+
+

विदेशिन चाहन्छन् त्रिविका गोल्ड मेडलिस्ट, भन्छन्- राज्यले फर्काउने वातावरण बनाउनुपर्छ

नेपालकै शैक्षिक क्षेत्रमा ‘केही नयाँ’ गरेर देखाउने उद्देश्यले अनुसन्धान, लेक्चरर गरिरहेका कपिल नयाँ पुस्तालाई निरन्तर मिहिनेत गर्न सुझाउँछन् । उनी भन्छन्, ‘जीवनमा कहिलेकाहीं कुनै कुराले बनाउँछ, तर मिहिनेत गर्न छोड्नुहुँदैन ।’

नुनुता राई नुनुता राई
२०८० मंसिर २९ गते २०:३४

२९ मंसिर काठमाडौं । ‘गोरखापत्रमा कपिल पौडेल भन्ने नाम देख्दा शुरुमा त अलमलमा परें । तर अर्थशास्त्र केन्द्रीय विभाग भन्ने देखेपछि म नै हुँ भन्ने भयो ।’ स्नातकोत्तर अर्थशास्त्रमा सर्वोत्कृष्ट स्वर्ण पदक विजेताको नाम मिले पनि थर नमिलेपछि कपिल अलमलमा परेको बताउँछन् ।

चारवटै सेमेष्टरमा टप गरेका कपिल पोखरेलले स्वर्ण पदक विजेताको थर नमिले पनि अर्थशास्त्र केन्द्रीय विभाग उल्लेख भएकोले आफू नै हो भन्ने निर्क्योल गरेर उनी तत्काल परीक्षा नियन्त्रण कार्यालयमा स्वर्णपदक विजेताको नाम कपिल पौडेल नभएर कपिल पोखरेल हो भनेर कागजातसहित निवेदन दिए । त्यसपछि परीक्षा नियन्त्रण कार्यालयले ‘टाइप’ गर्दा गल्ती भएको स्वीकार्दै  स्वर्ण पदक विजेताको नाम ‘कपिल पौडेल’बाट ‘कपिल पोखरेल’ भनेर सच्याइदिएको छ ।

कपिल २ पुसमा दशरथ रंगशालामा हुन लागेको त्रिविको ४९ औं दीक्षान्त समारोहमा तारापद चौधरी, खगेन्द्रमान सिंह प्रधान पदक र चन्द्रराज ढुंगेल स्मृति पुरस्कार, २०७७ बाट विभूषित हुँदैछन् । अथक मिहिनेत, परिश्रमपछिको उपलब्धिले प्रफुल्ल छन् कपिल यतिबेला ।

सानैदेखि पढाइमा तीक्ष्ण कपिलले झापाको काकडभिट्टामा कक्षा १० सम्म पढे । कक्षा ११, १२ काठमाडौंमा र स्नातक तह शंकरदेव क्याम्पसमा (बीबीए) पढे । उनी बीबीएमा पनि ‘गोल्ड मेडलिष्ट’ हुन् । उनको परिश्रमको लय २०७५ सालमा अर्थशास्त्र केन्द्रीय विभागमा स्नातकोत्तर तहमा भर्ना भएपछि पनि फेरिएन । त्यसैले उनी पुनः ‘गोल्ड मेडिलिष्ट’ हुन सफल भएका छन् ।

‘पढेर काम छैन, बेरोजगार हुन किन पढ्नु’ भन्ने खालका गलत भ्रम चिर्नका लागि आफूले शैक्षिक क्षेत्रमा केही गर्नुपर्छ भन्ने सोँचले मिहिनेत गरेको र परिश्रमको फल पाएको उनी बताउँछन् । उनी भन्छन्, ‘मैले गोल्ड मेडलको लागि भन्दा पनि एकेडेमिक सेक्टरमा केही गर्छु भनेर मिहिनेत गरेको थिएँ । प्रोत्साहन पाउँदा खुशी छु ।’

नेपालकै शैक्षिक क्षेत्रमा ‘केही नयाँ’ गरेर देखाउने उद्देश्यले अनुसन्धान, लेक्चरर गरिरहेका कपिल नयाँ पुस्तालाई निरन्तर मिहिनेत गर्न सुझाउँछन् । उनी भन्छन्, ‘जीवनमा कहिलेकाहीं कुनै कुराले बनाउँछ, तर मिहिनेत गर्न छोड्नुहुँदैन । परिश्रम र मिहिनेत जीवनभर गरिरहनुपर्छ ।’

हाल अर्थशास्त्र विभागको वातावरणका कारण अहिलेसम्म नेपालमा नै रहेको बताउने उनी पीएचडी गर्न भने विदेश जाने सोचमा रहेको बताउँछन् ।

