+
+

के-पप कूटनीति : ब्ल्याकपिंक ब्याण्डलाई बेलायती राजाबाट सर्वोच्च सम्मान

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ७ गते १२:५१

काठमाडौं । बेलायती राजा चार्ल्सले विश्वचर्चित के–पप ब्याण्ड ब्ल्याकपिंकलाई बेलायतको सर्वोच्च सम्मान ‘अर्डर अफ द ब्रिटिस अम्पायर मेडल’ प्रदान गरेका छन् ।

दक्षिण कोरियाली राष्ट्रपति युन सुक येओलको राजकीय भ्रमणको क्रममा राजा चार्ल्सले बकिङ्घम दरबारमा उक्त सम्मान प्रदान गरेको रोयटर्सले जनाएको छ । राष्ट्रपति सुकको भ्रमणमा ब्ल्याकपिंकका ब्याण्ड सदस्य पनि साथमा छन् ।

मानार्थ एमबीई भनिने उक्त सम्मानलाई दक्षिण कोरियाको के–पप कूटनीतिको एक हिस्सा भनिएको छ । उक्त अवसरमा बेलायती राजा चार्ल्सले विश्व पप संस्कृतिमा के–पपको ख्यातिको प्रशंसा गरेका थिए ।

विश्व वातावरण संरक्षणमा ब्ल्याकपिंकले पुर्‍याएको योगदानका लागि बेलायतको उच्च राजकीय सम्मान दिइएको बीबीसीले उल्लेख गरेको छ । ‘उनीहरु वास्तविक सुपरस्टार हुन् । विश्वका यी ठूला मुद्दालाई उनीहरुले दिएको प्राथमिकतालाई म प्रशंसा गर्छु,’ राजा चार्ल्सले उक्त अवसरमा भनेका थिए ।

युवतीहरुको उक्त सांगीतिक समूहले कोप भनिने जलवायु परिवर्तन शिखर सम्मेलनका लागि राजदूतको रूपमा काम गरेको, संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यका लागि वकालत गरेको र लाखौं युवामा वातावरणीय सन्देश पुर्‍याउन मद्दत गरेको भन्दै सम्मान गरिएको बकिङ्घम दरबारले जनाएको छ ।

दरबारको १८४४ नम्बरको कोठालाई प्रायः विशेष अतिथिको लागि प्रयोग गरिन्छ, ब्ल्यापिंकलाई पनि त्यही कोठामा सम्मानित गरियो । दक्षिण कोरियाली राष्ट्रपतिको बेलायत भ्रमणको क्रममा ओछ्याइएको यो रेडकार्पेटले रणनीतिक साझेदारको रुपमा बेलायत र दक्षिण कोरियाबीचको विशेष सम्बन्धलाई दर्शाउँछ ।

ब्ल्याकपिंकका सदस्यहरू रोजेन पार्क, जेनी किम, जिसु किम र ललिसा मनोबान अब ब्रिटिस साम्राज्यको अर्डरका मानार्थ सदस्य भएका छन् । उनीहरु यसका लागि मंगलबार साँझ बकिंघम प्यालेसमा राज्य भोजमा अतिथि थिए ।

राजा चार्ल्सको सम्बोधनको क्रममा सैनिक गार्डहरुले चर्चित के-पप गीत ‘गङ्नम स्टाइल’ गाएर माहोल बनाएका थिए । दक्षिण कोरियाले पछिल्लो समय आफ्नो मुलुकको सफ्ट पावरको रुपमा रहेको के–पपलाई अन्तर्राष्ट्रिय कूटनीतिक मञ्चमा प्रयोग गर्ने गरेको छ ।

गत वर्ष कोरियाली राष्ट्रपतिको अमेरिका भ्रमणको क्रममा बीटीएस पनि साथमा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?