+
+

के-पप ब्याण्ड ‘ब्ल्याकपिंक’ अलग हुने सम्भावना टर्‍यो, एजेन्सीसँगको सम्झौता नवीकरण

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २२ गते १२:५८

काठमाडौं । विश्वचर्चित के-पप ब्याण्ड ब्ल्याक पिंकले एजेन्सीसँगको सम्झौता नवीकरण गरेको छ । योसँगै ब्याण्डका सदस्यले एकसाथ सांगीतिक प्रस्तुति दिने कार्यलाई निरन्तरता दिने सुनिश्चित भएको छ ।

भन्नुको अर्थ, ब्याण्ड तत्काल अलग हुने सम्भावना टरेको छ ।

अलग हुने यो चिन्ताका बीच महिनौंदेखि सम्झौता नवीकरणको लागि पहल भएको थियो । विज्ञप्ति जारी गर्दै वाइजी इन्टरटेनमेन्टले ‘बलियो विश्वासको धरातलमा रहेर सम्झौता नवीकरण’ गरेको उल्लेख छ ।

सन् २०१६ मा गठन भएको ब्ल्याकपिंक विश्वमै चर्चित केटीहरुको के-पप ब्याण्ड हो । यो नयाँ सम्झौतालाई यसवर्ष कुनै संगीत समूहले हस्ताक्षर गरेको सबैभन्दा आकर्षक मानिएको छ ।

एजेन्सीले थप भन्यो– ‘ब्ल्याकपिंकले विश्वभरका आफ्ना फ्यानलाई नयाँ एल्बम र विश्व भ्रमणका साथ के-पपले विश्वभर पाएको प्रतिष्ठालाई अझै उजागर गर्नेछ ।’

नयाँ सम्झौताबारे तत्काल केही खुलासा छैन । यद्यपि, एजेन्सी वाइजीले ब्याण्ड सदस्य जिस्सो, लिसा, जेनी र रोजीसँग व्यक्तिगत सम्झौता गरेकोबारे केही बताएको छैन ।

यसअघि दक्षिण कोरियाली मिडियामा आएका विवरण अनुसार यदि चार म्युजिक स्टारले सम्झौता नवीकरण नगरेको हकमा उनीहरु ब्याण्डबाट अलग भएर व्यक्तिगतरुपमा प्रस्तुति दिन स्वतन्त्र हुने आशयका खबर आएका थिए ।

के-पप समूहमा यदि कुनै सदस्यले छाडेको खण्डमा पुनः एक हुने सम्भावनालाई दुर्लभ मानिन्छ । यस्तो घटना बिग ब्याङ र टु एनइ वानजस्ता ब्याण्डमा पनि भैसकेको छ ।

‘विश्वको सबैभन्दा ठूलो केटीको ब्याण्ड हामीसँगै छ । ब्ल्याकपिंक सँधै चारजना हुनेछन्’ एकजना एक्स (ट्वीटर) प्रयोगकर्ताले लेखेका छन् । बुधवार वाइजीको शेयर मूल्य २५ प्रतिशत भन्दा बढीमा बन्द भयो । तर, कम्पनीको शेयर बजार मूल्य ६ महिना अघिको तुलनामा अझै झण्डै ३० प्रतिशतले कम छ ।

ब्याण्डका चारै सदस्यको उमेर २० कै दशकमा छ । उनीहरुको युट्युव च्यानललाई ९२ मिलियनले सब्सक्राइब गरेका छन् । तिनीहरु मध्ये प्रत्येकको इन्स्टाग्राममा ७० मिलियनभन्दा बढी फलोअर्स छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?