+
+

जनक्रान्ति गर्न हिंडेका थिए, रूसी सेनामा पुगे

देशभित्र युद्ध लड्न जाँदा रामचन्द्र ठान्थे-म अरूका खातिर लड्न जाँदैछु । विदेशी भूमिमा युद्ध लड्न जाँदा उनी आफ्नो जीवनयापनका लागि जोखिम लिंदैछन् ।

आभास बुढाथोकी आभास बुढाथोकी
२०८० मंसिर २६ गते १८:१८

२६ मंसिर, काठमाडौं । जनताको मुक्ति गर्ने सपना देखाइएका रामचन्द्र खड्का १५ वर्षमै माओवादी युद्धमा होमिए । रुकुम खाराका उनले ९ कक्षामा पढ्दा-पढ्दैको पुस्तक फालेका थिए, र बन्दुक समाएका थिए ।

व्यवस्था बदल्न भनेर २०५८ सालमा घर–परिवार छोडेर रामचन्द्र युद्धमा होमिए । माओवादी भन्थे- ‘यो लडाईं हाम्रो लागि होइन, जनताका लागि हो । युद्धपछि जनताको जीवन बदलिनेछ, सुखका दिन आउनेछन् ।’

उनलाई पनि हो जस्तै लाग्यो ।

र, त उनी जीवनको पर्वाह नगरी लडाईं लडे । रुकुमको खारा, गाम आक्रमण, सल्यानको श्रीनगर जस्ता चर्चित भिडन्तहरूमा सहभागी भए ।

जब मुलुकमा शान्ति सम्झौता भयो, सेना समायोजनमा थुप्रै लडाकुहरू अयोग्य भनेर फालिए । व्यवस्था बदल्छु भनेर हिंडेका उनी आफैं रित्तो हात घर फर्किए । ‘युद्धबाट हामीले ठूलै उथलपुथल ल्याउँछौं भनेर लाग्यौं’ उनले भने, ‘तर हामी आफैं रुँदै फर्कियौं !’

ऊर्जाशील उमेर युद्धकै मैदानमा बिताएका उनीसँग घर फर्किंदा निराशा बाहेक केही थिएन । तर नेताहरूको जिन्दगीमा भने ठूलै फेरबदल आइसकेको थियो । ‘सर्वहारा जनताका पक्षमा लड्न हिंडेको नेताको जीवन हेर्दाहेर्दै बदलियो’ उनले भने, ‘युद्धमा लडेका हामी चाहिं घर न घाटको भयौं ।’

कुनै समय युद्धबाट फर्केर घर–व्यवहार गर्नुपर्ला भन्ने रामचन्द्रले सोचेकासम्म थिएनन् । ‘युद्ध सकिएपछि नेताहरू आफ्नो स्वार्थमा लागे, हामीलाई यत्तिकै छोडे’ उनी भन्छन्, ‘युद्धबाट फर्केपछि जिन्दगी गुजारा गर्नै धौ धौ भयो ।’ जीवन धान्न उनले अनेक उपाय खोजे तर केही सीप लागेन । त्यसपछि उनी अफगानिस्तान र मलेशिया गए । त्यहाँ उनले ६ वर्ष बिताए ।

तर पनि जिन्दगीले कोल्टो फेरेन । ‘परदेशमा जति पसिना बगाउँदा पनि उस्तै’ रामचन्द्रले भने, ‘हाम्रो दुःख कहीं गएर नसकिने ।’ परदेशमा दुःख पाउनु भन्दा स्वदेशमै केही गर्ने सपना बोकेर उनी स्वदेश फर्किए । परदेशमा दुःख पाउँनु भन्दा उनले स्वदेशमै केही गर्ने भनेर फर्किए । घर फर्केपछि उनी गहिरो सोचमा डुबे, साच्चै परिवर्तन चाहीँ के बाट सम्भव रहेछ ?

लामो अन्योलपछि रामचन्द्र एउटा निष्कर्षमा पुगे, ‘परिवर्तन त सशस्त्र क्रान्तिले होइन, कृषिबाट रहेछ ।’ बन्दुकले नल्याएको परिवर्तन कृषि उत्पादनबाट हुन्छ भन्ने उनले ठाने ।

त्यसपछि २०७४ सालमा रामचन्द्रले दाङ तुलसीपुर उपमहानगरपालिका–१९ को बिजौरीमा व्यावसायिक कागती खेती सुरु गरे । भारतबाट कागजी ल्याएर सुरुमा २२ कट्ठामा ३० लाख लगातमा कागतीको खेती थाले । पछि २२ कट्ठा देखि तीन विघा जमिनमा विस्तार गरे । त्यसका लागि बैंक, साथीभाइ र आफन्तसँग गरी ८० लाख ऋण लिए । ‘६ वर्ष लगाएर कागती हुर्काए’ उनले भने, ‘तर दिनरातको श्रम र पसिना बगाएर फलाएको कागतीले बजार पाएन ।’ वर्षौको दुःखको मुल्य कागतीले पाएन ।

यता कागतीले मूल्य पाउन छोड्यो, उता ऋण भने झन्–झन् बढ्दै गयो । ‘८० लाख लिएको ऋण बढेर करोड पुग्यो’ रामचन्द्रले भने, ‘ऋण बढ्दै गएपछि साहुले घर घेर्न  थाले ।’ बारीमा हुर्किएका कागतीको मूल्यका लागि भनेर उनी पटक–पटक स्थानीय सरकार धाए । नेतासँग हारगुहार गरे । तर कसैले सुनेनन् ।

रामचन्द्रलाई जसरी पनि ऋणको भारी बिसाउनु थियो । दुःख धेरै तर बजार नपाउने कागती खेतीबाट जीवनमा आइपरेको आर्थिक संकट टर्ने संकेत देखेनन् । ‘धेरै प्रयास गर्दा पनि उत्पादनले मूल्य पाएन’ उनले भने, ‘त्यसपछि लाग्यो, यो देश कृषकका लागि होइन रहेछ ।’

 सपनाको अवसान

अन्त्यमा केही उपाय नलागेपछि रामचन्द्रले कृषि क्रान्तिको सपना बाटोमै तुहाए । ‘चारैतिरबाट ऋणले घेरिएपछि कृषि क्रान्तिबाट जीवन परिवर्तन सम्भव देखिनँ’, उनी भन्छन् । क्रान्तिबाट सम्भव नदेखेको, कृषि क्रान्तिबाट पनि देखेनन् । कागती खेतीको सपना भत्काएर उनी तीन महिना अघि रूसी सेनामा भर्ना हुन हिंडे ।

दलाललाई ७ लाख रुपैयाँ बुझाएर रामचन्द्र भारतको नयाँ दिल्ली हुँदै दुबईबाट रुस पुगेका पुगे । अहिले उनी रुसी सेनामा छन् । १७ वर्षअघि बिसाएको बन्दुक फेरि समाएका छन् । तर यो पटक कुनै व्यवस्था वा परिवर्तनका लागि होइन, आफ्नो खातिर बन्दुक उठाएका छन् । ‘आफ्नै जीवनमा आइपरेका संकटहरुबाट मुक्ति पाउँन म परदेशमा फेरि युद्ध लड्न आइपुगे ।’ उनी भन्छन् ।

हिजो १० वर्षे युद्ध लड्दा बदल्न नसकेको आफ्नो जीवन बदल्न उनी पुनः जीउ–ज्यानको पर्वाह नगरी युद्ध लड्दैछन् । रूस–युक्रेन युद्धमा होमिएकै बेला कात्तिक १३ गते उनी बम लागेर घाइते भए । अहिले उनी मस्कोको अस्पतालमा उपचाररत छन् ।

अस्पतालको शय्यामा बसेर रामचन्द्र विगतका दिन सम्झँदैछन् । जुन व्यवस्थाका लागि हिजो उनी लडे, आज त्यही व्यवस्थामा आफ्नै अवस्था बदल्न नसकेर बम र बारुदसँग खेल्न परदेश आइपुगेका छन् ।

रामचन्द्रलाई आत्मज्ञान के हुन गएको छ भने भने विगतमा यत्रो युद्ध लड्दा पनि आफ्नै स्थिती चाही बदल्न सकिएनछ । किसान, सर्वहारा वर्गका पक्षमा लडिएको क्रान्ती आज कहाँ पुग्यो ? बेला बखत उनी गहिरो सोचमा डुब्छन् ।

उनलाई लाग्छ, दुःख जति सबै नेताका लागि गरिएछ । ‘हिजो जनतका अवस्था बदल्छौं भनेर लडियोे’ उनले भने, ‘तर आज देशमै केही गर्छु भन्ने म जस्ता कृषकहरु नै देशबाट पलायन हुनु परेको छ । हामीले देखेको क्रान्तीको सपना आज कहाँ पुग्यो ?’

यसमा दोष चाहिं उनी नेतालाई दिन्छन् । ‘परिवर्तनका सपना देखाएका नेताहरू आफैं दलाल, पूँजीवादमा फसे’ उनी भन्छन्, ‘जनताकालाई बिर्सिए आफ्नै स्वार्थमा भुले ।’

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?