+
+

नर्सिङ पढ्न कक्षा १२ पास गर्नुपर्ने सरकारकाे प्रस्ताव

सरोकारवाला भन्छन् : यो जरुरी छैन

नुनुता राई नुनुता राई
२०८० पुष ३ गते १८:४४

२५ मंसिर, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्राविधिक र व्यवसायिक शिक्षासम्बन्धी नयाँ कानुन निर्माणका लागि छलफल सुरु गरेको छ ।

हालको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ऐन, २०४५’ को सट्टामा टेक्निलकल, भोकेसनल, एजुकेशन एन्ड ट्रेनिङ (टीभीईटी) विधेयक ल्याउन छलफल सुरु गरेको हो ।

अघिल्लो हप्ता शनिबार मन्त्रालयका सहसचिव, कानुन अधिकृत र सीटीईभीटीका पदाधिकारीबीच नयाँ विधेयकको मस्यौदाबारे छलफल भएको थियो ।

सो छलफलमा सीटीईभीटीले डिप्लोमा तहका प्राविधिक तथा व्यवसायिक शैक्षिक कार्यक्रम पढ्न विद्यार्थीको शैक्षिक योग्यता एसईई नै कायम गर्नुपर्ने, हरेक प्रदेशमा प्रादेशिक परिषद् हुनुपर्ने, प्रदेश परिषद्को अध्यक्षता सामाजिक विकास मन्त्रालय अथवा सरोकारवाला मन्त्री हुनुपर्ने र सदस्य सचिव केन्द्रबाट जानुपर्ने सुझाव दिएको छ ।

त्यस्तै टीभीईटीको सदस्य सचिव विशिष्ट श्रेणीको कर्मचारी हुनुपर्ने, परिषद्मा प्रधानमन्त्री अध्यक्ष र कार्यकारी अधिकारसहितको उपाध्यक्ष हुनुपर्ने सुझाव पनि सीटीईभीटीका अधिकारीहरुले दिएका छन् ।

प्रस्तावित विधेयकको मस्यौदामा नर्स, पारामेडिक्स, फार्मेसी लगायतको डिप्लोमा तहका कार्यक्रम पढ्न कक्षा १२ उत्तीर्ण हुनुपर्ने, टीईभीटी सहसचिवको सहसचिव तहको नेतृत्वमा हुने आदि व्यवस्था छ ।

मन्त्रालय स्रोतका अनुसार मस्यौदामा सीटीईभीटी ऐनमा हाल रहेका कुन कुन व्यवस्था राख्नु उपयुक्त हुन्छ भनेर सुझाव लिइएको हो ।

नर्सिङ पढ्न शैक्षिक योग्यता नथपौं

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले चिकित्सा शिक्षा डिप्लोमा तहको नर्सिङ, फार्मेसी, एचए, ल्याब, रेडियोग्राफी लगायतको १७ वटा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

एसईई उत्तीर्ण भएकाले पढ्न पाउने यी शैक्षिक कार्यक्रम अध्ययनका लागि विद्यार्थीको शैक्षिक योग्यता संशोधन गर्ने नयाँ विधेयकको मस्यौदाबारे मन्त्रालय र सीटीईभीटीको मत मिलेको छैन ।

कक्षा १२ सम्मलाई विद्यालय तह बनाएपछि डिप्लोमा तहका कार्यक्रमहरुको शैक्षिक योग्यता पनि परिमार्जन हुनुपर्ने मन्त्रालयका अधिकारी र केही विज्ञको तर्क छ भने सीटीईभीटीले भने शैक्षिक योग्यता संशोधन गर्न जरुरी नरहेको तर्क गर्दै आइरहेको छ ।

चिकित्सा शिक्षा आयोगका पूर्वउपाध्यक्ष श्रीकृष्ण गिरी नर्सिङ अध्ययन गर्नको लागि शैक्षिक योग्यताको मापदण्ड परिमार्जन गर्नुपर्ने बताउँछन् । छिमेकी मुलुक भारत लगायत विश्वका अन्य देशहरुमा कक्षा १२ पछि मात्रै नर्स तथा चिकित्सा शिक्षा सम्बन्धी कार्यक्रमहरु पढ्न पाउने अभ्यास छ ।

