+

बिरामीलाई खाना तयार गरेर अस्पतालमै पुर्‍याइदिने ‘पोषक फुड्स’ (भिडियो)

२०८१ वैशाख  २३ गते ११:५० २०८१ वैशाख २३ गते ११:५०
बिरामीलाई खाना तयार गरेर अस्पतालमै पुर्‍याइदिने ‘पोषक फुड्स’ (भिडियो)

काठमाडौं । परिवारको कुनै सदस्य बिरामी भएर अस्पताल भर्ना हुनुपर्‍यो भने घरका अन्य सदस्यले पनि बिरामीको हेरचाहको लागि अस्पतालमा नै धेरै समय बिताउनुपर्छ । अस्पताल भर्ना भएका बिरामीलाई औषधि उपचार मात्र हैन, खानपानमा पनि त्यत्तिकै ध्यान दिनुपर्छ । चिकित्सकले पनि बिरामीको अवस्थाअनुसार खाना दिने सल्लाह दिएका हुन्छन् ।

बिरामीको अवस्थाअनुसारको खाना बनाउन बिरामी कुरुवासँग समय हुँदैन र बजारमा पाइने खानेकुरा बिरामीको लागि उपयुक्त हुँदैन । यो धेरैले भोगेको साझा समस्या हो ।

यही समस्याको समाधान खोज्दै न्युट्रेसन एण्ड डाइट सर्भिस प्राइभेट लिमिटेड  र काठमाडौं अर्गानिक्सको सहकार्यमा चार महिनाअघि काठमाडौंको महाराजगन्जमा ‘पोषक फुड्स’ सर्भिस सुरु भएको छ ।

पोषक फुड्सले बिरामीको अवस्था र आवश्यकताअनुसार खाना तयार गरेर अस्पताल तथा घरमा फ्रिहोम डेलिभरी गर्छ । मानौं कसैलाई मधुमेहको समस्या छ, त्यसलाई नियन्त्रण गर्न उसले कम कार्बोहाइड्रेटयुक्त खाना खानुपर्ने छ । तर ऊसँग घरमा खाना बनाएर खाने समय छैन भने मधुमेहका बिरामीलाई उपयुक्त हुने लो कार्बोहाइड्रेटयुक्त खाना पोषक फुड्सबाट अर्डर गर्न सकिन्छ ।

काठमाडौं अर्ग्यानिकका सञ्चालक भुवन केसी दुई वर्षअघि उपचारको सिलसिलामा भारत गएका थिए । त्यहाँ उनले खानालाई उपचारसँग जोडेको देखे ।

बिरामीलाई छिटो निको पार्न औषधि उपचारसँगै उसको आवश्यकता र अवस्थाअनुसारको खाना पनि अस्पतालले नै दिने व्यवस्था रहेनछ । अस्पतालले त्यसका लागि विशेष किचेन नै तयार गरेको रहेछ । त्यो देखेर भुवनले सोचे- ‘नेपालमा त यस्तो व्यवस्था छैन, कोही बिरामी छ भने उसको परिवारले नै घरबाट जाउलो, सुप बनाएर अस्पताल पुर्‍याउँछन् । भारतमा जस्तो नेपालमा पनि अस्पतालमा नै बिरामीका लागि विशेष खाना तयार गर्ने छुट्टै किचेन भए कति राम्रो हुन्थ्यो ।’

नि सुरु भयो पोषक फुड्स

भुवनले २०१७ देखि नै काठमाडौं अर्ग्यानिक सञ्चालन गर्दै आएका थिए । नेपालको गाउँघर अझ विशेष गरी हिमाली भेगमा भएका रैथाने खानेकुरालाई बजारसम्म पुर्‍याउने उद्देश्यले उनले काठमाडौं अर्गानिक सञ्चालन गरिरहेका थिए ।

भारतमा उपचारको क्रममा जाँदा बिरामीको लागि बनेको विशेष किचेन देखेपछि उनलाई त्यस्तै केही नेपालमा पनि गर्न मन थियो । यस्तोमा उनको सम्पर्क न्युट्रेसन एण्ड डाइट प्राइभेट लिमिटेडका सञ्चालकसँग भयो र उनले आफ्नो आइडिया सेयर गरे । न्युट्रेसन एण्ड डाइटका सञ्चालकलाई पनि उनको यो आइडिया मनर्‍यो र दुईको सहकार्यमा सुरु भयो पोषक फुड्स ।

पोषणविद्को निगरानीमा तयार हुन्छ खाना

पोषक फुड्समा तयार हुने सम्पूर्ण खाना पोषणविद् सुजा मोक्तानको निगरानीमा तयार हुन्छ । कसैले पोषक फुड्समा खाना अर्डर गर्न फोन गर्‍यो भने पोषणविद्ले सबैभन्दा पहिले उसको शारीरिक अवस्था, रोगको प्रकारको विवरण टिप्छन् । त्यो विवरणअनुसार कस्तो खाना बिरामीको लागि उपयोगी हुन्छ भन्ने जानकारी सेफलाई दिइन्छ, त्यसपछि मात्र खाना तयार हुन्छ ।

कुनै शल्यक्रिया गरेको बिरामीलाई छिटो निको हुन आवश्यक पर्ने ‘हाई प्रोटिन मिल’, कसैलाई तौल कम गर्नु छ भने ‘लोक्यालोरी मिल’ र कसैले स्वास्थ्य र सन्तुलित खाना खान्छु भन्छ भने उनीहरूका लागि ‘टिफिन मिल’ पनि पोषक फुड्समा पाइन्छ ।

भुवन भन्छन्, ‘पोषक फुड्सको खाना कार्बोहाइड्रेट, प्रोटिन, फाइबर लगायत अन्य पोषक तत्त्वको मात्रालाई सन्तुलनमा राखेर बनाइन्छ ।’

बिहानको खाना र बेलुकाको खाना पोषक फुड्सबाट अर्डर गर्न सकिन्छ । बिहानको खानाको लागि ९ बजे भन्दा अगाडि अर्डर गर्नुपर्ने हुन्छ । पोषक फुडको खाना अनलाइन मार्फत अर्डर गर्न सकिन्छ ।

रैथाने खानालाई प्रवर्द्धन गर्दै पोषक खाना तयार

पोषक खानाको मेनुमा बारा, चटामरी, क्वाँटी, फापर कोदोको रोटी जस्ता रैथाने खानालाई समावेश गरेको छ । मःम नै खान मन छ भन्नेहरूको लागि गहुँ, फापरबाट बनेको मःम उपलब्ध छ ।

भुवन भन्छन्, ‘सामान्य रेस्टुरेन्टमा मःम १० वटा दिइन्छ । त्यो १० वटा मःम कसैलाई धेरै हुन सक्छ भने कसैलाई कम । पोषक फुड्समा भनेको व्यक्तिको शारीरिक अवस्थाअनुसार मःम दिइन्छ । यसको मतलब खानामा पोषक तत्त्व मात्र हैन, खानाको मात्रामा पनि ध्यान दिइन्छ ।’

कस्तो छ मेनु ?

पोषक फुड्सको मेनु अन्य होटेल रेस्टुरेन्टको भन्दा फरक भएकाले यहाँ पाइने खानाको मूल्य सूची कस्तो होला भन्ने जिज्ञासा पनि हुन्छ । पोषक फुड्समा १९० रुपैयाँदेखि ३५० रुपैयाँसम्मको खाना पाउन सकिन्छ ।

पोषक फुड्सबाट कसैले एक हप्ताका लागि खाना अर्डर गरे भने ५ प्रतिशत छुट पाउँछन् । कसैले महिनाभरिको लागि खाना अर्डर गरे भने १० प्रतिशत छुट पनि उपलब्ध छ ।

धेरैलाई पोषक फुड्सबाट खाना अर्डर गरेर खान सम्भव नहुन पनि सक्ने हुँदा त्यस्ता व्यक्तिका लागि सन्तुलित र पोषक खानाको रेसिपी बुक पनि उपलब्ध गराउने गरेको न्युट्रेसन एण्ड डाइट प्राइभेट लिमिटेडले ।

बिरामीका लागि विशेष खाना पोषक फुड्समा बन्ने भएकाले कुनै अस्पतालले आफ्नो क्यान्टिनमा पोषक खाना समावेश गर्ने योजना बनाएको खण्डमा पोषक फुड्सले फ्रेन्चाइज अस्पतालमा पनि सञ्चालन गर्न सक्ने भुवन बताउँछन् ।

बिरामीका लागि कसरी उपयोगी ?

पोषक फुड्सको खाना बिरामीको अवस्था र आवश्यकताअनुसार तयार गरिने पोषणविद् सुजा मोक्तान बताउँछिन् । ‘मधुमेह र मिर्गौलाको समस्या भएका व्यक्तिहरूले खानामा विशेष ध्यान पुर्‍याउनुपर्छ,’ उनी भन्छिन्, ‘त्यसैले विशेष ती समस्या भएका व्यक्तिका लागि पोषक फुडले खाना तयार गर्छ ।’

मधुमेहका बिरामीले खानामा क्यालोरी र काब्रोहाइट्रेडको मात्रामा विशेष ध्यान दिनुपर्छ । काब्रोहाइट्रेटयुक्त मैदाबाट बनेको खानाको साटो सम्पूर्ण अन्न ब्राउन राइस, कोदो फापरबाट बनेको खाना साथै प्रोटिन, फाइबर पनि खानुपर्छ र मात्रा पनि मिलाएर क्यालोरी काउन्ट गरेर खानुपर्छ । त्यसैअनुसारको खाना पोषक फुड्समा तयार हुने भएकाले उनीहरूको लागि पोषक फुड्सको खाना उपयोगी हुने मोक्तान बताउँछिन् ।

‘मिर्गौलाको बिरामीको खाना तयार गर्दा झन् धेरै ध्यान दिनुपर्छ । सामान्य व्यक्तिको लागि महत्त्वपूर्ण प्रोटिन, फस्फोरस र पोटासियम जस्तो तत्त्व मिर्गौला बिरामीको खानामा भने एकदमै कम गर्नुपर्छ । त्यही अनुसारको खाना पोषक फुड्सले खाना तयार गर्छ,’ उनी भन्छिन् ।

तौल नियन्त्रण गर्न खोजिरहेकाहरूका लागि लो क्यालोरी खाना प्रोटिन फ्याट र फाइबर सबै मिलाएर ४५० देखि ५०० क्यालोरीको खाना पनि पोषक फुड्सले तयार गर्ने पोषणविद् मोक्तान बताउँछिन् ।

तस्वीर, भिडियो : चन्द्रबहादुर आले/अनलाइनखबर

आहार तथा पोषण पोषक फुड बिरामीलाई खाना स्वास्थ्य
लेखक
सुमित्रा लुईटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय