+
+

नेपाल ए टिम बनाउने आधार प्रधानमन्त्री कप क्रिकेट

नमिता दाहाल नमिता दाहाल
२०८० पुष २७ गते १८:४५
विजेताले पाउने ट्रफी ।

२७ पुस, काठमाडौं । घरेलु क्रिकेटको सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता प्रधानमन्त्री कप शनिबारदेखि सुरु हुँदै छ ।

माघ २० गतेसम्म चल्ने पुरुष प्रधानमन्त्री कप ५० ओभरको हुने छ र यसपटक प्रतियोगिताको फर्म्याट नयाँ छ । पहिलो पटक राउन्ड रोबिनमा हुन लागेको प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टिमले खेल्ने छन् ।

अघिल्ला सिजनमा प्रधानमन्त्री कपमा सहभागी टिमलाई २ समूहमा विभाजन गरेर खेलाइन्थ्यो । समूहका शीर्ष २ टिमले सेमिफाइनल खेल्थे ।

तर यसपटक १० टिमले राउण्ड रोबिनमा ९ खेल खेल्ने छन् । सबै टिमले एक अर्कासँग खेलेपछि शीर्ष २ टिमले फाइनल खेल्ने तालिका छ ।

धेरै खेल खेल्न पाउँदा टिमको साथसाथै खेलाडीलाई पनि प्रदर्शन सुुधार्ने मौका हुनेछ ।

प्रदेशका टिमहरुले विभागका टिमसँग र नयाँ खेलाडीले राष्ट्रिय टिमका खेलाडीसँग एउटै टिममा रहेर खेल्दा सिक्ने अवसर हुनेछ ।

घरेलु क्रिकेटलाई विकास गर्ने योजना अनुसार गतहप्ता सकिएको प्रधानमन्त्री महिला टी–२० कप पहिलो पटक राउन्ड रोबिनमा भएको थियो । जसमा महिला खेलाडीले धेरै खेल खेल्न पाएको र त्यसले आफूहरुको क्षमता विकासमा सहयोग पुगेको बताएका थिए ।

त्यसैले पुरुष प्रधानमन्त्री कप पनि राउण्ड रोबिनमा हुँदा यसले खेलाडीलाई फाइदा पुग्ने अपेक्षा राख्न सकिन्छ ।

यसपटक काठमाडौंका त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानका साथै भैरहवामा पनि प्रतियोगिताका खेल हुने छन् ।

नेपाल क्रिकेट संघ क्यानले काठमाडौं बाहिर पनि क्रिकेटलाई फैलाउने हेतुले प्रधानमन्त्री कपका ४६ मध्ये ११ खेल भैरहवा क्रिकेट मैदानमा गर्ने निर्णय गरेको हो । बाँकी फाइनलसहित १८ खेल कीर्तिपुरमा र १७ खेल मूलपानीमा हुने छन् ।

क्यानले प्रधानमन्त्री कपलाई नै आधार बनाएर यसका शीर्ष ४ टिमले खेल्ने एलिट कप आयोजना गर्ने घोषणा पनि गरेको छ ।

नेपाल ए टिम बनाउने आधार

क्यानले नेपालको ए टिमको संरचना तयार गर्न लागेकाले खेलाडीका लागि यो प्रतियोगिता एउटा मौकाका रुपमा पनि रहेको छ ।

क्यानको वार्षिक क्यालेण्डर सार्वजनिक गर्ने क्रममा नै सचिव पारस खड्काले प्रधानमन्त्री कप नेपालको ए टिम बनाउने मुख्य आधार रहेको बताएका थिए ।

हरेक टिमबाट राम्रो प्रदर्शन गर्ने खेलाडी र यू–१९ विश्वकप खेलेर आएका खेलाडीलाई मिसाएर नेपालले ए टिम बनाइने छ ।

यसअर्थमा प्रतियोगिता खेलाडीलाई आफ्नो स्तर मापन गरि ए टिमका लागि दाबेदारी दिने मौका हुनेछ ।

