+
+

मन्त्री किरातीलाई प्रश्न : क्रिसमस फेस्टिभलमा राजनीतिक भाषण किन ?

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ५ गते १९:४६

५ पुस, काठमाडौं । बुधबार राजधानीमा आयोजित क्रिसमस फेस्टिभलमा बोलेको विषयलाई लिएर संस्कृति, पर्यटन तथा नागरिक उड्ड्ययन मन्त्री सुदन किराती विवादमा परेका छन् ।

उनले क्रिश्चियन नमान्नेहरु संविधान विरोधी हुन् भनी दिएको अभिव्यक्तिको विभिन्न राजनीतिक दलका नेताले आपत्ति जनाएका छन् । मन्त्री किरातीले भने आफूले नेपालको संविधान मान्नेले सबै धर्म मान्नेलाई समान व्यवहार गुर्नपर्छ भन्ने अर्थमा त्यस्तो अभिव्यक्ति दिएको प्रष्टीकरण दिएका छन् । पढ्नुस् मन्त्री किरातीसँग अनलाइनखबरले गरेको संक्षिप्त कुराकानी :

धार्मिक कार्यक्रममा राजनीतिक भाषण किन गर्नुभएको ?

राजनीतिक कुरा त जहाँ पनि हुन्छ नि । राजनीतिक मान्छेले गर्ने नै राजनीतिक कुरा हो । अरु–अरु नेताले अरु कार्यक्रमहरुमा बोलेको भाषण पनि ल्याउनु न । राजनीतिक कुरा हुनु स्वभाविक हो ।

क्रिश्चियन नमान्नेहरु संविधान नमान्नेहरु हुन्, तिनलाई जेल कोचौं भन्न मिल्छ ?

खासमा मैले कुनै पनि अतिवाद सह्य हुँदैन भन्ने अर्थमा भनेको हुँ । संविधान मान्ने हो भने हिन्दु, बौद्ध, क्रिश्चियन, किरात, मुस्लिम सबै धर्मलाई अस्तित्वको अर्थमा मान्न सक्नुपर्छ । किनभने संविधानले नै नेपाललाई बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक भनिसक्यो ।

त्यो नमान्नेलाई के गर्ने त ? संविधान नमान्नेलाई त सजाय हुन्छ नि । भड्काउनु चाहिँ किन पर्‍यो ? कोही पनि अतिवादमा फस्न हुँदैन । संविधानमा भएको अधिकार अनुसार सबै फूलहरु फक्रिन पाउनुपर्छ । सहिष्णुता काम गरौं ।

तर मन्त्रीले जेल नै हाल्ने कुरा गर्न मिल्छ ?

संविधान नमान्नेलाई त सम्मान हुन्छ ? अभिनन्दन हुन्छ ?

कसलाई जेल पठाउने, कसलाई कहाँ राख्ने न्यायनिरुपण मन्त्रीले गर्ने हो ?

संविधान र कानुनले गर्ने हो कि । तर त्यो कानुनको वकालत गर्ने अधिकार हरेक नागरिकलाई हुन्छ नि । राजतन्त्र र निरंकुशतामा के हुन्थ्यो ? गणतन्त्रको ग उच्चारण गर्दा मृत्युदण्डै हुन्थेन ? लोकतन्त्रको ल उठाउँदा मृत्युदण्ड भाको होइन यो देशमा ?

तर लोकतन्त्रमा त लोकतन्त्रको विरोध गर्न पाइहालिन्छ नि ?

हो, पाइन्छ । सडकमा उभिएर लठ्ठी घुमाउन पनि पाइन्छ, तर अर्काको नाकमा चाहिँ हिर्काउन पाइँदैन ।

आफ्नो त्यो भाषणमा प्रचण्ड र क्राइस्टलाई नै तुलना गरिदिनुभएछ नि ?

कुनै पनि समाजमा अग्रगामीहरु त्यस्तै हुन्छन् । त्यति बेलाको युग थियो । यति बेला भएको भए त्यस्तै हुन्थ्यो । किनभने उहाँ (क्राइस्ट) को पनि न्याय सद्भाव, समानताको कुरा छ ।

सीमान्तकृतको कुरा छ । त्यो भएर तुलना गर्दा अहिले भएको भए प्रचण्डजस्तै हुन्थे भनेको हुँ ।अलिक पहिला भएको भए बीपी कोइरालासँग तुलना गर्न मिल्थ्यो । त्योभन्दा अलिक पछि भएको भए मदन भण्डारीसँग हुन्थ्यो होला । अहिले प्रचण्डसँग हुन्छ ।

बिदाको कुरामा पनि तपाईं चिप्लिनुभयो । राज्यको जिम्मेवार मन्त्रीले क्रिश्चियनलाई बिदा मिलाउन कोसिस गर्छु भन्नु स्वभाविक होला, तर अरु धर्मका बिदा काट्नुपर्छ भन्नु सही हो ?

त्यहाँ उनीहरुले बिदाको कुरा निकै प्रमुख एजेन्डाका रुपमा उठाए । लोकतन्त्रमा सबैको अस्तित्व बराबर हो भने विदा पनि बराबर नै हुनुपर्छ । किनभने यो समानताको कुरा पनि हो । यो देशमा बिदा धेरै छ । सधैं बिदामा बसेर हुँदैन । कि त अरुको पनि बिदा कटाउँ, कि त तपाईंहरुको पनि थपौं भनेको मात्रै हो ।

अलिक उत्साहमा बगेर बोलिएछ भन्ने अनुभूति भएको छैन ?

छैन, छैन । म त एकदम सही छु । अरु कति धेरै कुरा ओझेलमा पर्ने, यस्तै त रहेछ नि ।

प्रतिपक्षी नेताहरु तपाईंको राजीनामा माग्दैहुनुुहुन्छ । उहाँहरुलाई के भन्नुहुन्छ ?

पानी नभएका घैलाहरु सानो सिक्का फाल्दा पनि टंग्रङ्ग बज्छन् नि । यो त्यही हो ।

रवि लामिछानेले तपाईंको अभिव्यक्तिलाई साम्प्रदायिक विद्वेष फैलाउने भन्ने टिप्पणी गर्नुभएको छ । पढ्नुभयो ?

मलाई फुर्सद नै छैन । मैले त्यो पढेकै छैन ।

उसोभए राजीनामा आउने सम्भावना छैन ?

छैन । सम्भावना छैन ।

आलोचकप्रति के भनाइ छ ?

उनीहरुलाई धन्यवाद छ । आफ्नो बुद्धि, स्तर र क्षमता अनुसार नांगै, अर्धनांगै उत्रिएका छन् । धन्यवाद त दिनैपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?