+

महिलाले बढी गर्छन् आत्महत्या प्रयास, धेरै मृत्यु पुरुषको

२०८२ असोज  ३० गते ११:३१ २०८२ असोज ३० गते ११:३१

पुरुषमा आत्महत्या बढ्नुको कारण उनीहरूका तरिकाहरू तुलनात्मक रुपमा हिंस्रक हुनु हो ।

महिलाले बढी गर्छन् आत्महत्या प्रयास, धेरै मृत्यु पुरुषको

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०-८१ मा ६ हजार ८६६ जनाले आत्महत्या गरेका थिए भने यस वर्ष ६ हजार ८५३ जनाले आत्महत्या गरेका छन्।
  • मानसिक स्वास्थ्यप्रति जागरूकता कमी, सामाजिक दबाब, साइबर अपराध र पहुँचयोग्य सेवा अभावले आत्महत्या बढेको छ र ११६६ नम्बरमा २४ घण्टा निःशुल्क परामर्श सेवा उपलब्ध छ।

नेपाल प्रहरीको वार्षिेक तथ्यांक भन्छ- आर्थिक वर्ष २०८१-०८२ मा मात्रै ६ हजार ८५३ जनाले आत्महत्या गरे ।  आर्थिक वर्ष २०८०-८१ मा ६ हजार ८६६ जनाले आत्महत्या गरेका थिए । अघिल्लो वर्षको तुलनाम केही कम भए पनि विगत एक दशकयता आत्महत्याको ग्राफ निरन्तर उकालो लागेको छ ।

आत्माहत्या गर्नेमा ५६ प्रतिशत पुरुष छन् । अर्थात्, हरेक दुई आत्महत्यामध्ये एक भन्दा बढी पुरुष भेटिन्छन् ।

विश्वभरको अवस्था हेर्दा पनि आत्महत्याको प्रयास गर्नेमा महिलामा बढी देखिने तर मृत्यु पुरुषमा बढी रहेको पाटन अस्पतालमा कार्यरत मनोचिकित्सक डा. बासुदेव कार्की बताउँछन् ।

 

‘यही ढाँचा देखिन्छ नेपालमा पनि देखिन्छ’ डा.कार्की भन्छन्, ‘१८ वर्ष मुनिका बालबालिकाको हकमा भने उल्टो तथ्य देखिन्छ- बालिकाहरूको मृत्यु दर बढी पाइन्छ ।’

तथ्यांक अनुसार ३९ वर्ष उमेरसम्म महिलाहरूको आत्महत्याको दर केही बढी देखिए पनि त्यसपछि भने पुरुषहरूको दर तीव्र रूपमा देखिन्छ । समग्रमा हेर्दा आत्महत्याबाट मृत्यु हुने पुरुषको संख्या महिलाभन्दा बढी नै रहेको कार्की बताउँछन् ।

किन बढ्दो छ त आत्महत्या ?

अहिलेसम्मका अनुसन्धानहरूले यसको ठ्याक्कै कारण पूर्णरूपमा खोतलेका छैनन्, तर केही प्रवृत्तिहरू स्पष्ट रहेको डा. कार्कीको भनाइ छ ।

आत्महत्याको समग्र केसमा मानसिक स्वास्थ्यप्रति जागरूकताको कमी, सामाजिक दबाब र पहुँचयोग्य मानसिक स्वास्थ्य सेवाको अभावले आत्महत्याको दर बढिरहेको छ । नेपालमा अझै पनि मानसिक रोगलाई ‘कमजोरी’ ठानिन्छ, जसले उपचारका बाटो बन्द गर्ने उनको विश्लेषण छ ।

साइबर अपराधले मानसिक स्वास्थ्यमा गहिरो असर पार्ने ह्याप्पी माइन्ड्स क्लिनिकका मनोपरामर्शदाता आदित्य डंगोल बताउँछन् । अनलाइन बुलिङ र ब्ल्याकमेलले पनि जीवनप्रति निराशा, वितृष्णाजस्ता समस्याहरू निम्त्याउने उनले जानकारी दिए ।

मनोपरामर्शदाता आदित्य डंगोल ।

‘हामीले ह्याप्पी माइन्ड्समा यस्ता केसहरूमा डिजिटल डिटक्स र काउन्सलिंगबाट राम्रो नतिजा देखेका छौं’ डंगोल भन्छन्, ‘तर, सरकारी स्तरमा मानसिक स्वास्थ्य र साइबर अपराधविरुद्ध ठूलो लगानी आवश्यक छ ।’

