+

‘मानसिक स्वास्थ्य समस्यामा बिरामीसँगै परिवारलाई पनि परामर्श जरुरी’

२०८१ वैशाख  २८ गते १४:४० २०८१ वैशाख २८ गते १४:४०
‘मानसिक स्वास्थ्य समस्यामा बिरामीसँगै परिवारलाई पनि परामर्श जरुरी’

काठमाडौं । पछिल्लो समय मानसिक स्वास्थ्य ठूलो चुनौती बन्दै गएको छ । बदलिंदो जीवनशैलीसँगै तनाव, चिन्ता र डिप्रेसन जस्ता समस्या बढ्दै गएका छन् । यसको एउटा मुख्य कारण मानिसहरूले मानसिक स्वास्थ्यलाई अझै गम्भीरतापूर्वक लिंदैनन् र यसबारे कुरा गर्न हिच्किचाउँछन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर २० करोड मानिस मनोरोगले ग्रसित छन् । सामान्यतया मानव मस्तिष्कले गर्ने विभिन्न कार्य बोली, चेतना, भावना, विचार, स्मृति, स्मरण शक्ति आदि कार्यमा गडबडी हुनु मानसिक समस्या हो ।

यस्तोमा नेपालमा कुन उमेर समूहमा मनोरोगको समस्या बढी देखिएको छ ? यसको उपचार के छ ?  लगायत विषयमा मनोचिकित्सक डा. आशिष ढकालसँग अनलाइनखबरकर्मी सुमित्रा लुईटेलले गरेको कुराकानीको सम्पादित अंश :

कस्तो मानसिक समस्या कुन उमेर समूहमा बढ देखिन्छ ?

मानसिक समस्याले अहिले हरेक उमेर समूहलाई सताइरहेको छ । साना बालबालिकामा अटिजम, एडीएचडी जस्तो समस्या देखिएको छ । उमेर बढ्दै गएपछि स्कुल जान नमान्ने, व्यवहारमा समस्या जस्ता समस्या देखिएको छ । १४-१५  वर्षका किशोकिशोरीमा एन्जाइटी र डिप्रेसनको समस्या देखिएको छ भने २० देखि ५० वर्ष उमेर समूहमा उदासीपन, खिन्नता र सोचको समस्या देखिएको छ ।

६५ वर्ष भन्दा बढी उमेरका व्यक्तिमा भने बिर्सने समस्या देखिएको छ । यसरी हेर्दा हरेक उमेर समूहमा विभिन्न प्रकारको मानसिक समस्या पाइन्छ ।

मनोरोग कसरी पत्ता लगाइन्छ ?

हरेक बिरामी फरक हुन्छन्, त्यस्तै सबै बिरामीको समस्या व्यक्त गर्ने तरिका एउटै हुँदैन । बिरामीले कुरा नगरेसम्म त मनोरोगको समस्या छ कि छैन भनेर छुट्टाउन गाह्रो हुन्छ । तर कसैले शारीरिक लक्षण लिएर अस्पताल जान्छन् भने लक्षणअनुसार सम्पूर्ण शरीरको जाँच गरेर केही रोग छ कि छैन भनेर हेरिन्छ । त्यसमा केही खराबी देखियो भयो सम्बन्धित चिकित्सकले उपचार गर्नुहुन्छ । तर परीक्षणमा कुनै खराबी देखिएन तर पनि शारीरिक लक्षण र मानसिक लक्षण देखिन्छ भने त्यो मनोरोगको पाटो हो भनेर थाहा पाउन सकिन्छ ।

साधारणतया एन्जाइटीको बिरामी, डिप्रेसनको बिरामी, साइकोसिसको बिरामी उस्तै हुन्छन् भन्ने लाग्न सक्छ । तर मनोरोगमा तीन कुरालाई हेरिन्छ- सोच, मन र व्यवहार । बिरामीले जस्तो सोचिरहेको छ त्यस्तै व्यवहार देखाएको छ कि छैन र उसले व्यक्त गरेको भावना मिलेको छ कि छैन भनेर हेरिन्छ ।

मानौं, दिमागमा डर लाग्ने खालको सोच आइरहेको छ तर बाहिर चाहिं  डराएको छैन, शान्त  भएर बसेको छ भने त्यो मनोरोग हो ।

यस्तोमा सही गलत छुट्टाउन नसक्ने, कस्तो ठाउँमा कस्तो व्यवहार गर्ने भनेर निर्णय लिन सक्ने क्षमता कमजोर छ भने त्यो साइकोसिस हुनसक्छ । बिरामीले म दु:खी छु भन्छ र हेर्दा पनि दु:खी देखिन्छ भने डिप्रेसन हो । बिरामीलाई डर लाग्ने, आत्तिने, सानो कुरामा धेरै चिन्ता लिने गर्छन् भने त्यो एन्जाइटी हुन्छ । यसरी लक्षणको आधारमा मनोरोग पत्ता लगाइन्छ ।

कुनै व्यक्तिलाई मानसिक समस्या देखियो भने मनोविज्ञलाई भेट्ने कि मनोचिकित्सकलाई भनेर दुविधा हुनसक्ला नि ?

