+
+

ध्रुवे हात्तीको घाँटीमा तेस्रो पटक जोडियो रेडियो कलर

सुवास पण्डित सुवास पण्डित
२०८० मंसिर २५ गते २०:२४

२५  मंसिर, चितवन । कुनै समयमा सरकारले मार्ने निर्णय गरेको ध्रुवे हात्तीलाई चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले दाह्रा काटेर घाँटीमा रेडियो कलर जोडेको छ ।

चितवनको मध्यवर्ती क्षेत्रमा आतंक मच्चाउँदै आएको ध्रुवे हात्तीलाई निकुञ्जको प्राविधिक टोलीले डार्ट (बेहोस बनाउने औषधि राखेको सुई हान्ने काम) गरेर बेहोस पार्न खोजे पनि हात्ती निकै बाठो भएको कारणले सफल हुन सकेको थिएन ।

दशैंलगत्तै ध्रुवेलाई डार्ट गर्न खोजेपनि निकुञ्जका प्राविधिकहरु असफल भएका थिए । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारी भन्छन्, ‘हाम्रो गाडी देख्नेबित्तकै बेजोडले भाग्थ्यो, उसले कतिपय कुरा गन्धले पनि थाहा पाउँछ, प्राविधिक देखे पनि झनै भाग्छ, भेट्टाउनै सकिन्थेन ।’ तर निकुञ्जका अधिकारी भने जसरी पनि ध्रुवे हात्तीलाई समातेर घाँटीमा रेडियो कलर जोडेर उसका गतिविधि निगरानी गर्न चाहन्थे ।

सोमबार भने चितवन राष्ट्रिय निकुञ्जको ध्रुवे पोष्टभन्दा तल सुखीभार पोष्ट भन्दा केही मिटर पर ध्रुवेलाई डार्ट गरिएको थियो ।

निकुञ्जले ध्रुवेलाई कब्जामा लिन पोथी हात्तीलाई सुखीभार जंगल क्षेत्रमा छाडेको थियो । पोथी हात्ती देखेपछि आएको ध्रुब्रेलाई नजिकै  (२५ मिटर) पर लुकेर बसेका तीर्थ लामा र जितु चौधरी लगायतका प्राविधिकहरुले एम ९९ (औषधिसहितको सुई) हानेपछि बेहोस भएको थियो ।

डार्ट हानेको १५ मिनेटमा बेहोस भएको हात्तीको दारा काँटेर घाँटीमा रेडियो कलर जोडिएको थियो । डा. विजयकुमार श्रेष्ठ, डा. अमिर सडौला, डा. किरण रिजालसहितका चिकित्सकको टोलीले ध्रुब्रेको अवस्था जाँच गरेका थिए । हात्तीको दाह्रा लामो देखेपछि उत्तिखेरै प्राविधिकहरुको सल्लाहमा काटिएको थियो ।

दाह्रा काट्न र रेडियो कलर जोड्न करिब एक घण्टा लागेको थियो । त्यसपछि निकुञ्जका प्राविधिकहरुले एन्टी डोज दिएको केही समयपछि हात्ती उठेको निकुञ्जका सूचना अधिकारी तिवारीले बताए । एन्टी डोज हान्नेबित्तिकै ध्रुवे जुरुक्कै उठेपछि प्राविधिकहरु भागेका थिए ।

रेडियो कलर जोडेपछि ध्रुवे कुन क्षेत्रमा बसेको छ भन्ने थाहा हुने र सो अनुसार पूर्वसूचना समुदायलाई दिन र हात्ती धपाउन सजिलो हुने सूचना अधिकारी तिवारीले बताए ।

‘पहिला पनि हामीले रेडियो कलर जोडेका थियौं, पछि यसले फालेछ, हात्तीको दैनिक गतिविधि नियाल्नका लागि यसले सहज बनाउँछ’, सूचना अधिकारी तिवारीले भने, ‘ध्रुब्रेलाई रेडियो कलर जोडेपछि पूर्वसूचना लिएर सोही अनुसार पूर्व तयारी गर्न हामीलाई मद्दत गर्छ ।’

