+
+

बेनी-जोमसोम-कोरला सडकमा थप ६ पक्की पुल निर्माण

रासस रासस
२०८० पुष ११ गते ८:५५

११ पुस, म्याग्दी । गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर-दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडकअन्तर्गत थप ६ पुल निर्माण भएका छन् ।

म्याग्दीको रघुगङ्गा गाउँपालिकामा एक, मुस्ताङको थासाङ गाउँपालिकामा एक र लोमान्थाङ गाउँपालिकामा चार मोटरेबल पुल सञ्चालनमा आएको बेनी-जोमसोम-कोरला सडक आयोजनाले जनाएको छ ।

आयोजनाका इन्जिनियर विष्णु चापागाईँले निर्माणको अन्तिम चरणमा रहेका ती पुल सवारीसाधन आवतजावतका लागि प्रयोग हुन थालेका जानकारी दिए ।

‘पन्चानब्बे प्रतिशतभन्दा बढी भौतिक प्रगति भएका पुल अन्तिम चरणमा छन्’, उनले भने, ‘पहुँचमार्ग र संरचना बनिसकेकाले सवारीसाधनले आवतजावतमा प्रयोग गरेका हुन् ।’

बेनी-जोमसोम-कोरला आयोजनाले पाँच पुल निर्माणका लागि विभिन्न निर्माण कम्पनीसँग ३१ करोड ६२ लाखमा ठेक्का सम्झौता भएको थियो ।

रघुगङ्गा -१ बेगखोलामा ७० मिटर लामो ‘डबल स्पाम’ भएको मोटरेबल पुल बनाउन सडक विभागको पुल महाशाखाले बिओकेआई/हिमालयन जेभीसँग भ्याटसहित आठ करोड ३० लाख ६८ लाख चार सय ७३ मा ठेक्का सम्झौता गरेको थियो ।

थासाङ गाउँपालिकाको छाक्ताङखोलामा डबल स्पाम भएको ८० मिटर लामो पुल निर्माण गर्न कालिका-गजुरमुखी जेभीले रु सात करोड ४२ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

लोमान्थाङको लोमान्थाङ, किम्लिङ, नाम्डोक र भर्मा खोलाको पुल निर्माणका लागि मुक्तिनाथ-अमित जेभीले विसं २०७६ असार ३१ गते ठेक्का सम्झौता गरेको थियो ।

बीस मिटर लामो लोमान्थाङ पुलको लागत रु चार करोड ६८ लाख, ५० मिटर लम्बाइको किम्लिङ खोला पुलको लागत रु छ करोड ३० लाख, ५० मिटर लामो नाम्डोक खोला पुलको लागत रु छ करोड ३७ लाख र ८० मिटर लम्बाइको भर्मा खोला पुलको लागत रु छ करोड ८५ लाख हो ।

पुल निर्माण भएपछि बाह्रै महिना यातायात सञ्चालन गर्न सहज भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले बताए ।

योजनामार्फत १३ पक्की पुल र तीन बेलीब्रिज निर्माण सकिएका छन् । म्याग्दीको राहुघाटमा ४० मिटर, घट्टेखोलामा ४० मिटर, मुस्ताङको लेतेमा ४० मिटर, स्याङ खोलामा एक सय १५ मिटर, पाण्डाखोलामा ५० मिटर लामो पुल निर्माण भएको हो ।

पुल महाशाखाको पश्चिम सेक्टर कार्यालय पाल्पाले म्याग्दीको महभिरमा ८०, पोखरेबगर र बेगखोलामा ७०-७० मिटर लामो पुल निर्माण गरेको छ ।

छुसाङको मुस्ताङ गेटस्थित कालीगण्डकी नदीमा डोलिडारले ७७ दशमलव दुई मिटर र जोमसोमस्थित कालीगण्डकी नदीमा तत्कालीन मुस्ताङ जिविसले ४६ मिटर लामो पुल बनाएको थियो ।

म्याग्दीको अन्नपूर्ण-३ स्थित रुप्से, बेनी-बगरफाँट जोड्ने कालीगण्डकी र अन्नपूर्ण गाउँपालिकाको भुरुङ्गखोलामा बेलीब्रिज निर्माण भएको हो ।

थप एक मोटरेबल पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ । सातवटा मोटरेबल पुल निर्माणाधीन छन् । थप पाँच ठाउँमा पुल निर्माणको प्रस्ताव गरिएको छ ।

पर्वतको मालढुङ्गाबाट म्याग्दी हुँदै मुुस्ताङस्थित चीनको सिमाना कोरलानाका जोड्ने दुई सय दुई किलोमिटर दूरीको सडक दुुईलेनको कालोपत्र र ग्राभेल बनाउन विसं २०७३-७४ देखि सुरु भएको योजनाको हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको छ ।

६ वटा खण्डमा ८५ किलोमिटर ग्राभेल र तीनवटा खण्डको १९ किलोमिटर सडक कालोपत्र गर्ने काम सकिएको छ ।

सडकले पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?