मनोचिकित्सक र मनोविज्ञ दुवैले मानसिक समस्याबाट पीडित बिरामीलाई हेर्ने गर्छन् । यही कारणले गर्दा मानिसहरु मानसिक समस्यामा मनोचिकित्सक र मनोविज्ञ कसलाई भेट्ने भन्ने दुविधामा हुन्छन् ।

मनोरोग प्राथमिक उपचारमा छ, रोगले बिरामीलाई धेरै गाह्रो पारेको छैन भने मनोविज्ञकहाँ गएर काउन्सिलिङ गरेर मात्र पनि बिरामी आफ्नो दैनिक दिनचर्यामा परिवर्तन हुनसक्छ । तर रोगले बिरामीलाई धेरै गाह्रो पार्‍यो, मानसिक मात्र हैन शारीरिक लक्षण पनि देखिन थाल्यो, निद्रा बिग्रियो, खानपानशैली बिग्रियो, बिर्सने समस्याले सतायो, शरीर कमजोर हुन थाल्यो भने काउन्सिलिङले मात्र काम गर्दैन ।

बिरामीको रोग छिप्पिंदै गएपछि बिरामी आफैं नै मनोविज्ञ हुन्छन् । म रिसाउनु हुँदैन, मैले नराम्रो सोच्न हुँदैन, म सकारात्मक हुनुपर्छ भनेर बिरामीले आफूलाई सम्झाइरहेको हुन्छ । आफूलाई सकारात्मक राख्नको लागि प्रेरणादायक भिडियो पनि हेर्छन् । त्यो भिडियो हेर्ने बेलासम्म त्यहाँ भनेको हरेक कुरा ठीक हो, भोलिदेखि म यस्तै  गर्छु भन्छन् । तर भिडियो बन्द भएको १० मिनेटमा भिडियो हेर्नु भन्दा अघि जस्तो  अवस्था छ त्यही अवस्थामा पुग्छन् । त्यतिबेला  बिरामीलाई सल्लाह मात्र काम गर्दैन । बिरामीमा देखा पर्ने लक्षणलाई कम गर्न औषधि खानुपर्छ त्यसको लागि मनोचिकित्सकलाई भेट्नुपर्छ ।

मनोरोगमा औषधि मात्र र सल्लाह मात्रले काम नगर्न सक्छ । त्यसैले कुनै पनि मनोरोगीले मनोविज्ञ र मनोचिकित्सक दुवैलाई भेट्नु उपयुक्त हुन्छ ।  मनोचिकित्सकले औषधिको माध्यमबाट रोगको लक्षणलाई शान्त बताउँछन् र लक्षण शान्त भएपछि मनोविज्ञले काउन्सिलिङले बिरामीको रोग निको हुन्छ ।

मनोरोगको औषधि चिकित्सकको सल्लाह विना छोड्दा के हुन्छ ?

मनोरोगको औषधिले काम गर्न सुरु गर्न दुई-तीन हप्ता लाग्छ । पूर्ण रुपमा काम गर्न तीन-चार महिना लाग्छ । तीन-चार महिनामा अवस्थामा सुधार भएपछि बिरामीले अब म ठीक भए भनेर औषधि खान छोडिदिन्छन् ।

जुन कारणले मनोरोग निम्तिएको हो, त्यसको समाधान नखोजी औषधि मात्र खाएर बिरामी निको हुँदैन । बिरामीले औषधि खाएर रोगलाई नियन्त्रण त गर्नुभयो तर जुन तनावका कारण यस्तो समस्या देखिएको थियो, त्यो भविष्यमा फेरि यस्तो समस्या आयो भने कसरी समाधान गर्ने भन्ने बिरामीले सोचेकै हुँदैनन् । त्यसैले अलि कम हुने बित्तिकै औषधि छोड्छन् चिकित्सककोमा फलोअपमा पनि जाँदैनन् ।

मान्छेलाई केही न केही कुराको तनाव सधैं हुन्छ । यो प्राकृतिक प्रक्रिया पनि हो तर मनोरोगीहरूमा भने तनाव बढेपछि समस्या बढ्ने भयो त्यसैले चिकित्सकको सल्लाह विना औषधि छोड्नु हुँदैन ।

औषधिको सेवनले मनोरोग पूर्णरुपमा निको हुन्छ ?

