
News Summary
Generated by OK AI. Editorially reviewed.- डा. रुपेश राउत न्यूरोसर्जन र हाइपर–रियलिस्टिक कलाकार हुन् जसले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहायक प्रध्यापकको रूपमा काम गर्छन्।
- उनी पाकिस्तानबाट एमएस न्यूरोसर्जरी कोर्स पूरा गरी नेपाल फर्केपछि तीन वर्षदेखि पाटन अस्पतालमा कन्सल्टेन्ट र प्रशिक्षकको रूपमा कार्यरत छन्।
- डा. रुपेशले न्यूरोसर्जरी र चित्रकलामा समान सूक्ष्म ध्यान र धैर्य चाहिने बताउँदै प्रेरणादायी व्यक्तिहरूका पोट्र्रेटहरू चारकोलमा बनाउँछन्।
मस्तिष्कमा सर्जरी गर्ने हातले जब चित्र कोर्छ, त्यो कति सुन्दर हुन सक्छ ? यही उदाहरण हुन् डा. रुपेश राउत । पेशाले एक न्यूरोसर्जन, जो सर्जरी र चित्रकलामा दुवैमा समान निपुण छन् । ‘न्यूरोसर्जरी र कला दुवै सूक्ष्म ध्यान र धैर्य चाहिने काम हुन्’ उनी भन्छन्, ‘माध्यम फरक भए पनि अनुभव उस्तै ।’
डा. रूपेश पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहायक प्रध्यापक तथा कन्सल्टेन्टको रूपमा कार्यरत छन् । मस्तिष्क र यससँग सम्बन्धित जटिल शल्यक्रिया गर्ने विशेषज्ञ हुन् उनी । तर, उनको विज्ञता चिकित्सकीय क्षेत्रमा मात्र सीमित छैन, उनी एक कुशल कलाकार पनि हुन्, जो हाइपर–रियलिस्टिक पोट्र्रेटहरू बनाउँछन् ।
‘माइक्रो न्यूरोसर्जरी र फाइन आर्ट दुवैमा सानो–सानो विवरणमा ध्यान दिनुपर्छ, जसले यी दुवैलाई चुनौतीपूर्ण र रमाइलो बनाउँछ’ उनको अनुभव सुनाउँछन् ।
हजुरबाको प्रेरणा
२०४७ साल मङ्सिर १३ गते काभ्रेपलाञ्चोकको साँगामा जन्मिएका हुन् डा.रुपेश । काठमाडौँको कोटेश्वरमा हुर्किए । बाल्यकालदेखि नै उनको दिमागमा डाक्टर बन्ने अठोट गहिरो गरी बस्यो । यसको मुख्य श्रेय आफ्ना हजुरबालाई दिन्छन् उनी । हजुरबाले हरेक दशैंमा टीका लगाउँदा सधैं ‘ठूलो डाक्टर बन्नू’ भनी आशीर्वाद दिन्थे । आफ्नो नाति डाक्टर भएको हेर्ने उहाँको ठूलो इच्छा थियो । हजुरबाको आशीर्वाद र इच्छा नै रुपेशका लागि प्रेरणा बन्यो । र, उनलाई डाक्टर बन्ने बाटोमा लाग्न मानसिक रूपमा तयार पार्ने माध्यम बन्यो ।
रुपेशले लिटल एन्जल्स स्कुलमा एसएलसीसम्म पढे । त्यसपछि सेन्ट जेभियर कलेज, माइतीघरबाट आईएससी पूरा गरे । नेपालमा एमबीबीएसका लागि प्रवेश परीक्षा दिए, तर छात्रवृत्तिमा नाम निस्किएन । पैसा तिरेर पढ्नका लागि भर्ना गर्ने तयारीमा थिए । त्यही बेला बुबाले फिलिपिन्समा नयाँ अमेरिकी-शैलीको एमडी कार्यक्रमबारे जानकारी दिए ।
एमडी एमबीबीएसको समकक्षी हो, र त्यहाँ प्रथम हुनेलाई छात्रवृत्ति पाइन्थ्यो । त्यही आशाले रुपेश फिलिपिन्स गए । साँच्चै प्रथम भएर छात्रवृत्ति पनि पाए ।
