+
+

हात्ती सौन्दर्य प्रतियोगिताको उपाधि सेल्फीकलीलाई

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ११ गते १८:४८

११, पुस, चितवन । सेल्फीकली हात्तीले सौराहामा जारी चितवन हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत भएको सौन्दर्य प्रतियोगिताको उपाधि जितेको छ ।

प्रतिस्पर्धामा रहेका अन्य ६ हात्तीलाई उन्छिदै १७ वर्षको सेल्फीकलीले उपाधि जितेको हो । निर्णायक संयोजक एवम् चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक विजय श्रेष्ठले सेल्फीकलीले ३९४ अंक ल्याएर उपाधि उचालेको जानकारी दिए ।

प्रतियोगितामा ३९३ नम्बरसहित निकुञ्जको रिमझिमकली द्धितीय र ३५६ अंकसहित सम्मृद्धिकली तृतिय भए ।

प्रतिस्पर्धामा चितवन राष्ट्रिय निकुञ्जको रिमझिमकलीसहित सम्वृद्धिकली, लक्ष्मीकली, विजुलीकली, रानीमायाकली, चम्पाकली र सेल्फीकली सहभागी भएका थिए ।

निकुञ्जका ३० र सौराहाका व्यससायीहरुले पालेका ४० गरेर ७० हात्तीबाट छानिएका ७ हात्तीका बीचमा सौन्दर्य प्रतियोगितामा प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगितामा सहभागी हात्तीहरुको आनीवानी, चिल्लोपना, अनुशासन, शारीरिक बनावट, हिँडाइ, नङहरुको विकास र व्यवस्थापन, चहकिलोपन जस्ता विषयका आधारमा अंक दिइएको थियो ।

राइनो लज एण्ड होटलका सञ्चालक रामकुमार अर्यालले सेल्फीकली सौन्दर्य प्रतियोगितामा उत्कृष्ट भएकोमा खुसी लागेको बताए । उनले १२ वर्ष अगाडि पर्साबाट यसलाई ल्याएका थिए । अर्यालसँग सेल्फीकली र सोनाकली गरेर दुई हात्ती छन् ।

‘सेल्फीकली मान्छेलाई नहान्ने, नरिसाउने, ज्ञानी, भनेको मान्ने खालको छ’ अर्यालले भने, ‘मलाई पनि माया गर्छ, म पनि उसलाई अति नै माया गरेर विषेश ख्याल गर्छु ।’ यी दुबै हात्तीका माहुते किशोर कुमाल र पुष्कर चौधरी हुन् ।

दुबै हात्ती दिनमा २ पटक पर्यटक लिएर जंगल जाने गरेको अर्यालले बताए ।

यसपटकको हात्ती महोत्सवमा हात्तीको श्रृङ्गार, हात्ती वनभोज जस्ता कार्यक्रम राखिएका छन् ।

हात्ती दौड, हात्तीको फुटबल र हात्ती पोलो जस्ता कार्यक्रम हटाइएका छन् । पुस १० गतेबाट सुरु भएको महोत्सव १४ गतेसम्म ५ दिन सञ्चालन हुनेछ । कोराना भाइरसको संक्रमण भएपछि रोकिएको हात्ती महोत्सव ४ वर्षपछि पहिलोपटक भएको हो ।

क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर आयोजना गरिएको महोत्सवमा २० हजारभन्दा बढि पर्यटकहरु आउने अपेक्षा छ ।

सौराहामा ११२ भन्दा बढि होटल तथा रिर्सोट र ८० भन्दा बढि रेष्टुरेन्टहरु छन् । एक रातमा ६ हजार ५ सय पर्यटकहरू राख्न सक्ने क्षमता सौराहाको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?