मनोरोगमा औषधिले मात्र रोग निको हुँदैन । कुन समस्याका कारण मनोरोग निम्तिएको हो त्यसको समाधान खोज्नुपर्छ ।

मानौं, एक जना महिलाले मनोचिकित्सकलाई भेटेर भन्छिन् । ‘मेरो श्रीमानले मेरो कुरा बुझ्नुहुन्न, मलाई गाली गर्नुहुन्छ’ उनलाई मनोरोगको औषधि दिएर पठाइन्छ र बिरामी ठीक पनि हुन्छिन् । तर श्रीमान् श्रीमतीको सम्बन्ध उस्तै छ, श्रीमानको व्यवहार उस्तै भने श्रीमानको व्यवहारमा परिवर्तन नभएसम्म श्रीमती निको हुँदिनन् । त्यसैले श्रीमतीसँगै श्रीमानलाई पनि काउन्सिलिङ गर्नुपर्छ ।

जुन परिवेशमा व्यक्ति मनोरोगी भएको हो त्यो परिवेश परिवर्तन नभएसम्म औषधिले मात्र निको पार्न सकिंदैन । बिरामीको घरमा मनोरोगको बारेमा बुझाइ के छ ? बिरामीलाई हेर्ने तरिका कस्तो छ ? बिरामीलाई कस्तो व्यवहार गर्नुपर्छ ? कस्तो व्यवहार गरेको  कारण उसलाई  गाह्रो हुन्छ ? लगायत कुरामा परिवारले ध्यान दियो र चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्‍यो भने मात्र बिरामी पूर्णरुपमा निको हुन्छन् ।

मनोरोगीलाई निको पार्न परिवारको कस्तो भूमिका हुन्छ ?

कोही व्यक्ति मनोरोगी भएमा ऊसँग गर्ने व्यवहार परिवर्तन गर्नुहुँदैन । परिवारमा  मनोरोगी र सामान्य व्यक्तिसँग गर्ने व्यवहार एउटै हुनुपर्छ  । मानौं, कोही उदासीपनको समस्या, मन कमजोर भएको समस्या  लिएर चिकित्सककोमा पुगे भने ऊसँगै परिवारलाई पनि सल्लाह दिनुपर्छ ।

मन कमजोर भएको बिरामीको परिवारले उसको मन कमजोर छ मन दुखाउन काम नगरौं भनेर हरेक कुरा माने भने बिरामीले मैले भनेको हरेक कुरा मान्छन् भन्ने अपेक्षा राख्छ । त्यो नहुने बित्तिकै फेरि ऊ बिरामी परिहाल्छ । बिरामीलाई समस्या साधारण हो भनेर गाली गर्दा अवस्था झन् बिग्रिन सक्छ ।  त्यसैले मनोरोगीलाई कस्तो व्यवहार गर्ने भन्ने कुरामा परिवारका अन्य सदस्य सचेत हुनुपर्छ ।

डा. आशिष ढकाल मानसिक स्वास्थ्य स्वास्थ्य परामर्श
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

उच्च रक्तचाप : १४ भ्रम र सत्यता

उच्च रक्तचाप : १४ भ्रम र सत्यता

कसैलाई चट्याङ लाग्यो, तुरुन्तै के गर्ने ?

कसैलाई चट्याङ लाग्यो, तुरुन्तै के गर्ने ?

मुटुलाई किन चाहिन्छ चिल्लो पदार्थ ?

मुटुलाई किन चाहिन्छ चिल्लो पदार्थ ?

प्राकृतिक उपचार : खुट्टामा हिलोले खाए के गर्न सकिन्छ ?

प्राकृतिक उपचार : खुट्टामा हिलोले खाए के गर्न सकिन्छ ?

हातखुट्टा झमझमाउँछ, के उपचार गर्ने ?

हातखुट्टा झमझमाउँछ, के उपचार गर्ने ?

उच्च रक्तचाप भएकालाई उपयोगी १३ खानेकुरा

उच्च रक्तचाप भएकालाई उपयोगी १३ खानेकुरा