+
+

कहाँ हराए काठमाडौंका फुटपाथबाट झिकिएका सग्ला टायल ?

अहिले सडक विभाग आफैं ठूलो संख्याका टायलसहित कर्भ स्टोनहरु गायब भएको भन्दै खोजीमा लागेको छ । पुराना टायलहरु प्रणाली बाहिरबाटै ६ रुपैयाँ प्रतिगोटामा बेचेर अनियमितता भइरहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेपछि विभागले महानगरसँग यसबारे सोधीखोजी थालेको हो ।

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०८० पुष ४ गते २०:५५

४ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले हिजोआज सडकपेटी (फुटपाथ) मा पुरानो टायल झिकेर नयाँ टायल बिछ्याउँदै छ ।

करिब साढे २ अर्ब रुपैयाँ लागतको परियोजना कार्यान्वयनका लागि सडकपेटीबाट पुराना ‘इन्टरलकिङ ब्लक’ र ‘कर्भ स्टोन’हरु झिकिएको छ । झिकिएका ती टायल कहाँ लगियो भनेर सडक विभागले प्रश्न गरेको छ ।

काठमाडौं महानगरले सुरक्षा निकायहरुलाई सहयोग स्वरुप र सडक विभागमा सुरक्षित राख्ने प्रयोजनका लागि टायल दिएको दाबी गरिरहेको छ ।

महानगरले लैनचौर-महाराजञ्ज, लैनचौर-सोह्रखुट्टे-बालाजु, रत्नपार्क-बागबजार-मैतीदेवी-पुरानो बानेश्वर-भीमसेनगोला-सिनामंगल, नक्साल-बालुवाटार-शीतलनिवास लगायत खण्डमा अहिले नयाँ टायल बिछ्याउन पुरानो टायल धमाधम निकालिरहेको छ ।

थापाथली-त्रिपुरेश्वर-कलंकी, तीनकुने-कोटेश्वर, चाबहिल-चुच्चेपाटी सडकको पेटीबाट पनि टायलहरु निकाल्ने तयारी हुँदै गर्दा सडक विभागले खोजी थालेको हो ।

छैन संख्यात्मक रेकर्ड

हाल प्रयोगमा रहेको पेटीबाट उप्काइएका अधिकांश टायल पुनः प्रयोग हुन सक्ने छन् । सस्तो मूल्यमा निजी प्रयोजनका लागि र विभिन्न संघसंस्थाले सामाजिक रुपमा पार्किङ, सार्वजनिक पार्क र खुला स्थानमा बिछ्याउन यस्तो टायल माग गर्ने गरेको विभागका अधिकारीहरु बताउँछन् ।

तर, सडकपेटीबाट उप्काइएका हजारौं टायल र कर्भ स्टोनहरुको व्यवस्थापनमा महानगरपालिका उदासिन देखिएको छ । सडक विभागले पनि स्पष्ट निर्देशन नदिंदा पुराना टायलहरु दुरुपयोगको जोखिम बढेको छ ।

पेटीहरुबाट कति टायलहरु उप्काइयो र त्यसलाई कहाँ लगेर व्यवस्थापन गरियो यकिन तथ्यांक महानगर र सडक विभागसँग छैन । ती निकायले पुराना टायलहरु काम नलाग्ने घोषणा गरेको र फोहोरका रुपमा फालेको देखाउन पनि सकेका छैनन् ।

काठमाडौं महानगरपालिकाका सार्वजनिक निर्माण विभाग प्रमुख रामबहादुर थापा उप्काइएकामध्ये केही टायलहरु नेपाल ट्रस्टको जग्गामा महानगरले बनाएको पार्किङमा उपयोग गरेको बताउँछन् । केही टायल सशस्त्र प्रहरी बलको सिनांगलस्थित गण र नारायणहिटीस्थित सेनाको भैरवनाथ गणमा दिइएको पनि उनको दाबी छ । सशस्त्र प्रहरीलाई टायल दिँदा सडक विभागलाई पनि जानकारी गराएको थापाले बताए ।

‘पेटीबाट उप्काइएका टायलहरु ट्रकमा लगेर व्यवस्थापन गरिन्छ’, थापाले भने, ‘कति टिप टायल कहाँ लगियो भन्ने तथ्यांक महानगरसँग छ, टायलको संख्या चाहिँ यकिन छैन ।’

उप्काइएकामध्ये कति टायल पुनः प्रयोग वा लिलामीमा लैजान सकिने खालका छन् भन्ने महानगरपालिकाले जवाफ दिन सकेको छैन । ‘कति टायल त फुटेर काम नलाग्ने भएका कारण माटोसँगै मिसिएर जान्छ,’ विभागीय प्रमुख थापा भन्छन्, ‘केही सग्ला टायलहरु सडक विभागको पेप्सीकोलास्थित जग्गामा राख्न पनि पठाएका छौं ।’

