी भएको । त्यसमा कुल १ ४९ रहेको ।

४. प्रतियोगिताको पहिलो खेल काठमाडौं र ललितपुरबीच ०७८ को वैशाख ११ मा भएको थियो । त्यसमा काठमाडौं १-० ले विजयी । प्रतियोगिताकै पहिलो ऐतिहासिक गोल मेसुके ओलुमोउले ६६ औं मिनेटमा गरेका थिए ।

५. लिग चरणमा कुल २१ खेल भएका थिए र त्यसमा ५० गोल भएको थियो ।

६. लिग चरणको समाप्तिमा काठमाडौं १३ अंकमा पहिलो स्थानमा रह्यो । त्यसपछि धनगढीको १०, ललितपुरको १० र बुटवल लुम्बिनीको आठ अंक रह्यो । यिनै चार टिम प्रतियोगिताको अर्को चरण पुग्न सफल रह्यो ।

७. प्रतियोगिताका पहिलो क्वालिफायरमा धनगढीले काठमाडौंलाई २–१ ले हराएको थियो । यससँगै धनगढी फाइनल पुग्ने पहिलो टिम बन्यो । पहिलो इलिमिनेटरमा भने ललितपुररले बुटवल–लुम्बिनीलाई १–० ले पराजित गरेको थियो ।

८. दोस्रो क्वालिफायरमा काठमाडौंले ललितपुरमाथि ३-० को जित निकालेको थियो र फाइनल पुग्ने दोस्रो टिम बन्यो ।

९. फाइनलमा काठमाडौंले धनगढीलाई १-० ले हरायो र त्यसमा मेसुकेले नै २१ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।

१०. पहिलो संस्करणको एनएसएलमा कुल २५ खेल भएका थिए र त्यसमा ५८ गोल भएको थियो ।

११. एनएसलको पहिलो संस्करणमा सर्वाधिक गोलक गर्ने खेलाडी काठमाडौं रेजर्सका मेसुके ओलोमोउ हुन् । उनले कूल ८ गोल गरेका थिए ।

१२. पहिलो संस्करणमा एक मात्र ह्याट्रिक भएको थियो । काठमाडौं रेजर्सकै मेसुकेले लिग चरणमा विराटनगर सिटी एफसीविरुद्ध ह्याट्रिक गरेका थिए ।

१३ . लिग चरणमा काठमाडौं रेजर्स र विराटनगर सिटी बीचकै खेलमा सर्वाधिक ९ गोल भएको थियो । एनएसएलकै रोमाञ्चक खेल मानिएको उक्त खेलमा काठमाडौं रेजर्स ५-४ ले विजयी भएको थियो ।

१४ . पहिलो संस्करणमा काठमाडौं रेजर्सका कप्तान तथा मार्की विकेश कुथुले सर्वाधिक ५ क्लिनसिट राखेका थिए ।

१५. पहिलो संस्करणमा एफसी चितवन जितविहीन हुने एक्लो टिम बनेको थियो । चितवनले २ खेल बराबरी गर्दा सबैभन्दा धेरै चार खेलमा पराजित भएको थियो ।

१६. पहिलो संस्करणमा च्याम्पियन टिम काठमाडौंकै प्रशिक्षक बालगोपालम हर्जन उत्कृष्ट घोषित भएका थिए भने मेसुके ओलोमोउ उत्कृष्ट मिडफिल्डर बनेका थिए । उपविजेता धनगढी एफसीका किरणकुमार लिम्बु उत्कृष्ट गोलकिपर र दिनेश राजवंशी उत्कृष्ट डिफेण्डर घोषित भए भने ललितपुर सिटीबाट खेलेका अन्जन विष्ट उत्कृष्ट परवार्ड चुनिएका थिए । यस्तै काठमाडौंकै विश्वास श्रेष्ठ इमर्जिङ प्लेअर बनेका थिए ।

१७. पहिलो संस्करणमा एउटा टिमका प्रशिक्षक बीचमै परिवर्तन भएको थियो । ललितपुर सिटीले मुख्य प्रशिक्षक प्रदीप हुमागाईसँग आपसी सहमतिमा सम्झौता तोड्दै राजु तामाङलाई अन्तरिम प्रशिक्षक बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?