फिलिपिन्समा मेडिकल स्कूल पढ्दै गर्दा उनलाई न्यूरोलोजीमा गहिरो रुचि जाग्यो । ‘मस्तिष्क र स्नायुहरू कसरी जोडिएका हुन्छन्, कुन भागले के नियन्त्रण गर्छ, र समस्या कहाँबाट आउँछ भन्ने पजल सल्भ गर्नुजस्तो लाग्थ्यो’ उनी सम्झिन्छन् । मेडिसिनभन्दा सर्जरीमा बढी रुचि भएकाले उनी न्यूरोसर्जरीतर्फ आकर्षित भए, किनकि सर्जरीमा परिणाम छिटो देखिन्छ । ट्युमर वा रगत निकालेपछि बिरामी छिट्टै निको हुन्छ ।
फिलिपिन्सबाट फर्केपछि नेपालमा मेडिकल काउन्सिलको परीक्षा पास गरी वीर अस्पतालको इमर्जेन्सीमा करारमा काम गरे । नेपालमा न्यूरोसर्जन बन्नका लागि निकै लामो प्रक्रिया पार गर्नुपर्थ्यो । पहिले जनरल सर्जरीमा एक वर्ष मेडिकल अफिसरको अनुभव, तीन वर्ष जनरल सर्जरीको पढाइ र फेरि एमसीएच न्यूरोसर्जरीमा तीन वर्ष पढ्नुपर्ने हुन्थ्यो।
उनी पाकिस्तान गए, जहाँ सिधै ५ वर्षको एमएस न्यूरोसर्जरी कोर्स थियो । दुई–तीन हजार उम्मेदवारमध्ये १३ जनामा छनोट भए, जसमा दुई नेपाली थिए । छात्र वृत्ति र राम्रो तलब मिलेकाले उनी आफूलाई भाग्यमानी ठान्छन् । ‘मास्टर्ससम्म पढ्दा करोडौँ खर्च हुन्छ, तर मलाई बुबाको पैसा खर्च गर्नु परेन’ उनी भन्छन् ।
कोर्स पूरा गरेर पाकिस्तानबाट फर्केपछि उनी पाटन अस्पतालमा जोडिए । तीन वर्षदेखि उनी फ्याकल्टी तथा कन्सल्टेन्टको रूपमा कार्यरत छन्, जसमा शल्यक्रिया गर्दै युवा पुस्तालाई प्रशिक्षण पनि दिन्छन् ।
कलाप्रतिको लगाव
डा. रुपेश बाल्यकाल देखि नै चित्रकलामा लगाव थियो । स्कुलमा उनी इन्टर–स्कूल र इन्टर–हाउस चित्रकला प्रतियोगितामा भाग लिन्थे र प्रायः प्रथम हुन्थे । कक्षा ७ मा पनि उनी प्रथम भए, तर पढाइलाई प्राथमिकता दिएर त्यसपछि कलालाई छाडे । उनलाई वाटर कलर र कलरफुल पेन्टिङ्समा रुचि थियो, तर कलेज र मेडिकल स्कुलमा पढाइलाई प्राथमिकतामा राखेर यसलाई रोके ।
फिलिपिन्सको मेडिकल स्कुलको अन्तिम वर्षमा मलमा घुम्दा एक कलाकारले लाइभ पोट्र्रेट बनाइरहेको देखे । त्यो कलाकारले कालो चारकोल पाउडर र ड्राइ ब्रसिङबाट हाइपर–रियलिस्टिक स्केच बनाउँथे ।
यसले उनलाई पुराना दिनहरू सम्झायो । होस्टेल फर्केर युट्युबबाट ट्युटोरियल हेरे र फेरि सुरु गरे । ‘युट्युबबाट धेरै सिक्छु, सर्जरीका स्टेप्स पनि’ उनी भन्छन् । सुरुमा खासै राम्रो भएन, तर उही कलाकारलाई भेटेर एक हप्ताको कोर्स लिए । आफ्नो पकेटमनी बचाएर उनीसँग कोर्स लिएर हातको मुभमेन्ट, डिटेल रिंकल्स, आँखाका साइनहरू सिके ।
अब उनी चारकोल हाइपर–रियलिस्टिक पोट्र्रेट बनाउँछन्, जसमा हाइलाइट्स र श्याडोजसँग खेलिन्छ । तर, वर्षमा दुई–तीन वटा मात्र बनाउँछन्, किनकि समय कम छ । सुरु सुरुमा एउटा चित्र बनाउन गर्दा १५ दिन लाग्थ्यो, अहिले तीन–चार दिनमा सक्छन् । फोन आयो भने तत्काल दौडनु पर्ने भएकाले ‘आज बनाउँछु’ भनेर सुरु गर्दैनन्, मुड आएपछि मात्र बनाउँछन् ।