पुरुषमा अत्यधिक आत्महत्या गर्ने ट्रेन्ड लामो समयदेखि चलिरहेको अमेरिकन फाउन्डेशन फर सुसाइड प्रिभेन्सनका सह-प्राध्यापक मनोवैज्ञानिक जिल हरकाभी फ्रीडम्यान सुनाउँछन् ।

उनी भन्छन्, ‘पुरुषमा आत्महत्या बढ्नुको कारण उनीहरूको तरिका तुलनात्मक रुपमा हिंस्रक हुनु हो । यति हिंस्रक कि, कसैको हस्तक्षेप हुनुअगावै उनीहरू मृत्युको अवस्थामा पुगिहाल्छन् ।’

बेलायतको एक रिर्पोट अनुसार १९८१ पछि पुरुषमा आत्महत्याको दरमा धेरै सुधार छ । प्रति एक लाखमा करिब १५.५ मृत्यु । तर, आत्महत्या अहिले पनि ४५ वर्षभन्दा कम आयुको पुरुषमा बढी देखिन्छ ।

महिलामा यो तथ्यांक केवल ५ प्रतिशत छ । महिलाको तुलनामा, अष्ट्रेलियामा पुरुषको आत्महत्या दर तीन गुणा, अमेरिकामा ३.५ गुणा र रुस, अर्जेटिनामा चार गुणाा बढी छ । छिमेकी देश भारतमा ७० प्रतिशत पुरुष छन् ।

पुरुष नै किन बढी ?

मनोचिकित्सक डा.डंगोलका अनुसार पुरुषहरू क्षणिक आवेशमा निर्णय लिएर आत्महत्या गर्छन्, जबकि महिलाहरू भावनात्मक सोचका कारण अन्तिम कदमसम्म पुग्दैनन् । आत्महत्याबाट हुने मृत्युमा करिब ७५ प्रतिशत पुरुष र २५ प्रतिशत महिला हुन्छन् ।

नेपालमा युवाहरूमा डिप्रेसनको प्रमुख कारण भविष्यको चिन्ता, वर्तमानप्रतिको निराशा र शैक्षिक दबाब हुने गरेको छ ।

युवाहरू घरबाट पर रहने, देशको ठूलो जनसङ्ख्या वैदेशिक रोजगारीमा हुँदा छुट्टिएर बस्नुपर्ने, दम्पतीमा परिवार सुखको अभावसँगै एक्लोपन देखिने गरेको विज्ञहरू बताउँछन् ।

‘विभिन्न सामाजिक कारणले गर्दा हाम्रो जीवन सहज बनिरहेको छैन र तनाव त्यहीँबाट सुरु भएको छ’ डंगोल भन्छन्, ‘मानसिक स्वास्थ्य सबैभन्दा मुख्य कारण भए पनि राज्यको तयारी त्यस क्षेत्रमा पर्याप्त छैन । लागुपदार्थ दुर्व्यसन बढ्दै जानु पनि त्यसको एउटा असर हो, जुन धेरै हकमा आत्महत्यासँग गएर जोडिने गरेको छ ।’

डा.बासुदेव कार्की ।

महिलाहरूले आफ्ना भावनाहरू व्यक्त गर्ने भएकाले, उनीहरूले समयमै सहयोग पनि बढी पाउँछन् । पुरुषहरू भने आफ्ना आत्महत्याका विचार वा डिप्रेसनका लक्षणबारे बोल्न वा सहयोग माग्न धेरै हिचकिचाउँछन्, जसका कारण ती भावनाहरू भित्रभित्रै सञ्चित रहन्छन् ।

त्यसैले, पुरुषहरूले आत्महत्याको प्रयास कम गरे पनि, उनीहरूले गर्ने प्रयासहरू प्रायः अत्यन्त घातक र जीवन समाप्त हुने खालका हुने उनी बताउँछन् ।

डा. कार्कीको पनि उस्तै विश्लेषण छ । पुरुषहरूमा ‘बलियो बन्नुपर्छ’ भन्ने सामाजिक अपेक्षाले उनीहरूलाई भित्रभित्रै भावनात्मक रूपमा कमजोर बनाउँछ’ उनी भन्छन्, ‘भावनाहरू पोख्न नसक्ने, तनाव लुकाउने र सहायता माग्न लाज मान्ने बानीले उनीहरूलाई गहिरो अन्धकारमा धकेल्छ ।’