‘कक्षा १२ सम्म विद्यालय तह भएपछि नर्सिङ पढ्नको लागि आवश्यक मापदण्ड पनि परिमार्जन हुनुपर्छ । विश्वमै यही अभ्यास छ’, उनले भने । स्वास्थ्य जस्तो संवेदनशील विषय अध्ययन गर्नको लागि विद्यार्थीमा परिपक्वता र सामाजिक विज्ञानका कुरा बुझ्न आवश्यक रहेको डा. गिरीले बताए ।

सीटीईभीटीका उपाध्यक्ष खगेन्द्र भण्डारीले अन्य देशको उदाहरण दिएर नेपालमा त्यही व्यवस्था गरिनु उचित नहुने बताए । ‘गुणस्तर सुधार कसरी गर्ने भन्ने परिभाषा गर्नुपर्छ तर अहिल्यै १२ कक्षापछि मात्रै नर्स पढ्न पाउने योग्यता तोक्नु आवश्यक छैन’, उनले भने ।

चिकित्सा शिक्षाका प्रमाणपत्र सरहका शैक्षिक कार्यक्रमहरु खारेज भएपछि सीटीईभीटीबाट सञ्चालित कार्यक्रमको पनि शैक्षिक योग्यता संशोधन गर्नुपर्ने मन्त्रालयको जिकिर छ ।

मन्त्रालयका एक कर्मचारी भन्छन्, ‘प्रमाणपत्र सरहको अन्य शैक्षिक कार्यक्रम खारेज भएपछि नर्स, एचए, पारामेडिक्स लगायतका शैक्षिक कार्यक्रमलाई चाहिँ त्यसैसरहको मान्यता दिँदा सरकारकै नीति बाझिने भएकाले यी कार्यक्रम अध्ययन गर्न पनि शैक्षिक योग्यता परिमार्जन हुनुपर्छ ।’

सीटीईभीटीका उपाध्यक्ष भण्डारी भने डिप्लोमा तह अध्ययन गर्न शैक्षिक योग्यता परिमार्जन भए विदेशिने विद्यार्थीको संख्या झनै बढ्ने बताउँछन् । ‘१२ कक्षा उत्तीर्ण गरिसकेपछि फेरि त्यही तहको नर्सिङ पढ्न किन जान्छन् विद्यार्थी ?’, उनको प्रश्न छ ।

सीटीईभीटी परीक्षा नियन्त्रक पुष्प पौडेल नर्स, एचए, पारामेडिक्स लगायतका डिप्लोमा तह अध्ययन गर्न शैक्षिक योग्यताको मापदण्ड परिमार्जन गरे उत्पादित जनशक्ति खपत गर्न कठिन हुने बताउँछन् ।

‘पाँचौ तहका पीसीएल नर्सहरु नै जिल्लामा जागिर खान जाँदैनन् । अब झन् कक्षा १२ उत्तीर्ण गरेकाले मात्रै पढ्न पाउने व्यवस्था गर्ने भए त उनीहरुलाई छैटौं तहमा नियुक्ति दिनुपर्ने हुन्छ । सरकारसँग त्यो अनुसारको दरबन्दी छ त ?’ पौडेलले प्रश्न गरे ।

नर्सिङमा मध्यम तहमा काम गर्न सक्ने जनशक्ति उत्पादन गर्ने हुनाले शैक्षिक योग्यता बढाएर कक्षा १२ पुर्‍याउन आवश्यक नभएको उनको भनाइ छ ।

नेपाल नर्सिङ संघकी अध्यक्ष प्रा. मनकुमारी राई पनि नर्सिङ पढ्न शैक्षिक योग्यता बढाउन जरुरी नरहेको बताउँछिन् । उनी भन्छिन् ‘शैक्षिक गुणस्तर बढाउनको लागि बुँदागत योजना बनाएर अगाडि बढ्नुपर्ने देख्छु तर तत्काल पढ्नकै लागि शैक्षिक योग्यता बढाउनुपर्ने जरुरी देखेको छैन ।’

शैक्षिक योग्यता परिमार्जन गर्नुभन्दा उत्पादित जनशक्ति कसरी अन्तर्राष्ट्रिय रुपमा प्रतिस्पर्धी बनाउन सकिन्छ भनेर ख्याल गर्नुपर्ने उनको भनाइ छ ।

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?