+
+

राष्ट्रियसभा निर्वाचन : कोशीमा कांग्रेस–माओवादीमा आकांक्षीको लर्काे

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १२ गते २०:२९

१२ पुस, विराटनगर । ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशमा २ सिटका लागि निर्वाचन हुँदैछ । उक्त पदमा सत्ता गठबन्धनमा रहेका दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रमा उम्मेदवार बन्न आकांक्षीहरुको ठूलो समूह देखिएको छ ।

कोशीबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने रमेशजंग रायमाझी (कांग्रेस) र बिना पोखरेल (माओवादी केन्द्र) को पदावधि २० फागुनमा सकिदैछ । कोशीमा अन्य क्लस्टरको उम्मेदवार कांग्रेसले र महिला क्लस्टरको उम्मेदवार माओवादी केन्द्रले पाउने सत्तारुढ गठबन्धनमा समझदारी रहेको नेताहरुले बताएका छन् ।

एक जना उम्मेदवारका लागि कांग्रेसले ६३ जनाको नाम सिफारिस गरेको छ । माओवादी केन्द्रले पनि १२ जना भन्दा बढी नामको सूची बनाएको छ ।

कांग्रेसको कोशी प्रदेश समितिले ६३ जनाको नाम सिफारिस गर्दा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाका लागि छुट्टै सिफारिस नोट पठाएको थियो ।

नेकपा माओवादी केन्द्र कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोका अनुसार प्रदेशबाट १० जना महिलाले आकांक्षा राखेका छन् । उनका अनुसार लक्ष्मी न्यौपाने, चम्पा कार्की, लता न्यौपाने, ममता राजवंशी, कृष्णकुमारी राईलगायतले आकाक्षा राखेका छन् । त्यस्तै अन्यतर्फ अजम्बर काङमाङ, टंक गिरी र भोगेन्द्र यादवलगायतको नाम संकलन भएको छ ।

नेकपा एमालेले भने नाम सिफारिस गर्ने विषयमा छलफल गरेको छैन । एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले २० पुसभित्र नाम सिफारिस गर्ने गरी आन्तरिक छलफल भइरहेको बताए । प्रदेश कमिटीले आकांक्षीका विषयमा छलफल गरिरहेको बताउँदै उनले छलफलपछि नाम सिफारिस गर्ने जानकारी दिए । कोशी प्रदेशमा राष्ट्रिय सभाका लागि स्थानीय तहका २७४ र प्रदेशका ९३ सांसद गरी जम्मा ३६७ मतदाता छन् ।

कोशीमा एमालेको ४ हजार २१०, नेपाली कांग्रेसको ३ हजार ७२२, माओवादी केन्द्रको १ हजार २७८, एकीकृत समाजवादीको ३४५, जनता समाजवादीको १२९, राप्रपाको ३९४ र स्वतन्त्रको ५७ मतभार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?