अर्को कारण भनेको पुरुषहरूले प्रायः तत्काल मृत्यु हुने माध्यम जस्तै झुण्डिएर आत्महत्या गर्ने रोज्ने गरेका छन् ।महिलाहरूले भने प्रायः विष सेवन गर्ने गर्छन्, जसको कारण तुरुन्त अस्पताल लगी विषादीमा नियन्त्रण गरिएका कारण तत्काल मृत्यु हुने सम्भावना घटेको डा.कार्की बताउँछन् ।

डा.कार्कीका अनुसार सन् २००१ पछाडिका २४ वर्षमा नेपालमा २६ वटा अत्यन्त घातक विषादीहरू प्रतिबन्धित गरिएका छन् । जसले विष सेवनपछि उपचार सम्भव भएकोले धेरै महिलाहरू बचाइएका छन् । त्यसैले प्रयास महिलाको बढी भए पनि मृत्यु पुरुषको बढी देखिन्छ ।

फरक छ महिलामा पीडाको कारण

महिलामा आत्महत्याको मुख्य कारण घरेलु हिंसा, सम्बन्धगत तनाव र सामाजिक असमानता हो । तर उनीहरू सहायता खोज्ने सम्भावना बढी भएकाले मृत्युको दर कम हुन्छ ।

तथ्यांक भन्छ-महिलाहरूले पुरुषभन्दा ७–८ गुणा बढी आत्महत्याको प्रयास गर्छन् । तर मृत्यु हुने अनुपात २५ प्रतिशत मात्र हो । यद्यपि, पुरुषहरूले प्रयोग गर्ने विधि (जस्तैः झुन्डिने वा विष सेवन) अधिक घातक हुने भएकाले मृत्युको दर पुरुषमा बढी छ ।

‘प्रत्येक १० मध्ये तीन व्यक्ति जीवनमा कुनै न कुनै मानसिक समस्याबाट गुज्रिरहेका हुन्छन्’ डा.कार्की भन्छन्, ‘धेरैजसो मानिसहरू तनाव र परिस्थितिको सामना गर्न नसकेर क्षणिक आवेशमा आत्महत्याको कदम उठाउँछन्।’

उनका अनुसार, यदि समयमै उनीहरूको कुरा बुझ्ने, समाधान सुझाउने र भावनात्मक सहयोग प्रदान गर्ने हो भने धेरैजसो मामिलालाई रोक्न सकिन्छ ।

मानसिक रोगहरूको उपचार सम्भव छ । औषधि र परामर्शद्वारा ९९ प्रतिशत मामिलामा सुधार देखिएको छ ।

आत्महत्याको मनोवैज्ञानिक प्रभाव र चुनौती

आत्महत्याले व्यक्ति, परिवार र समाजमा गहिरो प्रभाव पार्छ । परिवारका सदस्यहरूमा अपराधबोध, शोक र मानसिक तनाव बढ्छ। समाजमा आत्महत्यालाई लुकाउने प्रवृत्तिले मानसिक स्वास्थ्य समस्यालाई झनै जटिल बनाउँछ ।

डा. कार्कीका अनुसार नेपालमा आत्महत्यालाई सामाजिक कलंकको रूपमा लिइन्छ, जसले यसबारे परिवार र समाजलाई खुलेर कुरा गर्नबाट रोक्छ ।

पुरुषको हकमा त झन् मानसिक स्वास्थ्यसम्बन्धी अवस्थाहरू निकै तीव्र गतिमा बढ्दै गएका छन् । यसबाट उम्किने थेरापी वा परामर्श लिनु एक सामान्य र प्रभावकारी उपाय रहेको कुरा अधिकांश पुरुषहरूलाई थाहा नहुने उनी सुनाउँछन् ।

‘नेपालमा पुरुषहरू मानसिक स्वास्थ्यका लागि सहायता लिन हिचकिचाउँछन्, उनीहरूलाई डर हुन्छ कि यदि उनीहरू चिकित्सककहाँ गए भने मानिसहरूले के पागल सोच्नेछन्’ डा.कार्की भन्छन् ।

यही सचेतना फैलाउन देशभर करिब ३०० पालिकामा मनोसामाजिक कार्यकर्ता तैनाथ छन्, र उनीहरूलाई मानसिक स्वास्थ्य र आत्महत्यासम्बन्धी तालिम दिइएको छ । तर, यो अझै पर्याप्त नभएको डा.कार्कीको भनाइ छ ।

