+
+

लोकतन्त्रको पक्षमा प्रमुख दलको एक स्वर

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १६ गते २०:३४

१६ पुस, काठमाडौं । २०३३ साल पुस १६ गते भारतबाट मेलमिलापको नीति लिएर स्वदेश फर्केका संस्थापक नेता बीपी कोइरालालाई नेपाली कांग्रेसले यसपटक फरक तरिकाले सम्झियो ।

४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसमा नेपाली कांग्रेसले संविधान निर्माणमा सहभागी दलका नेताहरुलाई एकै मञ्चमा उभ्याएको छ ।

संसदको ठूलो दल कांग्रेसले प्रमुख प्रतिपक्ष दल नेकपा एमाले, सरकारको नेतृत्वकर्ता माओवादी केन्द्र र सत्ता साझेदार दलहरु एकीकृत समाजवादी, जनता समाजवादी, लोकतान्त्रिक समाजवादी, नेपाल समाजवादी पार्टी उक्त कार्यक्रममा सहभागी थिए ।

‘सबै पार्टीहरु एकठाउँमा बस्ने संस्कार छ । अरु देशमा यस्तो हुँदैन’, कांग्रेस सभापति शेरबहादुर देउवाले भने, ‘प्रतिस्पर्धाका बाबजुद बोलचाली, मेलमिलाप, भाइचारा अरु देशमा अत्यन्तै कम छ ।’

लोकतन्त्रको पक्षमा एकैबोली

उक्त कार्यक्रममा बोल्ने नेताहरुले पछिल्लो समय राजतन्त्र पक्षधर शक्तिले गरिरहेको गतिविधिबारे कुरा उठाए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवाले राजतन्त्र फर्कने सम्भावना नरहेको दाबी गरे ।

प्रधानमन्त्री प्रचण्डले लोकतन्त्र विरोधी भाष्य बनाउने जमर्को भइरहेको र त्यसलाई आफूले दुस्साहस भन्दै आएको बताए । लोकतान्त्रिक गणतन्त्र भन्दा राम्रो प्रणाली अहिलेसम्म मानव जातिले विकास नगरेको प्रचण्डले दाबी गरे । लोकतान्त्रिक गणतन्त्र लागु गर्दा दलहरुबाट कमजोरी भएको भने उनले स्वीकारे । ‘हामी सबैले आत्मसमीक्षा गर्नैपर्ने भएको छ । कहाँ हामी चुकेका छौं ?’, प्रचण्डले भने ।

कांग्रेस सभापति देउवाले लोकतान्त्रिक गणतन्त्रको विपक्षमा वातावरण बनाउन लागिएको बताए । ‘लोकतन्त्रको विकल्प अझ राम्रो लोकतन्त्र हो । गणतन्त्रको विकल्प हुनै सक्दैन’, देउवाले भने ।

प्रमुख प्रतिपक्षी दलका नेता ओलीले राजतन्त्रमा राष्ट्रियता बलियो नभएको बताए । ‘राजा हुँदा देश बच्ने भए सिक्किममा राजा थिए त । देश बचाउने जनताले हो कि राजाले हो ?,’ ओलीले भने,‘राजतन्त्रको बहस अब आवश्यक नै छैन । दरबार हत्याकाण्डकै बेला सिध्या हो । हामीले पर्याप्त र उपयुक्त कदम नचालेर कमजोरी गरेको हुनाले अलि दिन एउटा डमी राजतन्त्र चल्यो । तमासा देखायो त्यसले ।’

राजतन्त्रले २५० वर्ष नेपाली जनतालाई चुसेर गरिब बनाएको ओलीले आरोप लगाए । संवैधानिक राजतन्त्रको वकालत गर्नेहरुले संवैधानिक राष्ट्रपति देख्नुपर्ने उनको भनाइ छ । ‘सेरेमोनियल त रामचन्द्रजी हुँदै हुनुहुन्छ त । अनि के गर्छ त त्यो राजाले चाहिं ?’ ओलीले सोधे ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राजतन्त्रलाई राँके भूतको संज्ञा दिए ।

बालकुमारी घटना गम्भीर

शुक्रबार बालकुमारीमा दुई युवकको मृत्यु हुने गरी भएको घटनालाई नेताहरुले गम्भीर भएको बताए । प्रधानमन्त्री प्रचण्डले उक्त घटना सामान्य नरहेको बताए । ‘बालकुमारी घटना सामान्य छैन । जस्तो देखिएको छ । देखिएजस्तो अवस्था छैन’, प्रधानमन्त्री प्रचण्डले भने, ‘त्यो भित्र अर्कै केही छ भन्ने मैले अनुभूत गरेको छु । लोकतन्त्र र गणतन्त्रबीचको लडाईको डिजाइन त कतै छैन ?’

एमाले अध्यक्ष ओलीले भने युवाहरुको प्रदर्शनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला पुग्नु गलत भएको बताए । ‘मन्त्री किन हुलमा जान पर्‍यो? थुप्रै प्रश्न उठेका छन् । गोली मात्रै चलाएको होइन नि, बन्दुकको कुन्दाले यसरी हानेको छ कि मान्छे घुक्रुक्कै मरेको छ’, ओलीले सरकारमाथि प्रश्न उठाए ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पनि युवाहरुको प्रदर्शनमा मन्त्री झण्डा हल्लाउँदै जानु अनुपयुक्त भएको बताए । ‘परीक्षा दिन पाउनुपर्छ भनेर विद्यार्थीले भनिरहँदा झण्डा हल्लाउँदै मन्त्रीजी त्यहाँ के वार्ता गर्न जानुभएको थियो ?’ शर्माले प्रश्न गरे ।

आफ्नो पार्टीबाट मन्त्री बनेका ज्वालाका विषयमा नेताहरुले प्रश्न उठाएपछि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले स्पष्टीकरण दिए । बालकुमारीमा पार्टी बैठक चलिरहेको र मन्त्री त्यहाँबाट निस्कँदा बाहिरी सूचना नपाएकाले घटना हुन पुगेको उनले बताए । ‘सरकारी कामको सिलसिलामा उहाँ बैठकबाट बाहिर निस्कनुभएछ । त्यस्तामा फस्नुभएको हो’, नेपालले भने, ‘सम्भवतः सूचनाको ग्याप रहन पुग्यो ।’

विश्वप्रकाशलाई ओलीको व्यङ्ग्य

एमाले अध्यक्ष ओली भन्दा अघि बोलेका कांग्रेस महामन्त्री शर्माले भ्यूटावरको विषय उठाएका थिए । ओली लक्षित शर्माको बोली थियो, ‘भूइचाँलो आउँदा घर नभत्कियोस् भनेर एउटा बलियो घर बनाउन सकेनौं । अग्ला अग्ला भ्यू टावरहरु खडा गर्नतिर लाग्यौं ।’

ओलीले भने एकता र मेलमिलापको दिनमा बोलाएर भाटे कारबाही गरेको भन्दै व्यङ्ग्य गरे । ‘अग्ला घर किन बनाइस् ? कलकत्ता जान गंगाको बाटो किन बनाइस् ? ट्रक नै कुदाउनुपर्ने ठाउँमा पाइपलाइन अमलेखगञ्जमा किन ल्याइस्’, शर्मालाई ओलीको व्यङ्ग्यात्मक जवाफ दिए, ‘बयलगाढा चलाइराखिएको थियो । हुलाकीमार्ग किन बनाइस् ? भनेर उहाँले आफ्नो प्रचलित शैलीमा लर्लकार्नु भयो ।’

शान्ति, लोकतन्त्र, सुशासन, विकास लगायतका आधारभूत विषयमा मेलमिलाप गर्न एमाले तयार रहेको ओलीले सुनाए ।

माधव–बाबुरामको मत बाझियो

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. भट्टराईले नागरिकले सुशासन र समृद्धिको फल पाउन नसकेको भन्दै शासकीय स्वरुप र निर्वाचन प्रणाली बदल्नुपर्ने बताए । उनले जर्मनीमा जस्तै प्रमुख दलको संयक्त सरकार, स्वीटजरल्याण्डको जस्तै पूर्ण समानुपातिक प्रणाली र प्रत्यक्ष राष्ट्रपति प्रणालीमध्ये एकमा जानुपर्ने मत राखे ।

तर सत्ता साझेदार दल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भट्टराईको तर्कको खण्डन गरे । प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री निरकुंश हुने नेपालले दाबी गरे ।

प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली धेरै देशमा तानाशाही भएको उल्लेख गर्दै नेपालले भने,‘संसारका धेरै देशमा राष्ट्रपति तानाशाही मैले देखेको छु । त्यसले त्यो देशका जनतालाई वाक्क दिक्क बनाएको छ । संसदीय प्रणालीको विकल्प समुन्नत संसदीय प्रणाली हुनसक्दछ । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणाली पनि हुन सक्दैन ।’

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संविधान निर्माणकर्ता दलहरुकै कार्यशैलीले प्रणालीप्रति प्रश्न उठेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?