+

शल्यक्रियाबाट कसरी मुसा हटाउन सकिन्छ, कति लाग्छ खर्च ?

२०८१ वैशाख  ३१ गते १९:२४ २०८१ वैशाख ३१ गते १९:२४
शल्यक्रियाबाट कसरी मुसा हटाउन सकिन्छ, कति लाग्छ खर्च ?

छालासँग सम्बन्धित समस्यामध्ये सबैभन्दा सामान्य समस्या हो, मुसाको समस्या । हात, खुट्टा, गाला, आँखीभौं, नाकको टुप्पो, निधार लगायत शरीरका अन्य अंगमा मुसा आउँदा सौन्दर्यमा पनि असर पारिरहेको हुन्छ ।

मुसाको समस्या विशेषगरी ह्युमन प्यापिलोमा भाइरस (एचपिभी)को कारणले हुन्छ । यसलाई अंग्रेजीमा वार्ट्स अर्थात् भेरुका भल्गारिस भनिन्छ । ह्युमन प्यापिलोमा भाइरस मानव जातिमा पाइने एक प्रकारको भाइरस हो । यस भाइरसले छालाको सतहलाई माथि उठाइदिन्छ । यो भाइरस सयौं प्रकारको हुन्छ । यो कुन ठाउँमा आउँछ, त्यसको आधारमा प्रकार र यसको असर निर्धारण हुन्छ । यस भाइरसले हुने मुसा सामान्यतया हात र खुट्टामा देखिन्छ ।

यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ, साथै शरीरको एउटा भागबाट अर्को भागमा पनि सर्छ । कसैको अनुहारमा आउँछ भने कसैको हात–खुट्टामा आउँछ । यो गुप्ताङ्गमा पनि आउन सक्छ ।

मुसा कोट्याइरहने वा मुसा चलाएपछि राम्रोसँग हात नधोई अन्य ठाउँमा छोएमा यो रोग सर्छ । यस्तै असुरक्षित यौन सम्पर्कको कारणले पनि यो रोग सर्छ ।

रोगप्रतिरोधात्मक क्षमता कम भएका मानिसमा मुसा आउने सम्भावना धेरै हुन्छ । त्यस्तै मोटोपन, मधुमेह, हाइपोथाइराइड भएका बिरामीमा मुसा आउने जोखिम बढी देखिन्छ । त्यस्तै वंशाणुगत रुपमा पनि मुसा आउँछ । घरमा कोही सदस्यलाई मुसा आएको छ भने त्यस परिवारका अरू सदस्यमा मुसा देखिने सम्भावना अधिक हुन्छ ।

मुसालाई सामान्य रूपले नलिऊँ

कतिपय मुसाले क्यान्सरसम्मको जोखिम बढाउँछन् । ‘एचपीभी–१६’, ‘एचपीभी–१८’ संक्रमण बढी जोखिमपूर्ण हुन्छन् ।  यस्ता भाइरल संक्रमणका कारण मुसा आएका व्यक्तिको यौनाङ्ग र मलद्वारमा पनि मुसा आए क्यान्सरको जोखिम हुन्छ ।

क्यान्सर गराउने यस्ता भाइरसका कारण महिलाको योनीमा मुसा आएको खण्डमा पाठेघरको मुखको क्यान्सर हुने सम्भावना हुन्छ ।  पुरुषको यौनाङ्गमा यस्ता भाइरस भएका मुसा आए पुरुषको यौनाङ्गको क्यान्सरको जोखिम हुन्छ ।

उपचार

शरीरको कुनै पनि भागमा मुसा आएमा यसलाई हलुका ढंगले लिनु हुँदैन । तुरुन्तै चिकित्सकलाई देखाउनुपर्छ ।

शरीरमा मुसा देखियो भने सुरुमा औषधि मार्फत उपचार गरिन्छ । ‘सेलिसाइलिक’ नामक एसिडयुक्त मलम लगाउनाले बिस्तारै मुसा हट्दै र घट्दै जान्छ ।

विद्युतीय मेसिनले जलाएर मुसा हटाउन सकिन्छ । अत्यन्तै चिसो हुने खालको लिक्विड नाइट्रोजनले सेकेर पनि मुसा हटाउन सकिन्छ । यसरी चिसोले सेकेर मुसा हटाउने विधिलाई चिकित्सकीय भाषामा क्रायोथेरापी भनिन्छ । शल्यक्रिया गरेर पनि मुसा फाल्न सकिन्छ । साथै लेजर प्रविधिबाट पनि मुसाको उपचार गरिन्छ ।

कति लाग्छ खर्च ?

मुसाको समस्या सामान्य मात्र छ र लगाउने औषधिले मात्र काम गर्‍यो भने ५०० रुपैयाँदेखि एक हजार रुपैयाँले नै मुसा हट्छ । शल्यक्रिया गर्नुपर्‍यो भने दुई हजारदेखि पाँच हजारसम्म खर्च लाग्न सक्छ । लेजर गर्नुपर्‍यो भने ५ हजारदेखि १० हजार रुपैयाँसम्म खर्च लाग्न सक्छ । मुसा कतिवटा छ, कत्रो आकारको छ त्यसको आधारमा खर्चको निर्धारण हुन्छ ।

छालामा मुसा छालारोग डा. विकास पौडेल
डा. विकास पौडेल
लेखक
डा. विकास पौडेल
छाला, यौन तथा सौन्दर्य विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर :९१११ एमबीबीएस, एमडी, फेलोसिप इन क्लिनिकल डर्माटोलोजी (दक्षिण कोरिया) ललितपुर लगनखेलस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहायक प्राध्यापक, पाटन अस्पताल, नेसनल मेडिकल कलेज वीरगञ्ज, शंखमूल हेल्थकेयरर इलिट हेल्थ क्लिनिकमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय