+

लामो समय डेस्कमा बसेर काम गर्नेहरूमा ‘साइलेन्ट हर्टअट्याक’को जोखिम

२०८२ असोज  २९ गते १२:०६ २०८२ असोज २९ गते १२:०६
Shares
लामो समय डेस्कमा बसेर काम गर्नेहरूमा ‘साइलेन्ट हर्टअट्याक’को जोखिम

News Summary

Generated by OK AI. Editorially reviewed.
  • साइलेन्ट हृदयघातमा छाती दुख्ने वा सास फुल्ने लक्षण नदेखिने भएकाले समयमै उपचार नपाउँदा मुटुमा स्थायी क्षति पुग्न सक्छ।
  • दैनिक ८ घण्टा वा बढी समय बिना हिँडडुल डेस्कमा बस्ने व्यक्तिमा हृदयघातको जोखिम १.५ गुणा बढी हुन्छ।
  • साइलेन्ट हृदयघातबाट बच्न प्रत्येक ४५–६० मिनेटमा ५–१० मिनेट हिँड्ने, हप्तामा १५० मिनेट व्यायाम गर्ने र स्वस्थ खानपान अपनाउनुपर्छ।

घन्टौंसम्म डेस्कमा बसेर काम गर्नु अहिले धेरैको दैनिकी हो । तर, के तपाईंलाई थाहा छ ? यसरी बसेर काम गर्ने बानीले हाम्रो स्वास्थ्य, विशेषगरी मुटुलाई अप्रत्यक्ष रूपमा जोखिममा पारिरहेको छ ।

हो, बिना चेतावनी आउने र आएपछि तत्काल उपचार नपाए ज्यानै जाने ‘साइलेन्ट हर्टअट्याक’ ती व्यक्तिमा तीव्र गतिमा बढ्दैछ, जसको जीवनशैली निष्क्रिय छ । त्यसैले, त अहिले विज्ञहरूले अंग्रेजीमा भन्ने गरेका छन्, ‘सिटिङ इज द न्यू स्मोकिङ’ । अर्थात्, लामो समयसम्म बस्नु धूम्रपानजत्तिकै खतरनाक छ ।

के हो त, साइलेन्ट हार्टअट्याक ?

साइलेन्ट हृदयघात, जसलाई चिकित्सकीय भाषामा ‘साइलेन्ट मायोकार्डियल इन्फार्कशन’ भनिन्छ, यो यस्तो मुटुको समस्या हो जसमा अपेक्षित छाती दुख्ने, सास फुल्ने वा पसिना आउने जस्ता सामान्य लक्षणहरू देखिँदैनन् ।

यसका लक्षण यति सूक्ष्म हुन्छन् कि, अधिकांश मानिसहरूले तिनलाई सामान्य ठानेर बेवास्ता गर्छन् । यस्तो अवस्थामा मुटुमा क्षति पुगिरहेको हुन्छ, तर हृदयघात भएको कुरा थाहा नै हुँदैन । यो खतरनाक अवस्थाले समयमै उपचार नपाए मुटुलाई स्थायी क्षति पुर्‍याउन सक्छ।

लामो समयसम्म बसेर कसरी मुटुमा असर गर्छ ?

लामो समयसम्म एकै ठाउँमा बसिरहँदा शरीरमा रक्तसञ्चार सुस्त हुन्छ । यसले मुटुसम्म रगत र अक्सिजन पर्याप्त मात्रामा पुग्न दिँदैन । फलस्वरूप, रक्तनलीहरूमा अनावश्यक बोसो जम्मा हुन्छ, जसलाई चिकित्सकीय भाषामा ‘एथेरोस्क्लेरोसिस’ भनिन्छ । यसले रक्तनलीहरू साँघुरो बनाउँछ र हृदयघातको जोखिम बढाउँछ ।

यसबाहेक, लामोसमयसम्म बस्दा शरीरमा अनावश्यक रुपमा मोटोपन बढ्छ ।  रक्तसञ्चारमा अवरोधले रक्तचाप बढ्छ । निष्क्रिय जीवनशैलीले रगतमा चिनीको मात्रा अनियन्त्रित हुन सक्छ । यसले मधुमेहजस्ता समस्या पनि बढ्न सक्छन् । रक्तनलीमा खराब कोलेस्टेरोल जम्मा हुन्छ, जसले कोलेस्टेरोलको वृद्धि गर्छ । जुन हृदयघातको प्रमुख कारण हो ।

अध्ययनहरूका अनुसार, दैनिक ८ घण्टा वा सोभन्दा बढी समय बिना हिँडडुल वा शारीरिक गतिविधि डेस्कमा निरन्तर बिताउने व्यक्तिहरूमा हृदयघातको जोखिम १.५ गुणा बढी हुन्छ ।

के धेरै नै जोखिमपूर्ण छ, साइलेन्ट हार्टअट्याक ?

लक्षण देखिनेबित्तिकै ठ्याक्कै यही हो भन्ने यकिन गर्न सकिँदैन । फलस्वरुप, तुरुन्त उपचार गरिँदैन । सामान्य हृदयघातमा जस्तो छाती दुख्ने वा सास फुल्ने जस्ता स्पष्ट संकेतहरू नहुँदा मानिसहरूले समयमै उपचार खोज्दैनन् ।

यदि यो अवस्था समयमै पत्ता लागेन भने मुटुको मांसपेशीमा स्थायी क्षति पुग्न सक्छ, जसले भविष्यमा मुटुले काम गर्न छोड्ने (हार्ट फेलिअर) वा मृत्युसम्म हुनसक्छ ।

को बढी जोखिममा ?

– जो लामो समयसम्म डेस्कमा बसेर काम गर्छन् ।

– जसलाई मोटोपनाको समस्या छ ।

– जो उच्च रक्तचाप वा मधुमेहका बिरामी छन् ।

– जो धूम्रपान वा मदिरा सेवन गर्ने गर्छन् ।

– जो धेरै तनाव र निद्राको कमी भोगिरहेका छन् ।

– पारिवारिक इतिहासमा हृदयरोग भएकाहरू ।

महिलाहरूमा बढी जोखिम

महिलाहरू प्रायः सामान्य हार्टअट्याक जस्तो तीव्र छाती दुखाइको सट्टा थकान, सास फेर्न गाह्रो, अपच, वाकवाकी वा ढाड÷दाँतको दुखाइ जस्ता असामान्य लक्षण अनुभव गर्छन् । महिलाहरूमा एस्ट्रोजेन र अन्य यौन हर्मोनका कारण पीडा सहने क्षमता बढी हुन सक्छ ।

महिलाहरूले प्रायः आफ्ना लक्षणहरूबारे कम सचेत हुने गर्छन् । र उनीहरूलाई तनाव, उमेर बढ्दै गएको वा मुटुसँग सम्बन्धित नभएका कारणले हुने समस्या ठानेर बेवास्ता गर्छन् । कहिलेकाहीँ यो अवस्थाले पनि महिलालाई हृदयघात हुनसक्छ ।

साइलेन्ट हृदयघातबाट बच्न के गर्ने ?

साइलेन्ट हृदयघातबाट जोगिन जीवनशैलीमा सानातिना तर प्रभावकारी परिवर्तनहरू आवश्यक छन् ।

– प्रत्येक ४५ देखि ६० मिनेटमा ५–१० मिनेट उठेर हिँड्ने, जिउ तन्काउने वा हल्का व्यायाम गर्ने । यो सानो बानीले रक्तसञ्चार सुधार्छ ।

– हप्तामा कम्तीमा १५० मिनेट हल्का व्यायाम (जस्तैः ब्रिस्क वाक, योग, साइक्लिङ) गर्ने । यसले मुटुलाई स्वस्थ राख्छ ।

– फलफूल, सागसब्जी, ताजा अन्न र प्रोटिनयुक्त खानेकुरा खाने । तारेको, प्रशोधित खाना र चिल्लो खानेकुराबाट टाढा रहने ।

– ध्यान गर्ने, गहिरो सास लिने अभ्यास वा मनपर्ने गतिविधिमा समय बिताएर तनाव कम गर्ने ।

– यदि तपाईं जोखिम समूहमा पर्नुहुन्छ भने, समय–समयमा मुटुरोग विशेषज्ञसँग परामर्श लिने र इसीजी, इकोकार्डियोग्राम जस्ता परीक्षण गराउने ।

– धूम्रपान र मदिरापानको‍ लत भए त्याग्नुपर्छ ।  यी बानीले मुटुको स्वास्थ्यमा प्रत्यक्ष असर गर्छ ।

– रातमा ७–८ घण्टा गुणस्तरीय निद्रा लिने ।

– मुटुरोगबारे आफू र परिवारलाई शिक्षित गर्न सकिन्छ । समयमै यस्ता स-सानो जानकारीले ज्यान बचाउन सक्छ।

साइलेन्ट हार्टअट्याक एक चुनौती हो, तर सही जानकारी र जीवनशैली सुधारेर यसबाट बच्न सकिन्छ । आफ्नो मुटुको ख्याल राख्नुहोस् र स्वास्थ्यलाई प्राथमिकता दिनुहोस्।

कार्यस्थलमा सुधार

– स्ट्यान्डिङ डेस्क प्रयोग गर्ने वा कामको बीचमा हल्का स्ट्रेचिङ गर्ने बानी बसाल्न सकिन्छ ।

हल्का लक्षणमा सचेत रहने

-सामान्य थकान, बेचैनी वा मुटुको चाल बढेको अनुभव हुनु, सास फेर्न गाह्रो हुने र चक्कर लाग्ने जस्ता लक्षणलाई बेवास्ता गर्नु हुँदैन । कहिलेकाहीँ घाँटीतर्फ, काँध र दाहिनेतर्फ दुख्नु पनि साइलेन्ट हृदयघातका संकेत हुनसक्छन् ।

मुटुरोग
डा. अशोक श्रेष्ठ
लेखक
डा. अशोक श्रेष्ठ
मुटुरोग विशेषज्ञ

डा. अशोक श्रेष्ठ काठमाडौंस्थित फ्रन्टलाइन अस्पतालमा कार्यरत छन् । कार्डियोलोजीमा एमडी गरेका उनको नेपाल मेडिकल काउन्सिल नम्बर १७३२२ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय