+
+

राष्ट्रिय सभा उम्मेदवारमा कांग्रेसका २५ केन्द्रीय नेता आकांक्षी

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १० गते २०:३१

१० पुस, काठमाडौं । नेपाली कांग्रेसका २५ केन्द्रीय नेताले राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार बन्ने आकांक्षा राखेका छन् ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश समितिले केन्द्रीय कार्यालयमा पठाउने उम्मेदवार आकांक्षीको सूची तयार पार्दा २५ केन्द्रीय सदस्यको नाम आएको छ । कोशी र बागमतीबाट ८/८ जना, गण्डकीबाट ५, लुम्बिनीबाट ४ जना र कर्णालीबाट एक जना केन्द्रीय सदस्य राष्ट्रियसभा सदस्य उम्मेदवारको आकांक्षी छन् ।

सुदूरपश्चिम प्रदेश समितिले भने जिल्लाबाट प्राप्त सबै नाम पठाउने निर्णय गरेपनि अन्तिम टुंगो लगाएको छैन । मधेसले नाम संकलन गरि नसकेको प्रदेश तहका नेताले जानकारी गराएका छन् ।

कोशीबाट केन्द्रीय नेताहरु कृष्णप्रसाद सिटौला, डा. मिनेन्द्र रिजाल, डा. डिला संग्रौला, सुजाता कोइराला, तारामान गुरुङ, उमेशजंग रायमाझी, आङ्गेलु शेर्पा र रुक्मिणी कोइरालाको नाम सिफारिस भएको छ । नेताहरु महेश आचार्य र गुरुराज घिमिरेको नाम प्रदेशबाट सिफारिस गरिएको छ ।

सिटौला गत आम निर्वाचनमा झापा–३ बाट पराजित भएका थिए । गत निर्वाचनमा प्रतिनिधि सभामा उम्मेदवारको आकांक्षी रहेका केन्द्रीय सदस्यद्वय रिजाल र संग्रौला मोरङमा टिकट पाएका थिएनन् ।

सुजाता मोरङ–२ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएकी थिइन् । पार्टीको १४ औं महाधिवेशनमा उपसभापतिमा पराजित महेश आचार्यले गत निर्वाचनमा टिकट पाउन सकेनन् । घिमिरे गत निर्वाचनमा प्रदेश सभा सदस्यमा पराजित भएका थिए ।

कोशीबाट पूर्व केन्द्रीय सदस्यमा पवन सारडा, रामकृष्ण भट्टराई, बाबुराम बस्नेत, हसन अन्सारी लगायतको नाम पनि राष्ट्रियसभा सदस्यका लागि सिफारिस गरिने प्रदेश समितिका एक नेताले बताए ।

कोशीमा अन्य र महिला दुई क्लष्टरका लागि चुनाव हुँदैछ । सिटौलालाई अन्यबाट पहिलो नम्बरमा र सुजातालाई महिलाबाट पहिलो नम्बरमा राखेर नाम सिफारिस गरिने प्रदेश महामन्त्री भूपेन्द्र राईले जानकारी दिए ।

बागमती प्रदेशबाट केन्द्रीय सदस्य मदन अमात्य, जिपछिरिङ लामा, दिलमान पाख्रिन, हरिशरण नेपाली, जितजङ बस्नेत, गंगालक्ष्मी अवाल, राधा घले र मदनकृष्ण श्रेष्ठ उम्मेदारको आकांक्षी सूचीमा छन् ।

काठमाडौं जिल्ला सभापति सबुज बानियाँ, काठमाडौं महानगरका सभापति निलकाजी शाक्यको नाम समेत सिफारिस भएको छ । बागमतीबाट पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहाल र चिकित्सक संघका पूर्वअध्यक्ष डा. केदारनरसिंह केसीको नाम पनि सिफारिस भएको छ । १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित बाबुकृष्ण सापकोटाको नाम पनि बागमतीबाट सिफारिस भएको छ ।

गण्डकीबाट केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, चीनकाजी श्रेष्ठ, कृष्णचन्द्र नेपाली पोखरेल, धु्रव वाग्ले, अब्दुल सतारको नाम सिफारिस गरिएको छ । पूर्वसभामुख तारानाथ रानाभाट, केन्द्रीय सहमहामन्त्रीका उम्मेदवार देवराज चालिसे लगायतको नाम गण्डकीबाट पठाइएको छ ।

लुम्बिनीबाट केन्द्रीय सदस्यहरु डा. गोविन्द पोखरेल, पुष्पा भुसाल, भरत शाह र चन्द्र केसीको नाम पठाइएको छ । पोखरेलले गत आम चुनावमा निर्वाचनमा प्युठानमा टिकट पाएनन् । भुसाल अर्घाखाँचीमा पराजित भएकी हुन् । सार्वजनिक लेखा समितिका पूर्व सभापति शाह गत आम निर्वाचनमा रुपन्देही–५ मा पराजित भएका थिए ।

कर्णालीबाट केन्द्रीय सदस्य मानबहादुर नेपालीको नाम कर्णालीबाट सिफारिस भएको छ । प्रदेश सभापतिमा पराजित भूपेन्द्रजंग शाहीको नाम प्रदेश समितिले सिफारिस गरेको छ । जुम्ला जिल्लाबाट नाम सिफारिस भएर आएपनि आफ्नो नाम सिफारिस नगरेको प्रदेश सभापति ललितजंग शाहीले बताए ।

राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार हुनका लागि प्रतिनिधिसभा निर्वाचनको समानुपातिक सूचीमा रहेका मा ८ र प्रदेशसभा निर्वाचनको समानुपातिक सूचीमा रहेका १० जनाले नाम फिर्ता लिएका थिए ।

राष्ट्रपतिले मनोनित गर्ने एक बाहेकका १९ जना राष्ट्रिय सभाका सांसदका लागि ११ माघमा निर्वाचन हुँदैछ । २३ पुसका लागि उम्मेदवारी दर्ताको कार्यतालिका निर्वाचन आयोगले बनाएको छ । सत्ता गठबन्धनका दलले तालमले गर्ने भए पनि कुन प्रदेशको कुन क्लस्टर कसले लिने भन्ने भागबण्डा भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?