त्रिविबाट स्वर्ण पदक प्राप्त गरेका अथवा सर्वोत्कृष्ट, उत्कृष्ट विद्यार्थीले आफ्नो दक्षता सदुपयोग गर्ने अवसर पाउनुपर्ने मत राख्ने कपिल त्यस्ता विद्यार्थीहरुलाई पदक भन्दा पनि रोजगार वा स्वरोजगारको वातावरण आवश्यक रहेको ठान्छन् ।

‘सर्वोत्कृष्ट घोषणा गरेर पदक दिएको ६ महिनापछि विश्वविद्यालयलाई आफ्ना ती विद्यार्थी कहाँ छन् भन्ने पत्तो नहुने अवस्था छ,’ उनी भन्छन्, ‘विश्वविद्यालय आफैंले सर्वोत्कृष्ट, उत्कृष्टबाट आवश्यक सीप, ज्ञान लिओस् । योगदान दिने आधार दिओस् भन्ने लाग्छ ।’

पढाउने अवसर, सेवा आयोगबाट खुलेको विज्ञापनमा सर्वोत्कृष्ट, उत्कृष्ट भएकोबाट केही अंक दिइने भयो भने विद्यार्थीमा प्रोत्साहन मिल्ने उनको भनाइ छ । उनी भन्छन्, ‘मेरो हकमा मैले डिपार्टमेन्टबाट पाउनुपर्ने सहयोग पाइरहेको छु । तर मैले जत्ति अरुले पाएका छैनन् । त्यसैले सबैले अवसर पाउनुपर्छ भन्ने हो ।’

हाल अर्थशास्त्र विभागको वातावरणका कारण अहिलेसम्म नेपालमा नै रहेको बताउने उनी आफू पनि पीएचडी गर्न भने विदेश जानसक्ने बताउँछन् । तर पीएचडी सकेपछि फर्किएर स्वदेशमै योगदान दिने उनको चाहना छ । आफू फर्किउन्जेलसम्म त्यो वातावरण बन्ने उनको विश्वास छ । उनी भन्छन्, ‘अहिले मैले चिनेकाहरु धेरै जना हुनुहुन्छ जो नेपालमै फर्केर केही गर्न चाहनुहुन्छ तर उहाँहरु फर्किने वातावरण बनिसकेको छैन । त्यो बन्नुपर्छ र म फर्किने बेला बन्छ भन्ने अपेक्षा छ ।’

दक्ष युवा पुस्ता अवसरको खोजीमा जहाँ पनि जान्छन् । तर त्यसरी दक्ष युवापुस्ता कहाँ, किन र कसरी विदेशिइरहेका छन् भन्ने राज्यले पहिचान गरेर उनीहरुको दक्षता आफ्नो लागि सदुपयोग गर्ने वातावरण बनाउनुपर्ने उनको मत छ । उनी भन्छन्, ‘ग्लोबल सिटिजन जमानामा जहाँ राम्रो अवसर छ त्यहाँ जान्छन् र जानु पनि पर्छ । तर दक्ष जनशक्ति सबै अवसरको खोजीमा विदेश गएकोमा चिन्ता गर्नुभन्दा पनि उनीहरु फर्केर आउने आधार कसरी बनाउने भनेर सोच्नु जरुरी छ ।’

विद्यार्थीको पढाइप्रतिको अपेक्षा र त्रिविले विद्यार्थीबारे सोच्ने तरिका मेल नखाँदा विद्यार्थीमा नैराश्यता छाएको उनको बुझाइ छ । त्रिविप्रतिको नैराश्यता कम गर्न त्रिविले तत्काल शैक्षिक क्यालेन्डर लागू गरेर परीक्षा प्रणाली समयमा र नियमित बनाउनुपर्ने बताउँछन्

त्रिविको शैक्षिक वातावरण, गुणस्तर, परीक्षा प्रणालीमाथि प्रश्न मात्रै उठ्दैन धेरै मिहिनेत गर्नुपर्दैन भन्ने खालको भाष्य पनि निर्माण हुँदै गइरहेको भनेर समग्र प्रणालीमाथि गलत भाष्य स्थापित गर्न खोज्नु गलत भएको उनी बताउँछन् । नेपालकै ठूलो विश्वविद्यालय भएकाले कतिपय कुराहरुमा व्यवस्थापकीय कमजोरी रहेको र नियमित शैक्षिक बहसहरु भने हुन नसकेको उनको भनाइ छ ।

तर पढाइको वातावरण नै नभएको भन्ने कुरामा चाहिं उनी सहमत छैनन् । कपिल भन्छन् ‘मैले स्वर्ण पदक पाएँ त्यो फरक पाटो होला तर म जस्तै अथवा कतिपय कुरामा म भन्दा पनि सर्वोत्कृष्ट साथीहरु हुनुहुन्छ । शैक्षिक वातावरण नै नभएको भए कसरी यो सम्भव हुन्छ र ?’

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?