विद्यालय नर्स, शिक्षक र स्वयंसेविकालाई मानसिक स्वास्थ्यका विषयमा सचेत गराउने प्रयास भइरहेको छ, तर व्यवहारमा अझै ठूलो खाडल छ ।

लक्षणहरू चिनेर समयमै उपचार लिनुहोस्

मानसिक स्वास्थ्य ठिक राख्नका लागि लक्षयहरूको समयमै पहिचान आवश्यक रहेको चिकित्सकहरू बताउँछन् । बिनाकारण निद्रा नलाग्ने, भोक नलाग्ने, चिडचिडापन, एक्लोपन महसुस गर्ने, मानिसहरूबाट दूरी बनाउने र मृत्युका कुरा गर्ने, यी यस्ता लक्षणहरू हुन् जुन देखिनासाथ तुरुन्त व्यक्तिलाई मनोपरामर्शका लागि लैजानुपर्छ ।

नियमित व्यायाम र आफन्तहरूसँग संवादले तनावलाई निकै हदसम्म कम गर्छ । सही समयमा परामर्श र औषधिहरूबाट जीवन बचाउन सकिने मनोपरामर्शदाता डा. डंगोल बताउँछन् ।

पहिल्यै छनक नदिई कमै मात्र आत्महत्या भइरहेका हुँदा वरपर आफन्त र साथीभाइमा त्यस्तो असामान्य लक्षणबारे निगरानी राख्न उनको सुझाव छ ।

पुरुषहरूका लागि मानसिक स्वास्थ्यका संघर्षहरूबारे खुलेर बोल्न सकिने सहज वातावरण सिर्जना गर्नु जरुरी रहेको डंगोल बताउँछन्

‘यस्तो वातावरण सिर्जना गर्न सके पुरुष सधैं भावनात्मक रुपमा बलियो हुनुपर्छ भन्ने सामाजिक कलंकलाई चुनौती दिन सहयोग गर्छ’ डंगोल भन्छन्, ‘जो पुरुष मौन र भावनाहीन छन्, ती नै परिवारलाई संरक्षण र सहयोग गर्न सक्षम हुन्छन् भन्ने धारणा अब बालबालिकाको उमेरबाटै अभ्यस्त गराउन आवश्यक छ ।’

डा. कार्कीका अनुसार सामाजिक, आर्थिक र पारस्परिक सम्बन्धलगायतका कारण जिम्मेवार भए तापनि मानसिक विचलनमा पुग्ने अवस्थाबाट आत्महत्या धेरै हुने गरेको प्रहरीको विवरणमा उल्लेख रहेको हुँदा सबैभन्दा धेरै सम्पर्कमा रहने परिवार र साथीसङ्गीले एकअर्कामा ख्याल गर्ने तथा रेखदेखको भूमिका पनि यसको रोकथाममा निकै महत्त्वपूर्ण छ ।

विदेशमा काम गर्ने युवाको मृत्युको ‘तेस्रो ठूलो कारण आत्महत्या’ रोक्न भिडिओ कलबाट उपचार सकिने उनको भनाइ छ ।

आत्महत्या रोकथाममा लागि हेल्पलाइन प्रभावकारी बन्न सकेन

आत्महत्या रोकथामका लागि ११६६ नम्बरमा २४ घण्टा निःशुल्क परामर्श सेवा उपलब्ध छ ।

यो हेल्पलाइन इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा अन्तर्गतको नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाले पाटन मानसिक अस्पतालबाट सञ्चालन गर्दै आएको हो ।

यो सेवा विशेषगरी तत्काल मानसिक संकटमा परेका व्यक्तिहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले सुरु गरिएको भए पनि अझै धेरै नागरिकलाई यो सेवा र यसको प्रभावकारिताबारे जानकारी नभएको डा. कार्की बताउँछन् ।

विद्यालय र सामुदायिक तहमा औपचारिक र अनौपचारिक शिक्षामा केही प्रचार भए पनि व्यवहारिक रूपमा संवाद र सहायता माग्ने संस्कृतिको कमी हुनु चुनौती बनिरहेको उनको भनाइ छ ।

‘हाल पनि औसतमा हरेक दिन करिब २० जनाले आत्महत्या गर्छन् । र, त्यसको २०–२५ गुणा बढी अर्थात् ४00-५०० जनाले प्रयास गर्छन् । तर तीमध्ये धेरै जनाले अझै पनि सहायता सेवाको पहुँच नभएका डा.कार्कीको भनाइ छ ।

मानसिक समस्या
लेखक
मनिषा थापा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय