+
+

गार्नाचोको वन्डरफुल गोल, युनाइटेडको सहज जित

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ११ गते ७:१८

११ मंसिर, काठमाडौं । प्रिमियर लिगमा अलेजान्द्रो गार्नाचोले वन्डरफुल गोल गरेको खेलमा म्यानचेष्टर युनाइटेडले आइतबार राति एभर्टनलाई ३-० ले पराजित गरेको छ ।

एभर्टनको घरेलु मैदान गुडिसन पार्कमा भएको खेलको तेस्रो मिनेटमै गार्नाचोले एक्रोब्याटिक शैलीमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । गार्नाचोको गोल ‘गोल अफ दि सिजन’कै दाबेदारको रुपमा छ ।

युनाइटेडका लागि मार्कुस रासफोर्डले ५६औं मिनेटमा पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर पारे । त्यसपछि एन्टोनी मार्सियलले ७५औं मिनेटमा युनाइटेडका लागि तेस्रो गोल गरे ।

जितपछि युनाइटेड १३ खेलबाट २४ अंक जोडेर छैटौं स्थानमा उक्लेको छ । प्रिमियर लिग विरुद्धको प्रोटेस्टका कारण यसअघि नै १० अंक गुमाएको एभर्टनको जम्मा ४ अंक छ र १९औं स्थानमा छ ।

लिगकै अर्को खेलमा टोटनहामले अग्रता जोगाउन नसक्दा घरेलु मैदानमै एस्टन भिल्लासँग २-१ ले पराजित भयो ।

जिओभानी लो सेल्सोले २२औं मिनेटमा गोल गर्दै टोटनहामलाई अग्रता दिलाएका थिए । तर पाउ टोरेसले पहिलो हाफको इन्जुरी टाइममा एस्टन भिलल्का लागि बराबरी गोल गरे ।

त्यसपछि ओली वाट्किन्सले ६१औं मिनेटमा गोल गर्दै एस्टन भिल्लालाई अग्रता दिलाए र त्यही अग्रता कायम राख्दै भिल्लाले तीन अंक जोडेको हो ।

जितपछि भिल्ला १३ खेलबाट २८ अंक जोडेर चौथो स्थानमा उक्लेको छ । लिग लिडर आर्सनलभन्दा भिल्ला २ अंकले मात्र पछि छ । पराजित टोटनहाम भने २६ अंकसहित पाँचौ स्थानमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?