+

के हो एन्टीबायोटिक ?

२०८० पुष  ४ गते १३:०५ २०८० पुष ४ गते १३:०५
के हो एन्टीबायोटिक ?

स्वास्थ्यलाई खराब पार्ने हाम्रो आँखाले देख्न नसक्ने सूक्ष्म जीवाणुहरु जस्तै,  ब्याक्टेरिया (कीटाणु), एन्टीफंगल, एन्टीब्याक्टेरियल हुन्छन् । यी जैविक तत्वविरुद्ध काम गर्ने औषधिलाई एन्टीबायोटिक औषधि भनिन्छ ।

एन्टीबायोटिक औषधि तीन प्रकारका हुन्छन् । भाइरसविरुद्ध काम गर्नेलाई एन्टीभाइरल, फंगसविरुद्ध काम गर्नेलाई एन्टीफङ्गल र ब्याक्टेरिया (कीटाणु) विरुद्ध काम गर्नेलाई एन्टीब्याक्टेरियल औषधि हुन्छन् । यीमध्ये सबैभन्दा सीमित औषधि हो एन्टीभाइरल । किनकि जति पनि भाइरस देखा पर्छन् । ती सबै भाइरसविरुद्ध औषधि पत्ता लागेका छैनन् । बजारमा जति पनि औषधि उपलब्ध छन् । ती ब्याक्टेरियल औषधि हुन् । जसकारण एन्टीब्याक्टेरियललाई मात्र एन्टीबायोटिक्स भनेर बुझिन्छ ।

यसले कसरी काम गर्छ ?

एन्टीबायोटिक्स औषधिले जसले मानिस र जनावरमा ब्याक्टेरियल संक्रमणविरुद्ध काम गर्छ । हाम्रो शरीरमा प्रवेश गर्ने बाह्य जीवाणुलाई शरीरले स्वत: लड्छ । यस्तोमा सेतो रक्तकोष सक्रिय हुन्छन् र जीवाणुविरुद्ध लडिरहेका हुन्छन् । तर जीवाणुको संख्या अत्यधिक वृद्धि भएमा सक्रिय भएका सेतो रक्तकोषले पनि लड्न नसक्ने हुन्छ । र, रोगहरु बन्न थाल्छन् ।

त्यस्तो अवस्थामा यी एन्टीजैविक औषधिले जीवाणुलाई निष्क्रिय पार्ने, वृद्धि हुन नदिने,  फैलिन नदिने र भएकालाई नष्ट पार्न शरीरलाई सहयोग गर्छ । अनि बिस्तारै संक्रामक रोगले गालेको शरीर पहिलेकै गतिमा फर्कन्छ ।

एन्टीबायोटिक औषधि कसरी बन्छ ?

एन्टीबायोटिक औषधि कीटाणुलाई नै निष्क्रिय पारेर बनाइन्छ । कीटाणुबाट निस्किने रसलाई परिमार्जित गरी बन्छ । कुनै एन्टीबायोटिक रसायनहरुको मिश्रणले बनाइन्छ । सन् १९४० देखि मात्र यस्ता औषधि आएको देखिन्छ । हालसम्म ५० वटा मात्र एन्टीबायोटिक औषधि उपलब्ध छन् ।

ब्याक्टेरियाको संक्रमण कम गर्न सामान्यतया टयाब्लेटको रूपमा लिइन्छ । तर जब संक्रमण गम्भीर हुन्छ वा टयाब्लेट प्रभावकारी हुँदैन, तब सुईको माध्यमबाट औषधि दिनुपर्ने हुन्छ । जटिल गम्भीर संक्रमणहरूको लागि भने नसामा सिधै एन्टीबायोटिक दिइन्छ ।

कुन रोगमा प्रयोग गरिन्छ ?

