+
+

‘हेभिवेट’को चर्चाका बीच फुत्किसकेको अवसर किरणको पोल्टामा

‘जित्नका लागि धेरै तिकडम गर्न जान्नुपर्ने रहेछ, जुन मैले यसअघि नगर्दा जित्न सकिनँ,’ किरणबाबुले भने, ‘निरन्तरको लगाव र निष्ठा जोगाएरै राखेको छु, जुन अब राष्ट्रिय सभामा पुगेर जनताको पक्षमा लगाउँछु ।’

अमृत सुवेदी अमृत सुवेदी
२०८० पुष २४ गते ९:१४

२४ पुस, पोखरा । गण्डकीमा राष्ट्रिय सभाको ३ सिटका लागि हुने निर्वाचनमा १ सय ७५ जनाको नाम सिफारिस गरेर केन्द्रको जिम्मा लगाएका कांग्रेस प्रदेश पदाधिकारी आफैं टिकट ल्याउन काठमाडौं धाइरहेका थिए ।

राष्ट्रिय सभाको अध्यक्षको चर्चा गरिएका, पटक-पटक मन्त्री, उपप्रधानमन्त्री र पार्टीको उपसभापतिसमेत रहेका गोपालमान श्रेष्ठ गण्डकीबाटै प्रमुख दाबेदार थिए । पूर्व सभामुख, कांग्रेस महामन्त्री तारानाथ रानाभाटलाई यसपटक सहानुभूतिको टिकट मिल्ने चर्चा पनि उत्तिकै थियो ।

गण्डकीबाट पूर्व तथा हालका कांग्रेसका केन्द्रीय सदस्यहरु र यसअघिका चुनावमा सफल नभएका, टिकट नपाएकाहरुसमेत राष्ट्रिय सभा छिर्ने योजना बुनिरहेका थिए । संसदीय राजनीतिमा सधैं हार बेहोरेका कांग्रेस गण्डकी सभापति शुक्रराज शर्मा आफैं एक पटक जसरी सांसद हुन मरिमेटेर लागेका थिए । तर, कांग्रेस सभापति देउवा भने कास्कीका नेता सोभियतबहादुर अधिकारीलाई टिकट दिन चाहन्थे ।

सोभियतबारे लगभग पक्का नै भइसकेपछि शेखर कोइराला-गगन थापा समूहले आपत्ति जनाएका थिए । ‘मलाई तपाईंकै नाम पक्का हो भनेर नेताहरुले भन्नुभएको थियो ।

बेलुकासम्म पनि मेरो नाम पक्का नै थियो । तर बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्ममा फेरियो,’ सोभियतबहादुरले अनलाइनखबरसँग भने ।

शेरबहादुर देउवा नेपाल विद्यार्थी संघको सभापति हुँदाका केन्द्रीय सदस्य हुन् सोभियतबहादुर । उनले कांग्रेस विभाजन हुँदा देउवा नेतृत्वको प्रजातान्त्रिक कांग्रेसलाई साथ दिएका थिए ।

उनले २०७० को चुनावमा कास्की क्षेत्र नम्बर ३ बाट टिकट पाएका थिए तर नेकपा एमालेका उम्मेदवार रवीन्द्र अधिकारीसँग हार बेहोरेका थिए । अरू बेला भने उनले चाहेर पनि टिकट पाएका थिएनन् ।

यसपटक आफ्ना निकट पात्र सोभियतबहादुरलाई राष्ट्रिय सभामा लैजान चाहन्थे देउवा । तर उनको नाममा शेखर-गगन समूह असहमत भएपछि दोस्रो विकल्प खोजिएको थियो ।

कांग्रेस स्रोतका अनुसार सोभियतको नाममा सहमति नजुटेपछि दोस्रो विकल्पको रुपमा शुक्रराज शर्माको नाम बैठकमा आएको थियो । तर, कांग्रेस सभापति देउवाले नै शुक्रराजको नाम आउनेबित्तिकै अर्को नाम भन्न लगाए । शुक्रराजको पनि विकल्पमा बिहानीपख गोरखाका किरणबाबु श्रेष्ठको नाम देउवाइतर समूहबाट आयो ।

हालै सकिएको कांग्रेस गण्डकी प्रथम अधिवेशनबाट शुक्रराजसँग झनै बिच्चिकिएका देउवा किरणबाबुको नामप्रति बरु नरम बने र सहमति जनाए । यसरी अर्कैको नाममा झण्डै गइसकेको टिकट हात पार्दै अघिल्ला चुनावमा बेहारेको हारलाईसमेत बदलेर किरण राष्ट्रिय सभा छिर्न ढोकामै उभिएका छन् ।

