+
+

परिवारको ऋण तिर्न कोरिया जान्छु भन्थे, बालकुमारीमा मारिए

पुष्पराज चौलागाईं पुष्पराज चौलागाईं
२०८० पुष १३ गते २१:१२

१३ पुस, काठमाडौं । ‘भाइलाई गोली लाग्यो, छिट्टो यता आइजो’ सजन रावतलाई एक जना साथीले फोन गरे । सजन बालकुमारीस्थित ईपीएस कोरिया शाखा अगाडि प्रदर्शनस्थल नजिकै सुरक्षित स्थानमा थिए ।

काकाका छोरा सुजनको खबर सुनेर उनी भीड भएतिर दौडिए, दुईपटक चक्कर लगाएपछि सडक पारि भाइ पछारिइरहेको भेटे । ‘म पुग्दा भाइ सुजन सडकमा छट्पटाइरहेको थियो, कोहीले छातीमा थिचिरहेका थिए’, उनले भने, ‘शरीरमा निलो डाम देखिइरहेको थियो ।’

उनीहरुले उद्धार गरेर २३ वर्षीय सुजन रावतलाई मध्याह्न १२ः४० तिर अचेत अवस्थामा किष्ट मेडिकल कलेज पुर्‍याए । यद्यपि, १ः१७ बजे चिकित्सकहरुले उनको मृत्यु भएको घोषणा गरे ।

सुरुमा उनको गोली लागेर मृत्यु भएको प्रहरीले बताए पनि चिकित्सकहरुले शरीरमा गोलीको चोट नदेखिएको बताए । अस्पतालका ‘चिफ अफ अपरेसन’ अमिस पाठकका अनुसार अस्पताल ल्याउने वित्तिकै चिकित्सकहरुले तत्काल सीपीआर गरेका थिए । तर, बचाउन सम्भव भएन ।

‘गोली लागेको जस्तो देखिने शरीरमा कुनै चोट छैन, छातीमा निलो दाग छ’ उनले अनलाइनखबरसँग भने, ‘लठ्ठी वा अश्रु ग्यास पड्किँदा पनि केही भएको हुनसक्छ ।’ कतिपयले प्रहरीले बन्दुकको बिँडबाट हान्दा समेत छातीमा गहिरो चोट लागेकाले मृत्यु भएको हुनसक्ने आशंका गरेका छन् ।

यद्यपि, मृत्युको कारण पोष्टमार्टम रिपोर्ट आएपछि मात्र खुल्नेछ ।

भाषा पढेर दाइ भेट्न जाँदा मारिए

दहचोकबाट बिहान सुजनसहित चार जना कोरियन भाषा अध्ययनका लागि निस्किएका थिए । उनका दाइ सजन चाहिँ कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा फारम भर्न बालकुमारीतिर लागेका थिए ।

सुजसहित चार जना भाषा बढ्न बागबजार गएका थिए । अरु दिनजस्तो उनी फर्किएर घरतिर लागेनन् । दाइ सजनलाई भेटेर घुम्न जाने योजनासहित बालकुमारीतिर गए ।

तर, बालकुमारीमा उनी पुग्नुअघिबाटै तनाव सुरु भइसकेको थियो । कोरियामा पानी जहाज बनाउने काम (सिप बिल्डिङ) को परीक्षामा सहभागी भएकाले उत्पादनमुलक क्षेत्रका लागि पनि परीक्षा दिन पाउनुपर्ने माग राख्दै युवाहरु आक्रोश पोखिरहेका थिए । उच्च अदालतले परीक्षामा सहभागी गराउन आदेश दिएकाले उनीहरु त्यहाँ पुगेका थिए ।

तर, ईपीएस कोरिया शाखाले अदालतमा रिट दिएका १८ जनालाई मात्र बोलाएको थियो । दाइ सजनसहितलाई गेटबाट प्रवेश गर्नै नदिएपछि तनाव सुरु भएको थियो ।

आन्दोलनमा उत्रिएका युवाहरूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडी जलाएपछि प्रहरीले अश्रुग्याँस हान्यो, हवाइ फायर गर्न थाल्यो । अन्धाधुन्ध लाठी चार्ज र गोली प्रहार भइरहँदा उनी भुइँमा ढले । प्रदर्शनमै रहेका वीरेन्द्र शाहको प्रहरीको गोली लागेर पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भयो ।

‘भाइले तपाईँ भएको ठाउँमा आउँछु, घुमफिर गरेर फर्कौला भनेर करिब ११ बजेतिर फोन गरेको थियो’, सजनले भने, ‘तर त्यसको केही समयमै प्रहरीले भाइलाई कुटपिट गरिसकेको रहेछ ।’

सजन बिहीबार मात्रै इपीएस परीक्षाको फर्म भर्न काठमाडौं आएका थिए ।

पोहोर मात्रै बुबा विते

दैलेख स्थायी घर भएका २३ वर्षीय सुजन दुई हप्ता अगाडि मात्रै पहिलो पटक काठमाडौं आएका थिए ।

‘ढुंगामुढा हुन थालेपछि म अलि टाढा गएर बसेँ, घुमफिर गर्न आएको भाइलाई प्रहरीले कुटपिट गरेर मार्‍यो,’ सजन भन्छन्, ‘सरकारले बाटो हिँडिरहेको एक निर्दोष मानिसको हत्या गर्‍यो ।’

उनको बुझाइमा भाइको मृत्यु प्रहरीले बन्दुकको नालले हान्दा भएको हो । उनी भन्छन्, ‘छातीमा निलो डाम छ, त्यो बन्दुकको नालले हान्दा लागेको डाम हो ।’

सुजनका आफन्ती काका नन्द रावतका अनुसार, दैलेखको महाबु गाउँपालिका–६, रानीवनमा गएको वर्ष सुजनका बुबा वितेका थिए । ब्रेन ट्युमरका कारण उनको बुबा वितेपछि आमा नन्दाकुमारीले घरदेखि २० किलोमिटर टाढा दैलेख बजारमा रहेको सौरव भाडा पसल चलाउँदै आएकी थिइन् ।

मंसिर दोस्रो हप्ता बुबाको वर्षदिनको काम सरेर सुजन काठमाडौं छिरेका थिए । घरमा उनकी आमा नन्दकुमारी रावत, २४ वर्षीया दिदी झरना र १५ वर्षका भाइ सौरव रावत छन् ।

‘बुबाको उपचार खर्चमा लाखौं सकियो, व्यापार, व्यवसाय गर्दा ऋण लागेको छ,’ सजनले भने, ‘घरको जिम्मेवारी काँधमा आएपछि कोरिया जान भाषा पढ्न थालेको थियो ।’

उनका अनुसार, घरपरिवारमा दुई करोड रुपैयाँभन्दा बढी ऋण छ । त्यसैले एक वर्ष अगाडि नै सिभिल इन्जिनियर पास गरिसके पनि उनी कोरिया जाने ध्याउन्नमा थिए ।

दुई युवाको मृत्यु भएको केही घण्टामै उच्च अदालत पाटनले उनीहरूकै पक्षमा आदेश जारी गर्दै सबैलाई परीक्षामा सहभागी गराउन भनेको छ ।

‘हिजो यो आदेश आएको भए बालकुमारीमा आन्दोलन हुने थिएन । प्रहरी प्रशासनको अराजकताको कारण भाइको मृत्यु भयो’, सजन भन्छन्, ‘घरको जिम्मेवारी बोकेर हिँडेको निर्दोष भाइलाई सरकारले हत्या गर्‍यो ।’

लेखकको बारेमा
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?