खोजीमा सडक विभाग

तर, सडक विभागका अधिकारीहरु महानगरले उप्काएका टायल पेप्सीकोलामा नल्याएको दाबी गर्छन् । विगतमा विभागले नै उप्काएका टायलहरु त्यहाँ रहेको र महानगरलाई ध्यानाकर्षण गराए पनि सुरक्षा निकायलाई दिएको जवाफ पाएको अधिकारीहरु बताउँछन् ।

‘पेप्सीकोलामै ल्याए पनि वा सरकारी निकायलाई दिएपनि आधिकारिक रुपमा पत्राचार भएर काम हुनुपर्छ, प्रक्रिया पूरा गरेरै कति संख्यामा दिइयो भन्ने समेत यकिन हुुनुपर्छ’, सडक विभागका एक अधिकारीले भने, ‘उप्काइएका टायलहरु पुनः प्रयोग गर्न मिल्ने र त्यसबाट राजस्व समेत सिर्जना हुनसक्ने तथ्य उहाँहरुकै कुराबाट पुष्टि हुन्छ ।’

विगतमा सडक विभागले नै काठमाडौंको धेरैजसो मुख्य सडकमा फुटपाथ सुधार्ने भन्दै टायल बिछ्याएको थियो । २०७२ देखि २०७४ सम्म एशियाली विकास बैंकको सहयोगमा काठमाडौं दिगो शहरी यातायात आयोजना (केएसयूपीटी) मार्फत काठमाडौंका धेरै स्थानमा टायल बिछ्याउने काम भएको थियो ।

कम्तीमा १५ वर्षका लागि टायल बिछ्याए पनि खानेपानी, बिजुली, टेलिकम, ढलले पटक-पटक फुटपाथ खनेर फेरि बिछ्याएकाले पेटीमा उबडखाबड बढेको थियो ।

२०७७ मा कोरोना महामारीका बेला गरिएको लकडाउनकै बेलामा पनि काठमाडौंका मुख्य-मुख्य शहरी क्षेत्रका सडकपेटीमा टायल फेरिएको थियो ।

अख्तियारको छानबिन

अहिले महानगरले रंगिन टायल बिछ्याउने योजना ल्याएपछि सडक विभागले विगतमा गरेको लगानीलाई ख्यालै नगरी अनुमति दिएको हो । यस्तो अनुमति दिंदा पुराना टायलहरु दुरुपयोग हुन सक्नेतर्फ सडक विभागले ध्यान दिएन ।

अहिले सडक विभाग आफैं ठूलो संख्याका टायलसहित कर्भ स्टोनहरु गायब भएको भन्दै खोजीमा लागेको छ । पुराना टायलहरु प्रणाली बाहिरबाटै ६ रुपैयाँ प्रतिगोटामा बेचेर अनियमितता भइरहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेपछि विभागले महानगरसँग यसबारे सोधीखोजी थालेको हो ।

काठमाडौं सडक डिभिजन कार्यालयका प्रमुख नारायणदत्त भण्डारी टायल बिछ्याउने काम गर्दा त्यहाँबाट निस्किने सामग्रीको व्यवस्थापन कसरी भइरहेको छ भन्नेबारे महानगरसँग जानकारी मागिएको बताउँछन् । अहिलेसम्म कुनै टायल र कर्भ स्टोनहरु महानगरले बुझाएको रेकर्ड कार्यालयसँग नभएको उनको भनाइ छ ।

सडक पेटीलाई समयअनुसार स्तरोन्नति गर्नु राम्रो भए पनि महानगरपालिकाले चुस्त दुरुस्त ढंगले काम गर्नुपर्ने उनको भनाइ छ । ‘तर, यस्तो काम गर्दा पहिलेका संरचनाको डिजाइन पिरियड सकिएको/नसकिएको हेर्नुपर्छ’, उनी भन्छन्, ‘विद्यमान संरचनाले काम गरिरहेको छ भने त्यहाँ थप लगानी नगर्दा हुन्छ, भ्यालु इन्जिनियरिङ नहेरी काम हुनु हुँदैन ।’

सडक विभागबाहेक अन्य निकाय मातहतका सडकका पेटीबाट समेत महानगरले टायल उप्काइरहेको छ । महानगरको क्षेत्राधिकार भएका फुटपाथबाट निकालेको टायल समेत ठूलो संख्यामा उप्काइएको तथा महानगर र सडक विभागको भनाइ समेत बाझिनुले टायल दुरुपयोगको आंशकालाई बल पुगेको छ ।

फोटो : चन्द्र आले/अनलाइनखबर

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?