पछिल्लो समय बढी आक्रामक हुन थालेको ध्रुवे माडी र ठोरी जाने सडकमै पनि देखिँदा जोखिम बढेको थियो ।

चौथोपटक दाह्रा काटियो, रेडियो कलर तेस्रो पटक

निकुञ्ज र मध्यवर्ती क्षेत्रमा झण्डै २२ जनाको ज्यान लिएको ध्रुवे हात्तीको दाह्रा काटेर घाँटीमा रेडियो कलर जोडेको यो पहिलो पटक भने होइन ।

यसअघि बस्तीमा लगातार जस्तो मान्छे मारेपछि २०७६ सालमा निकुञ्जले ध्रुवे हात्तीलाई मार्ने प्रयास पनि गरेको थियो । सेना परिचालन गरेर मार्ने प्रयास गरे पनि यो हात्ती निकै चलाख भएकाले निकुञ्जले मार्न सकेको थिएन ।

निकुञ्जका अनुसार ध्रुवेको चौथो पटक दाह्रा काटेर तेस्रोपटक घाँटीमा रेडियो कलर जोडिएको हो । काटिएको दाह्रा निकुञ्ज कार्यालयमा ल्याइएको छ । ध्रुवेलाई २०६९ मंसिर ६ मा पहिलो पटक र २०७७ सालमा दोस्रो पटक रेडियो कलर जोडिएको थियो । लगाएको दुबैपटकको रेडियो कलर ध्रुब्रेले फालेपछि अहिले तेस्रोपटक जोडिएको हो ।

‘हात्तीका लागि नै भनेर बनाइएको रेडियो कलर हो, यो बाठो भएकाले फालिदिन पनि सक्छ, रुखमा लगेर ठोकिदियो भने जान पनि सक्छ’ सूचना अधिकारी तिवारीले भने, ‘हात्ती निकै बलियो र चलाख भएकाले फाल्न पनि सक्छ, तर हामीले सकभर बलियो बनाएका छौँ, चार पाँच बर्षसम्म रहन पनि सक्छ ।’

ध्रुवेको इलाका पश्चिम चितवन

चितवन राष्ट्रिय निकुञ्जभित्र पालिएका घरपालुवा पोथी हात्तीहरुको संसर्गका लागि जंगली भाले हात्तीहरू आउने गर्छन् । हात्ती प्रजनन केन्द्र सौराहामा रहेका पोथी हात्ती यिनै जंगली हात्तीबाट गर्भाधान गराइन्छन् ।

निकुञ्जभित्र अहिले रोनाल्डो, गोविन्दे र ध्रुब्रे मुख्य भाले हात्ती हुन् । यिनीहरु मध्ये रोनाल्डोले ध्रुब्रेलाई जित्ने गरेको छ । हात्ती प्रजनन केन्द्रका पोथी हात्ती प्रजननका लागि रोनाल्डो आउने गर्दछ ।

ध्रुब्रे हात्ती पश्चिम चितवन लगायतका क्षेत्रमा केन्द्रित छ । सबैभन्दा लामो दूरीमा हिडेर आतंक मच्चाउनेमा ध्रुब्रे हात्ती नै अगाडि छ । कसरा, माडी, मेघौलीमा ध्रुब्रे बढी केन्द्रित हुने गरेको छ । यसलाई अरुलाई भन्दा बढी भूगोल पनि थाहा छ ।

रोनाल्डो र गोविन्दे खासै वस्तीतिर जाँदैनन् । गोविन्दे ध्रुब्रे र रोनाल्डो भन्दा आधारमा केही सानो छ । अहिले निकुञ्जमा दाह्रा नभएको भाले हात्ती मकुना पनि देखिएको छ । यो मुकना हात्ती अरुभन्दा बढी खतरनाक र आक्रामक हुन्छ ।

यो हात्ती समूहबाट छुटेको हुन सक्ने अनुमान गरिएको छ । निकुञ्जको जनकपुर पोष्ट नजिकै यो हात्ती केही साता अगाडि त्यहाँका पोथी हात्तीको माझ देखिएको थियो ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?