यसअघि जनताबाट अनुमोदन हुन नपाएका किरणका निम्ति पार्टीभित्रैको गुटकै कारण भाग्यको ढोका खुल्यो । किरणबाबु त्यस्ता पात्र हुन्, जो कहिले पार्टी भित्रैको गुटकै कारण पार्टी राजनीतिमा पछारिए त कहिले ‘हेभिवेट’ प्रतिस्पर्धीका कारण संसदीय चुनावमा पराजय भोगे ।

निरन्तर निष्ठाको राजनीतिकै कारण यसपटक भने राष्ट्रिय सभाको ढोका खुलेको उनी बताउँछन् । प्रदेशमा एकसेएक नेताको चर्चा र रस्साकस्सीका बीच राष्ट्रिय सभामा जित सुनिश्चितजस्तै भएको टिकट हात पारेपछि किरणले आत्ममूल्यांकनसमेत गरेका छन्

अघिल्लो साल भएको निर्वाचनमा गण्डकी प्रदेश सभामा समानुपातिकको बन्द सूचीमा १ नम्बरमा सिफारिस भएको नाम एकाएक ३ नम्बरमा पुग्यो र विद्रोहको चेतावनी दिँदा पनि उनको जोर चलेन । तर, यसपटक भने राष्ट्रिय सभामा नसोचेको टिकट हात पारे र गठबन्धनको बलमा सदन छिर्ने धोको पूरा गर्दैछन् ।

‘के होला-होला भन्ने थियो । बिहान ५ बजेमात्र ल तपाईंको टिकट पक्का भयो, मनोनयन दर्ताको तयारी गर्नू भनेर पार्टीबाट खबर आयो,’ किरणबाबुले अनलाइनखबरसँग भने, ‘निरन्तर निष्ठाको राजनीति गरेपछि एक दिन पालो आउँदो रहेछ ।’

२०३४ सालमा गठन भएको कांग्रेसको पहिलो जिल्ला कार्यसमितिको सदस्य किरणले नेपाल विद्यार्थी संघको राजनीति भने २०२८ सालबाटै गरेका थिए । गोरखा कांग्रेसको पहिलो सभापति उमानाथ देवकोटा थिए । त्यसपछि चिरञ्जीवी वाग्ले बने । चिरञ्जीवीको कार्यसमितिमा पनि उनी थिए ।

किरणको राजनीतिक उतारचढाव

वीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईसँग संगत गरेका र अहिलेको नयाँ पुस्ताका नेतासम्म प्रतिस्पर्धा गरिरहेका किरणको राजनीति भने सरल रेखामा हिँडेन । २०३६ सालको जनमत संग्रह, २०४२ सालको सत्याग्रहमा जेल जीवन भोगेका किरण गोरखा नगरपालिका भएपछि भएको निर्वाचनमा कांग्रेसबाटै पहिलो पटक जनताका बीचमा गएका थिए ।

२०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा पहिलो पटक किरणले हार बेहोरे । २ पटक गोरखा कांग्रेसको सचिव बनेका किरणले सभापति बन्न भने पाएनन्, हरि घले सभापति बने । २०६४ सालको चुनावमा टिकटको दाबी गरे पनि उनी पाखा लागे ।

गोरखामा देउवा समूहको बोलवाला भएका बेला किरण भने कोइराला समूहमा थिए, जसका कारण जिल्लाभित्रै पनि उनी अप्ठेरोमा पर्थे ।

२०७० सालमा गोरखा-१ मा किरणले टिकट त पाए तर प्रतिस्पर्धी थिए २०६४ सालमा देशमै सर्वाधिक मतान्तरले चुनाव जितेका डा. बाबुराम भट्टराई ।

बाबुराम चुनाव जितेर दोस्रो पटक संविधान सभा छिरे, जनताबाट चुनिने अवसरबाट किरण दोस्रो पटक पनि चुके ।

गत निर्वाचनमा किरणको नाम गण्डकी प्रदेश सभामा जनजातितर्फ १ नम्बरमा सिफारिस भएको थियो । तर, पछि केन्द्रले संशोधन गर्दै ३ नम्बरमा राखेपछि असहमति जनाउँदै उनले सभापति शेरबहादुरलाई पत्र नै लेखेका थिए । ‘त्योबेला नै म सांसद भइसकेको हुने थिएँ । १ नम्बरको व्यक्तिलाई ३ नम्बरमा पुर्याइयो । पार्टीभित्रैबाट पाखा परें,’ किरणले भने, ‘असहमति जनाए पनि पार्टी राजनीति छोडिनँ ।’

उनी काठमाडौं बसेर राजनीतिको अभ्यास पनि नगरेका होइनन् तर चुनावमा धरातल नै चाहिने भएकाले गोरखा पनि छोडेनन् । कांग्रेसको १३ औं महाधिवेशनमा गोरखा कांग्रेसको नेतृत्व नपाए पनि १४ औं महाधिवेशनमा भने पहिलो पटक भएको प्रदेश कार्यसमितिको महामन्त्रीमा निर्वाचित हुन सफल भए ।

निरन्तर निष्ठाको राजनीतिकै कारण यसपटक भने राष्ट्रिय सभाको ढोका खुलेको उनी बताउँछन् । प्रदेशमा एकसेएक नेताको चर्चा र रस्साकस्सीका बीच राष्ट्रिय सभामा जित सुनिश्चितजस्तै भएको टिकट हात पारेपछि किरणले आत्ममूल्यांकनसमेत गरेका छन् ।

‘मेरा पनि कमीकमजोरी त होलान् तर राजनीतिमा, चुनावमा जित्नका लागि धेरै तिकडम गर्न जान्नुपर्ने रहेछ, जुन मैले यसअघि नगर्दा जित्न सकिनँ,’ राष्ट्रिय सभा निर्वाचनका लागि सोमबार मनोनयन दर्ता गरेपछि उनले भने, ‘निरन्तरको लगाव र निष्ठा जोगाएरै राखेको छु, जुन अब राष्ट्रिय सभामा पुगेर जनताको पक्षमा लगाउँछु ।’

अरु उम्मेदवार कस्ता ?

राष्ट्रिय सभामा अंक गणितका हिसाबले गठबन्धनबाट जित नजिक रहेका उम्मेदवारहरु अघिल्लो चुनावमा जनताबाट अनुमोदन नभएकादेखि दलित आन्दोलनमा रहेकासम्म छन् ।

जनयुद्धमा श्रीमान गुमाएर आफू मुश्किलले बाँचेर २०६४ सालमा प्रत्यक्ष चुनाव उठेर हार बेहोरेकी माओवादीकी मनरुपा शर्मा त्यसयताका हरेक चुनावमा समानुपातिक सूचीमा थिइन् ।

माओवादी पर्वत संयोजकसमेत रहेकी शर्माले यसपटक भने गठबन्धनबाट राष्ट्रिय सभामा टिकट पाएकी छन् र अब महिला तथा पिछडिएका वर्गको आवाज उठाउने बताउँछिन् ।

विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका तनहुँ ब्यासका पदमबहादुर परियारले अपांगता भएको भनेर कहिल्यै हार मानेनन् । पोलियोका कारण खुट्टामा समस्या भए पनि उनले अध्ययन, राजनीति र अपांगता अधिकारको लडाईं निरन्तर लडे । अहिले ब्यास नगर समितिको सदस्यसमेत रहेका उनै पदमबहादुरलाई गठबन्धनबाट राष्ट्रिय सभामा टिकट मिलेको छ ।

जीवनको लामो कालखण्ड एमाले राजनीतिमा बिताएका, जिल्ला अध्यक्ष, अनुशासन आयोग, सुकुम्वासी आयोग लगायतमा काम गरेका स्याङ्जाका चक्रबहादुर पराजुली अन्यबाट उम्मेदवार छन् ।

एमालेको विद्यार्थी, अनेमसंघ हुँदै पहिलो जिल्ला अध्यक्ष भएर इतिहास रचेकी सम्झना देवकोटालाई महिलाबाट उम्मेदवार छिन् । गोरखाको उममेयर र मेयरमा दुई पटक चुनावमा हार बेहोरेकी सम्झना यसपटक राष्ट्रिय सभामा उठेकी छन् ।

राजनीति र यातायात व्यवसायलाई सँगै लगेका मुस्ताङका हेमन्द्र शेरचन अपांगता/अल्पसंख्यकबाट उम्मेदवार बनेका छन् । अंकगणितका हिसाबले गण्डकीबाट गठबन्धन जितनजिक छन् तर एमालेका उम्मेदवारहरुले भने राजनीतिमा अंकगणितमात्रै ठूलो नहुने बताउँछन् ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?