‘प्रधानमन्त्री कप ए टिम निर्माणको लागि मुख्य आधार हुनेछ,’ क्यानका सचिव पारस खड्काले भनेका थिए ।

१० टोलीबाट उत्कृष्ट खेलाडीलाई ए टिममा अटाउने र प्रशिक्षण तथा एक्सपोजरको मौका मिल्नेछ ।

२०२४ को क्यालेण्डरमा नेपालको ए टिमको लागि केही प्रतियोगिता क्यालेन्डरमा राखिएको छ । नेपाल ए टिमले १९ मार्चदेखि ३० अप्रिलसम्म आयरल्यान्डको ए टिमसँग खेल्ने तालिका छ ।

शीर्ष चारलाई एलिट ट्रफी

क्यानले प्रधानमन्त्री कपलाई नै आधार बनाएर यसका शीर्ष ४ टिमले खेल्ने एलिट कप आयोजना गर्ने घोषणा पनि गरेको छ ।

प्रधानमन्त्री कपको शीर्ष चार टिमले आगामी चैत–वैशाखमा एलिट ट्रफी खेल्न पाउने छन् ।

क्यानले प्रधानमन्त्री कपलाई निकै महत्व दिँदै यस प्रतियोगिताका शिर्ष ४ टोलीलाई फेब्रुअरी/मार्च/अप्रिलमा हुने लिग चरणका खेलहरु दुई दिवसीय हुनेछ भने फाइनल तीनदिवसीय हुनेछ ।

‘प्रधानमन्त्री कपको शीर्ष चारमा पर्दा अतिरिक्त खेल खेल्न पाउँछौं भन्ने होस् भनेर हामीले यसो गरेका हौं’, क्रिकेट संघका सचिव पारस खड्काले भने ।

चार टिमले अन्य टिमले भन्दा अतिरिक्त खेल खेल्ने मौका पाउने भएकाले प्रधानमन्त्री कपको महत्व अझ बढी हुने छ । शीर्ष चारमा अटाए अर्को प्रतियोगिता पनि खेल्न पाउने महत्व बुझेर प्रदेश क्रिकेट संघहरुले टिमलाई थप मजबुत बनाउन पहल गर्ने विश्वाससमेत छ ।

साढे २ करोड बजेट

प्रधानमन्त्री कप राउन्ड रोबिन फर्म्याटमा गरेपछि खेल संख्यासँगै आयोजना खर्च पनि बढ्नेछ । क्यानले प्रतियोगिता सम्पन्न गर्न साढे २ करोड रुपैयाँ बजेट लाग्ने अनुमान गरेको छ ।

क्यानले साढे २ करोड रुपैयाँ बजेट छुट्याएको क्यानले ५० लाख रुपैयाँ राष्ट्रिय खेलकुद परिषद राखेपबाट पाउने छ । कोषाध्यक्ष पदमबहादुर खड्का भन्छन्, ‘हामीले प्रतियोगिता सञ्चालनका लागि साढे २ करोड रुपैयाँ बजेट छुट्याएका छौं, जसमा ५० लाख रुपैयाँ राष्ट्रिय खेलकुद परिषदले दिनेछ भने २ करोड बजेट क्यानको हुनेछ ।’
एउटा टिमको बजेट २५ देखि ३० लाख रुपैयाँ बराबरको हुनेछ भने खेलाडीको लागि खाने बस्ने सुविधासहित १ हजार खेल भत्ता दिइने छ ।

काठमाडौं बाहिर पनि खेल राखेकाले खर्च बढी भएको कोषाध्यक्ष खड्काले बताए । ‘हामीले भैरहवामा पनि खेल राखेका छौं । केही सुलभ होला भन्दा झन खर्च बढी आइरहेको छ । जसका कारण प्रतियोगिताको बजेट भार बढी परेको हो’, उनले भने ।

हेर्नुहोस् खेल तालिका

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?