+

कस्तो रोग हो फाइब्रोमायल्जिया ?

२०८१ वैशाख  ३० गते १८:३६ २०८१ वैशाख ३० गते १८:३६
कस्तो रोग हो फाइब्रोमायल्जिया ?

मांसपेशी र हड्डीसम्बन्धीको दुखाइलाई फाइब्रोमायल्जिया भनिन्छ । यो एक किसिमको पेन डिसअर्डर अर्थात् दुखाइ विकार हो । यो एक दीर्घकालीन रोग हो, जुन शरीरका विभिन्न भागमा सरेर दुख्छ ।

यसको प्रमुख कारण के हो आजसम्म पुष्टि भएको छैन । तर वंशाणुगत कारणले पनि फाइब्रोमायल्जिया हुनसक्छ । परिवारको कुनै सदस्यमा ढाड दुख्ने वा महिनावारीको समयमा दुखाइ धेरै हुन्छ भने फाइब्रोमायल्जियाको समस्या हुनसक्छ ।

शरीरमा कुनै संक्रमण, कुनै रोग, शारीरिक वा भावनात्मक समस्या भएमा फाइब्रोयल्जिया हुनसक्छ । जस्तै, कुनै दुर्घटनामा चोटपटक लाग्दा, एउटै ठाउँमा धेरैपटक चोट लाग्दा र तनावले फाइब्रोयल्जिया हुनसक्छ । तर फाइब्रोमायल्जिया भएका धेरैलाई टाउको दुख्ने, इरिटेबल बाउल सिन्ड्रोम, चिन्ता र डिप्रेसनको समस्या पनि हुनसक्छ ।

४० वर्ष उमेरभन्दा माथिका मानिसलाई फाइब्रोमायल्जिया हुने जोखिम धेरै भएपनि बालबालिकालाई पनि यसले सताउन सक्छ । त्यस्तै पुरुषको तुलनामा महिलालाई यसको सम्भावना बढी हुन्छ । ओस्टियोआर्थराइटिस, डिप्रेसन, एन्जाइटी, दीर्घकालीन ढाड दुखाइको समस्या र इरिटेबल बाउल सिन्ड्रोम (आइबीएस) अर्थात् ठूलो आन्द्रासम्बन्धी समस्या भएका व्यक्तिलाई फाइब्रोमायल्जिया हुने सम्भावना बढी हुन्छ । यद्यपि विशेषज्ञहरूले फाइब्रोमायल्जियाको कारण के हो भनेर निश्चित रूपमा भन्न सकेका छैनन् ।

यसमा के कस्ता लक्षण देखिन्छन् ?

फाइब्रोमायल्जियाको मुख्य लक्षण दुखाइ हो । धेरै थकाइ लाग्ने, शरीर गल्ने, टाउको दुख्ने, स्मरणशक्ति कमजोर भएर जाने, निराशापन हुने, एक्लोपन महसुस हुने, काम गर्दा ध्यानकेन्द्रित गर्न नसक्ने, निद्रा नलाग्ने, छटपटी हुने, पेटसम्बन्धी रोग हुन्छ ।

के यो बाथरोग हो ?

मुख्य लक्षण दुखाइ भएका कारण कतिपयले फाइब्रोमायल्जियालाई बाथरोग भनेर समेत बुझ्छन् । तर यो बाथरोग होइन, मांसपेशीको एक समस्या हो । यसमा बाथरोगमा जस्तै दुखाइ वा समस्या बढ्ने हुँदैन ।

के छ उपचार ?

फाइब्रोमायल्जियाको हालसम्म कुनै निश्चित उपचार छैन । तर बिरामीको अवस्था र लक्षणअनुसार उपचार विधि अपनाइन्छ । जस्तै, ओभर–द–काउन्टर (ओटीसी) वा दुखाइ कम गर्न औषधि, निद्रा लाग्ने औषधि, एन्टिडिप्रेसन्ट औषधिको प्रयोग गरिन्छ । यसबाहेक दुखाइ तथा जोर्नीहरु खुकुलो बनाउन आराम गर्ने, व्यायाम, थेरापी र तनाव व्यवस्थापन गर्ने क्रियाकलाप गर्न सकिन्छ । साथै पर्याप्त मात्रामा सुत्ने, स्वस्थ आहार खाने र तनावबाट टाढा रहने कोसिस गर्नुपर्छ ।

डा. रोशन पिया फाइब्रोमायल्जिया
डा. रोशन पिया
लेखक
डा. रोशन पिया
एनेस्थेसियोलोजिस्ट तथा दुखाइ विशेषज्ञ

डा. पिया हाल काठमाडौंको नयाँ बानेश्वरस्थित नेपाल पेन केयर एण्ड रिसर्च सेन्टरमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय