+
+

राष्ट्र बैंकमा ५ जना कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर, नियमनमा गुरु पौडेल

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १८ गते १८:१८

१८ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विभागीय प्रमुख (कार्यकारी निर्देशक) को जिम्मेवारी हेरफेर गरेका छन् । राष्ट्र बैंकको प्रवक्ताको समेत जिम्मेवारीमा रहेका बैंक तथा वित्तीय संस्था नियमन विभागका डा. गुणाकर भट्टले भुक्तानी प्रणाली विभागको जिम्मा पाएका छन् ।

राष्ट्र बैंकमा प्रभावशाली मानिने नियमन विभागमा भुक्तानी प्रणाली विभागका गुरुप्रसाद पौडेलको सरुवा भएको छ । यस्तै वित्त व्यवस्थापन विभागमा रहेका मुकुन्द क्षेत्री जनशक्ति व्यवस्थापन विभागमा सरुवा भएका छन् । विदेशी विनिमय व्यवस्थापन विभागको प्रमुख रहेका रामु पौडेल वित्त व्यवस्थापनमा सरुवा हुँदा विदेशी विनिमय व्यवस्थापन विभागको जिम्मेवारी तुलसी घिमिरेले पाएका छन् ।

आगामी आइतबारदेखि लागु हुनेगरी गभर्नर अधिकारीले विभागीय प्रमुखहरुको जिम्मेवारी हेरफेर गरेका हुन् । केही दिन अगाडि मात्रै गभर्नर अधिकारीले ५ जना कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर गरेका थिए । मुद्रा व्यवस्थापन विभागमा रहेको नरेश शाक्यलाई आईटी विभाग र प्रदीपराज पौड्याललाई मुद्रा व्यवस्थापन विभागको जिम्मेवारी दिइएको थियो । वित्तीय संस्था सुपरीवेक्षण विभागमा रहेका विश्रुत थापालाई बैंकिङ विभागमा सरुवा गरिएको थियो । यस्तै आईटी विभागमा रहेका रामबहादुर मानान्धर गैर बैंकिङ वित्तीय संस्था सुपरीवेक्षण विभागमा र दयाराम शर्मा बैंकिङ विभागबाट वित्तीय संस्था सुपरीवेक्षण विभागमा सरुवा भएका थिए ।

सुमनकुमार अधिकारीलाई सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा र ऋषिकेस भट्टलाई संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागको जिम्मेवारी दिने गरी १ महिना अगाडि जिम्मेवारी हेरफेर भएको थियो ।

१८ जना कार्यकारी निर्देशक रहेको राष्ट्र बैंकमा ६ जनाको जिम्मेवारी भने हेरफेर भएको छैन । जसमा गभर्नर कार्यालयका नेफिल मास्के, बैंक सुपरीवेक्षण विभागका देवकुमार ढकाल, मौद्रिक व्यवस्थापन विभागका पिताम्बर भण्डारी, आर्थिक अनुसन्धान विभागका डा. प्रकाशकुमार श्रेष्ठ, लघुवित्त संस्था सुपरीवेक्षण विभागका रेवतीप्रसाद नेपाल र आन्तरिक लेखापरीक्षण विभागका विमलराज खनालको जिम्मेवारी भने हेरफेर भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?