+
+

बालेनलाई खुलापत्र लेख्दै कृष्ण मल्ल र सविन श्रेष्ठले गरे नगर प्रहरीको व्यवहारप्रति गुनासो

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २५ गते १६:१४

काठमाडौं । सार्वजनिक ठाउँमा कुकुर, बिरालोलाई दिसा-पिसाब गराउन नपाइने नियम ल्याएर काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह चर्चामा छन् ।

मंगलबार बिहानदेखि आफ्ना घरपालुवा जनावरलाई सार्वजनिक ठाउँमा दिसा-पिसाब गराउनेलाई महानगर प्रहरीले जरिवाना पनि तिराइरहेका छन् । सो क्रममा नगर प्रहरीले त्यस्तो गराउने कुकुरका धनीलाई कारवाही गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल छ । कारवाहीको क्रममा नगर प्रहरीले असभ्य र असहज भाषाको प्रयोग गरेको देखिन्छ ।

नगर प्रहरीको यस्तो हर्कतप्रति फिल्म कलाकारले पनि आपत्ति जनाएका छन् । चलचित्र कलाकार संघका महासचिव तथा अभिनेता सविन श्रेष्ठ र अग्रज अभिनेता कृष्ण मल्लले सामाजिक सञ्जालबाट मेयर बालेनलाई खुलापत्र लेख्दै नगर प्रहरीको कृत्यको विरोध गरिरहेका छन् ।

समाजसेवीको छवि बनाएका सविन बालेनका समर्थक हुन् । बालेनलाई जिताउन उनले उनी खुलेरै लागेका थिए । सविन लेख्छन्, ‘प्रिय बालेन सर, अहिले भर्खर कुकुर पालनसम्बन्धी मिडियाको भिडियो हेरियो र सरले लागू गरेको नियम र गर्नुभएको, गर्न खोज्नुभएको कार्य राम्रो छ र हाम्रो साथ पनि छ । हो, घरमा पालेको कुकुर अरुको घरआँगनमा, सार्वजनिक बाटोमा दिसा–पिसाब गराउन हुँदैन, त्यसमा दुईमत छैन । तर नगर प्रहरीज्यूहरुले बोल्ने भाषाप्रति आपत्ति मात्र हो । ‘तपाईं धेरै नबोल्नु, खुरुक्क, बढ्ता नहुनुस् आदि इत्यादि ।’ कुकुर डुलाउन आउने आमा, दिदी समान उमेरका थिए । त्यही कुरा र नियम सभ्य, भद्र भाषामा पनि गर्न सकिन्थ्यो भन्ने मात्र हो, बाँकी महानगरपालिका हजुरको हो । हजुरको जो आज्ञा ।’

अभिनेता मल्ल लेख्छन्, ‘कुकुर पाल्नु, जनावरलाई माया गर्नु यो सौख पनि हो, संस्कार पनि हो । मेरो घरमा पनि तीनवटा कुकुर छन्, र म मान्छेसरह माया र व्यवहार गर्छु । म घरबाहिर कुकुर डुलाउँदिन, घरकै कम्पाउण्डमा घुम्छन् । आज कुकुर डुलाउँदा नगर प्रहरीले समातेको समाचार र दृश्य देखें । शौच गराएकाले समातिएका हुन् ? वा डुलाउँदा मात्र समातिएका हुन् ? स्पष्ट भएन । विदेशतिर कुकुरलाई बाहिर डुलाउने प्रचलन छ, तर कुकुरले शौच गरेमा स‍ोही व्यक्तिले सफा गर्न प्लास्टिकको थैलो पनि बोकेर हिंड्छन् । महानगरले यसबारेमा पूर्वसूचना गरेर कारवाही गरेको हो कि अपर्झट कारवाही गरेको हो, अलि स्पष्ट भएन । तर सार्वजनिक स्थलमा फोहोर गर्ने अधिकार चाहिं कसैलाई पनि छैन । कारवाही जरुरी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?