कीटाणु कारण हुने संक्रामक रोग निमोनिया, क्षयरोग, पिसाब संक्रमण, छातीको संक्रमण, छालाको संक्रमण, मेनिन्जाइटिस जस्ता रोगमा प्रयोग हुन्छन् ।

साथै, भाइरसका कारणले देखिने रोगहरु भाइरसमा एचआईभी, कोभिड-१९, मम्स र हेपाटाइटिसविरुद्ध एन्टीभाइरल औषधि प्रयोग हुन्छ । यद्यपि, भाइरसहरु नयाँ-नयाँ छन् भने औषधि पत्ता लाग्न सकिरहेको हुँदैन ।

लुमा एन्टीबायोटिक जरुरी छैन

भाइरसले प्रायः श्वासप्रश्वास प्रणालीमा संक्रमण गर्छ । जस्तै सामान्य रुघाखोकी र फ्लु । एन्टीबायोटिकले यी भाइरसविरुद्ध काम गर्दैन । यसविरुद्ध औषधि धेरै बनेका छैनन् । जसकारण सामान्य फ्लुमा एन्टीबायोटिक जरुरी छैन । सामान्य रुघाखोकी शरीरकै प्रतिरोध क्षमताले निको बनाउँछ ।

साइडइफेक्ट

हरेक औषधिको साइड—इफेक्ट हुन्छन् । एन्टीबायोटिकको पनि औषधिपिच्छेका साइड-इफेक्ट छन् । तर सबैलाई हुन्छ भन्ने चाहिं हुँदैन ।

-पखाला लाग्ने र पेट दुख्ने

-श्वासप्रश्वाससम्बन्धी समस्या

-छालामा एलर्जी देखिने वा चिलाउने, छाला कुहिने, डाबर आउने

-ज्वरो आउने, टाउको दुख्ने, रिंगटा लाग्ने

यस्ता औषधिको साइड-इफेक्ट देखिए तुरुन्त सम्बन्धित चिकित्सकलाई देखाउनुपर्छ ।

एन्टीबायोटिक लिनुअघि ध्यान दिनुपर्ने कुरा

यो औषधि लिनुअघि तौल, एलर्जीको समस्या र उमेर हेर्नुपर्छ । औषधिको सेन्सिभिटी हुन्छ । जसकारण केहीमा औषधि प्रयोग गर्नेबित्तिकै केही रोगमा यस्तो औषधिले राम्रो प्रतिक्रिया नदिन सक्छ । त्यसैले औषधि लिनुपूर्व अन्य रोग छ कि छैन, पहिला नै यस्तो औषधिले गर्दा अन्य स्वास्थ्य समस्या देखिएको छ कि छैन भन्ने जान्नु जरुरी छ । यी सबै पक्षलाई मूल्यांकन गरेर मात्र औषधि चलाउनुपर्ने हुन्छ । जुन चिकित्सकलाई देखाएर संक्रमणको पहिचान गरी एन्टीबायोटिक औषधि लिनुपर्छ ।

औषधि खादै छोडदै गर्नु हुँदैन  

औषधि कति खाने ? कति मात्रामा खाने ? यी जानकारी नभएको स्थानबाट किनेर खाने अलि ठीक भएको जस्तो लाग्दा छोड्ने गर्ने बानी धेरैको हुन्छ । धेरैको त स्वास्थ्य परीक्षण गराएर केही समय औषधि खाने र बीचमा फलोअप नगर्ने गर्दा औषधिले फाइदाको सट्टा हानि गर्छ ।

एन्टीबायोटिक अत्यधिक र पूर्ण मात्रा सेवन नगर्दा शरीरमा कीटाणु रहिरहन्छ । कहिलेकाहीं चिकित्सकको सिफारिसमा सेवन गरे पनि औषधिको पूर्ण मात्रा प्रयोग नगरीकन बीचमै छाड्दा ‘एन्टीमाइक्रोबियल रेसिस्टन्स’ हुन्छ ।

औषधि सेवन गर्दागर्दै निको भएको आभास भई बीचैमा छाड्दा र चिकित्सकहरूले नै सिफारिस गरेको औषधिले काम नगर्ने, निको हुन समय लाग्ने अवस्था ‘एन्टीमाइक्रोबियल रेसिस्टन्स’ हो ।

एन्टीबायोटिक डा. अरुण सेढाईं
डा. अरुण सेढाईं
लेखक
डा. अरुण सेढाईं
इन्टरनल मेडिसिन तथा मिर्गौला रोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ३७३७ अध्ययन : इन्टरनल मेडिसिनमा एमडी, नेफ्रोलोजीमा डीएम हाल काठमाडौंको वीर अस्पतालमा कार्यरत, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा प्रोफेसर तथा डीएम प्रोगामका संयोजक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय