+
+

होटल व्यवसायलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा वर्गीकरण गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १९ गते २०:२३

१९ पुस, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तरगतको पर्यटन तथा हवाई यातायात समितिले कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ समक्ष होटल व्यवसायलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा वर्गीकरण गर्न माग गरेको छ ।

होटल क्षेत्रले ठूलो पूँजी लगानी गरी सोही अनुरुप रोजगारी दिनुका साथै अर्थतन्त्रमा टेवा दिने भन्दै सो क्षेत्रलाई उच्च प्राथमिकता दिँदै उद्योग सरहको सेवा सुविधा प्रदान गर्न माग गरेको हो ।

महासंघका उपाध्यक्ष हेमराज ढकाल र पर्यटन तथा हवाई उड्यन समितिका सभापति देशबन्धु बस्नेत (अजित) को नेतृत्वमा गएको उक्त प्रतिनिधिमण्डलले होटल व्यवसायले अर्थतन्त्र र गन्तव्य विकासमा विशेष योगदान पुर्‍याउने होटल क्षेत्र देशको गरिमा समेत रहेको भन्दै महत्वपूर्ण क्षेत्रलाई ‘औद्योगिक व्यवसाय ऐन २०७६’ मा पर्यटनमा मात्र वर्गीकरण गरिएको भन्दै अबका दिनमा राष्ट्रिय प्राथमिकता प्राप्त उद्योग क्षेत्रमा समावेश गराउन आग्रह गरेको हो ।

यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रायले मन्त्रीस्तरीय निर्णय गर्दै पर्यटनमूलक क्षेत्रमा रहेको ठूला तारे होटललाई औद्योगिक व्यवसाय ऐन २०७६ अनुरुप राष्ट्रिय मान्यता प्राप्त उद्योगको रुपमा वर्गीकरण गरिने भन्दै कानुन मन्त्रालय, अर्थ र उद्योग मन्त्रालयसँग राय माग गरेको थियो । सोही अनुरुप उद्योग मन्त्रालयले सचिव स्तरीय निर्णय गर्दै सहमति प्रदान गरिसकेको छ ।

अर्थले पनि राय पठाउने तयारी गरेको छ । महासंघले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ मा विदेशी ब्राण्डहरुले रोयल्टी वापत कूल बिक्रीको ५ प्रतिशत भन्दा बढी रोयल्टी शुल्क लैजान नपाउने व्यवस्था भएको हुँदा सो सम्बन्धमा समेत सहजीकरण गरिदिन समेत माग गरेको छ ।

हाल ऐनमा विदेशी ब्राण्डहरुले रोयल्टी वापत कूल बिक्रीको ५ प्रतिशत भन्दा बढी नहुने गरी मात्र रोयल्टी लैजान पाउने प्रावधानले मुलुकमा अन्तरराष्ट्रिय होटल रिसोर्टको सञ्चालन हुन कठिन रहेको भन्दै सो सम्बन्धमा तत्काल सहजिकरण गरिदिन माग गरेको छ ।

साथै अन्तर्राष्ट्रिय ब्राण्डका होटलहरुले ५ प्रतिशतभन्दा कम मूल्यमा सञ्चालन गर्न नचाहने हुँदा विदेशी लगानी नेपाल भित्रिन तयार नरहने र हाल सञ्चालनमा रहेका होटलहरुबाट पनि बाहिरिने अवस्था सिर्जना भएको महासंघले बताएको छ ।

होटल व्यवसायको सम्बन्धमा उक्त समितिका सभापति देशबन्धु वस्नेत (अजित)ले होटल व्यवसाय सम्बन्धी विभिन्न संघ, संस्थाहरुबाट आएको सुझावका आधारमा प्रतिवेदन तयार परेर यसअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा समेत ज्ञापनपत्र बुझाएका थिए ।

सोही अनुरुप उद्योग मन्त्रालयले कात्तिक अन्तिम साता मन्त्रीस्तरी निर्णय गर्दै रोयल्टीमा देखिएको समस्या समाधानका लागि समेत ऐन परिमार्जन गर्ने निर्णय गरिसकेको छ ।

साथै उद्योग मन्त्रालयले अर्थ मन्त्रालयलाई १ पुसमा पत्र लेख्दै होटल व्यवसायलाई पर्यटनमूलक उद्योगको वर्गमा पर्ने तारे होटललाई राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगमा समावेश गर्नेगरी औद्योगिक व्यवसाय ऐनमा थप गर्न राय माग गरेको थियो ।

सोही अनुरुप महासंघले यस अघि अर्थ मन्त्री डा. प्रकाशशरण महतलाई भेटी होटल क्षेत्रले ठूलो पूँजी लगानी गरी लाखौंलाई रोजगारीको अवसर प्रदान गर्नुका साथै राज्यमा ठूलो परिमाणमा विदेशी मुद्रा आर्जन गरी मुलुकको कुल गार्हस्थ उत्पादनमा समेत टेवा भन्दै सरकारको तर्फतबाट नीतिगत तहमा सहजीकरण गरिदिनुपर्ने बताएका थिए ।

भेटमा कानुन मन्त्री गुरुङले विदेशी पर्यटक भित्राउने ठूला तारे होटललाई उच्च प्राथमिकता साथ उद्योगको रुपमा समावेश गर्न आफूले पहल गर्ने बताए । उद्योग व्यवसाय सञ्चालनमा सरकारले आवश्यक सहयोग गर्ने भन्दै व्यवसायीको मागका सम्बन्धमा आफू सकारात्म रहेको समेत उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?