स्केच बनाइदिन धेरैले आग्रह गर्छन्, तर उनी प्रेरणादायी व्यक्तिहरूको मात्र बनाउँछन्– जसले जीवन कुनै क्षेत्रमा योगदान पुर्याए । उनी स्केच बनाएर बेच्ने होइन । उपचार दिन्छन् । यो आफ्नो मुख्य पेशा नभएर सोख भएकाले पैसा नलिने उनी बताउँछन् ।
‘इफ यू आर गुड एट समथिङ, डोन्ट डु इट फर फ्री भनिन्छ, तर म यसलाई प्यासन मान्छु, प्रोफेसन होइन’ उनी भन्छन् ।
उनले न्यूरोसर्जरी सिकाउने प्रोफेसर, जनरल सर्जरीका प्रोफेसरहरूको स्केच बनाएका छन् । उनले सालीको पनि स्केच बनाएका थिए, विहेमा जुत्ता नलुकाउने शर्तमा । टर्कीमा भेट भएका प्रा.डा. गाजी यारसगिल, जो ९६ वर्षको उमेरमा हालै बिते, डा.रुपेशले उनको स्केच बनाएका छन् ।
नेपालमा पहिलो पटक ब्रेनको सर्जरी गर्ने डा. दिनेशनाथ गोंगल र परिवारका सदस्यहरू, साथीहरू, उहाँका परिवारका व्यक्तिको समेत उनले स्केच बनाएका छन् ।
उनको एउटा स्केच २०२३ मा वासिङ्टनको ‘कङ्ग्रेस अफ न्यूरोलोजिकल सर्जन्सको ‘आर्ट इन न्यूरोसर्जरी’ प्रदर्शनमामा छनोट भएको थियो । तर त्यही बेला छोराको जन्म भएकाले त्यहाँ जान पाएनन् ।
युवा अनुहारभन्दा वृद्धहरूको बनाउन रुचि लाग्छ उनलाई किनकि रिंकल्स, दाह्री, कपालहरूले चुनौती दिन्छ । ‘युवा फेस सजिलो हुन्छ, तर वृद्ध उमेरमा डिटेल निकाल्न मज्जा आउँछ’ उनी भन्छन् ।
अन्य सोख
डा. रूपेशको दैनिकी निकै व्यस्त छ, तर परिवारलाई प्राथमिकता दिन्छन् । फुर्सद मिले घर गएर बुबा–आमा, श्रीमती र छोराहरूसँग समय बिताउँछन्। । अन्य सोखहरूमा इन्टिरियर डिजाइन छ, आफ्ना र साथीहरूका घरहरू फ्रीमा डिजाइन गर्छन् । पाकिस्तानमा अपरेसन थिएटर र प्रोफेसरका अफिसहरू पनि डिजाइन गरेका छन् ।
गार्डनिङमा पनि रुचि छ उनको । घरको सानो गार्डेनमा हरियाली र शान्ति खोज्छन् । माछा पालन उनको मुख्य तनाव कम गर्ने माध्यम हो । उनी मुख्यतया जापानी कोइ फिश पाल्छन्, जसलाई ‘लिभिङ पिस अफ आर्ट’ भन्छन् । ‘हरेक माछाको कलर प्याटर्न फरक हुन्छ,’ उनी भन्छन् । बेलुका गार्डेनमा बसेर माछा हेर्ने र पानीको आवाज सुन्ने गर्दा दिनभरिको थकान मेटिन्छ । ‘माछा मात्र पाल्छु, कुकुर पनि राख्न मन लाग्छ तर बुबा–आमाले दिनुभएन’ उनी हाँस्दै भन्छन् । उनले माछाका लागि पोखरी र झरना पनि युट्युब हेरेर सस्तोमा बनाएका हुन् ।
न्यूरोसर्जरी र कलाको जोड
डा. रुपेशका लागि न्यूरोसर्जरी र फाइन आर्ट दुवै सूक्ष्मतामा आधारित छन् । सर्जरीमा सानो गल्तीले ठूलो असर पार्छ, जसरी कलामा अनुहारका रेखा र छायाहरूले जीवन्तता दिन्छन् । उनी युट्युबलाई ज्ञानको स्रोत मान्छन्– सर्जरीदेखि डिजाइनसम्म । जतिसुकै व्यस्ततामा पनि सोखहरूलाई जीवन्त राख्न सकिन्छ भन्ने कुरा उनको जीवनबाट सिक्न सकिन्छ ।
प्रतिक्रिया 4