+
+

बूढीगण्डकी शिलान्यास गर्न छिट्टै आउँछु : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ११ गते १६:१०

११ पुस, गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको काम छिट्टै अघि बढ्ने बताएका छन् ।

बुधवार गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आयोजित ‘स्थानीय सरकार र सरोकारवालासँग प्रधानमन्त्री’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले आयोजना निर्माणका लागि आर्थिक अभाव हुन नदिन भौतिक पूर्वाधारका निम्ति उठाइने रकमको पाँच प्रतिशत आयोजनामा हाल्ने निर्णय भएको बताए ।

‘बूढीगण्डकी के होला कसो होला भन्ने भइरहेको थियो,’ उनले भने, ‘मैले केही समय अगाडि क्याविनेटबाट भौतिक पूर्वाधारका निम्ति उठाउने रकमको पाँच प्रतिशत बूढीगण्डकीमा हाल्ने निर्णय गरेको छु ।’

यो निर्णयपछि अब अब बूढीगण्डकीमा आर्थिक अभाव नहुने दाबी गर्दै उनले भने, ‘छिटै बूढीगण्डकी परियोजनालाई शिलन्यास गर्न म आउँदैछु ।’

लामो समयदेखि बन्द रहेको गोरखकाली रबर उद्योगलाई पब्लिक प्राइभेट पार्टनरसिप (पीपीपी) मोडेलमा सञ्चालन गर्न गृहकार्य भइरहेको पनि उनले बताए ।

बारपाकमा चलिरहेको प्राविधिक शिक्षालयका लागि छात्रावास निर्माण गर्ने कार्यलाई पनि अघि बढाइने उनले बताए । ‘अहिलेलाई ५० लाख मात्र भयो भने पनि छात्रावास निर्माणको काम अघि बढाउन सकिन्छ भनेर पालिका अध्यक्षले भन्नुभएको छ, अव त्यो अगाडि बढ्छ,’ उनले भने ।

पालुङटारमा रहेको आँपपिपल अस्पतालको सन्दर्भ जोड्दै उनले उक्त अस्पताललाई ५० शय्याको स्वीकृति प्रदान गरिने बताए । उनले भने, ‘उहाँहरुले अहिलेलाई स्वीकृति र जनशक्तिको मात्र व्यवस्थापन गरिदिनु भन्नुभएको छ,स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर त्यो काम अघि बढ्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?