+
+

को हुन् लाल सागरमा हमला गरिरहेका हुथी विद्रोही ?

एजेन्सी एजेन्सी
२०८० पुष २८ गते १३:१७

इजरायल-हमास युद्धपश्चात् मध्यपूर्व अशान्त बनिरहेको छ र यमनको हुथी विद्रोही पनि यसमा जोडिइसकेको छ ।

लाल सागरमा हुथी विद्रोहीले कार्गो जहाजहरुमाथि रकेट तथा ड्रोन आक्रमण जारी राखेपछि त्यसले विश्वभरको आपूर्ति श्रृंखलालाई नै खल्बलाउने जोखिम बढिरहेको । र, यसैबेला अमेरिका र बेलायती नेतृत्वको सैनिकले यमनमा हवाई आक्रमण गरेको छ ।

इमनको अधिकांश क्षेत्रमा नियन्त्रण कायम गरिरहेको इरानी समर्थनको विद्रोही समूह हुथीले लाल सागरमा मालबाहक पानीजहाजमाथि आक्रमण नरोकेपछि पश्चिमी सैन्य कारबाही सुरु भएको हो ।

अष्ट्रेलिया, क्यानडा तथा नेदरल्याण्डस्को सहयोगमा अमेरिकी र बेलायती सैनिकहरुले शुक्रबार सबेरै यमनका विभिन्न १२ वटा ठाउँमा हवाई हमला गरेको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताए ।

त्यसक्रममा राजधानी साना तथा हुथी विद्रोहीको आधार इलाकाको रुपमा रहेको लाल सागरस्थित हुडेडा बन्दरगाह समेत पश्चिमा सेनाको निसाना बने ।

खासगरी हुथीको बन्दोबस्तीका सामानहरुका केन्द्र, वायु प्रतिरक्षा प्रणाली र हतियार गोदामहरुलाई लक्षित गरी आक्रमण गरिएको हो ।

हुथी विद्रोहीले किन लाल सागरका जहाजमाथि आक्रमण गरिरहेका छन् ?

अक्टोबर ७ मा इजरायल-हमासबीचको युद्ध सुरु भएपछि हुथी विद्रोहीले पनि आक्रमण सुरु गरेको हो ।

हुथी विद्रोहीले हमासलाई आफ्नो समर्थन रहेको घोषणा गर्दै इजरायलतर्फ जाँदै गरेका जुनसुकै पानी जहाजमाथि आक्रमण गर्ने बताएको छ । तर, हुथीको आक्रमणमा परेका लाल सागरका ती जहाजहरु सबै इजरायल जाँदै गरेका हुन वा होइनन् भन्ने चाहिं प्रष्ट छैन ।

नोभेम्बरमा हुथी विद्रोहीले उसको दाबी अनुसार इजरायली कार्गो जहाज कब्जा गरेको थियो । त्यसयता विद्रोहीहरुले धेरैवटा व्यवसायिक जहाजमाथि ड्रोन तथा ब्यालिस्टिक मिसाइलबाट आक्रमण गरिसकेका छन् ।

नोभेम्बर र डिसेम्बरको बीचमा लालसागरमा हुथी विद्रोहीको आक्रमण ५०० प्रतिशतले बढेको छ ।

आक्रमणको खतरा यतिधेरै बढेको छ कि विश्वका प्रमुख शिपिङ कम्पनीहरुले उक्त क्षेत्रमा जहाज चलाउन छाडेका छन् र डिसेम्बरको सुरुको तुलनामा हाल विमानशुल्क १० गुणाले बढेको छ ।

Two maps comparing how many container ships in November 2023 and January 2024 - with far fewer passing through the Red Sea in the latest image

भूमध्यसागरीय शिपिङ कम्पनी, मेक्क्रस, हापाग लोएड लगायतका प्रमुख शिपिङ कम्पनीका साथै पेट्रोलियम कम्पनी बिपी समेतले आफ्ना जहाजहरु लाल सागरबाट अन्यत्रै मोडेको बताएका छन् ।

यसबाट इन्धनको मूल्यवृद्धिका साथै आपूर्ति श्रृंखला बिग्रिने त्रास बढेको छ । विश्वमा सामुद्रिक मार्गबाट हुने कूल व्यापारको १५ प्रतिशत लाल सागर हुँदै जान्छ जुन स्वेज नहरबाट भूमध्यसागरसँग जोडिएको छ । युरोप र एसियालाई जोड्ने यो सबैभन्दा छोटो सामुद्रिक मार्ग हो ।

लाल सागरमा व्यवसायिक जहाजमाथिको आक्रमणको योजना बनाउने काममा इरान गहन रुपमा सहभागी भएको आरोप वाशिंटनले लगाएको छ ।

को हुन् हुथी विद्रोही ?

हुथी विद्रोही यमनको अल्पसंख्यक शिया मुस्लिम समुदाय जायदीको ससस्त्र विद्रोही समूह हो। संगठनका संस्थापक हुसेन अल हुथीको नामबाट यो विद्रोही संगठनको नामाकरण भएको हो ।

पहिले अन्सार अल्लाह (इश्वरका पक्षपातीहरु) भनेर चिनिने यो समूहको स्थापना सन् १९९० को दशकमा भएको हो । तत्कालीन यमनी राष्ट्रपति अली अब्दुल्लाह सालेह शासनको भ्रष्टाचारविरुद्ध लड्ने भन्दै यो सशस्त्र समूह जन्मिएको थियो ।

साउदी सेनाको साथ पाएका राष्ट्रपति सालेहले सन् २००३ मा हुथी विद्रोहीलाई उन्मूलन गर्ने प्रयास गरे, तर हुथीले सालेह र साउदी दुवैलाई परास्त गर्‍यो ।

सन् २०१४ देखि हुथी विद्रोही यमन सरकारविरुद्ध गृहयुद्धमा होमिएको छ । हुथीविरुद्ध यमन सरकारलाई साउदी अरब र यूएई नेतृत्वमा अरब मुलुकको गठबन्धनले सहयोग गरिरहेको छ ।

यमन सरकार तथा हुथीबीचको द्वन्द्वका कारण सन् २०२२ को सुरुवातसम्ममा तीन लाख ३७ हजारको मृत्यु भएको र ४० लाख मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ।

हुथी विद्रोहीले इजरायल, अमेरिका र पश्चिमा जगतविरुद्ध हमास र हेजबोल्लाहसँगै आफूलाई पनि इरानी नेतृत्वको प्रतिरोध ध्रुवको हिस्सा भएको घोषणा गरेको छ ।

हुथी विद्रोहीलाई कसले टेवा दिइरहेको छ ?

हुथी विद्रोहीले आफूलाई लेबनानी शिया विद्रोही समूह हेजबोल्लाह जस्तै भएको बताउने गरेको छ ।

अमेरिकी अनुसन्धान संस्था द कम्ब्याटिंग टेरोरिज्म सेन्टरका अनुसार सन् २०१४ देखि हेजबुल्लाहले हुथीलाई व्यापक रुपमा सैनिक विज्ञता तथा तालिम सहयोग गर्दै आएको छ ।

हुथीले इरानलाई पनि आफ्नो सहयोगी मान्दछ, किनकि साउदी अरब उनीहरुको साझा सत्रु हो ।

इरानले हुथी विद्रोहीलाई हतियार आपूर्ति गर्ने गरेको आशंका गरिएको छ र हुथीलाई पानी जहाजमा आक्रमणका लागि समर्थ गराउन इरानी खुफिया एजेन्सीको निकै महत्वपूर्ण भूमिका रहेको दाबी अमेरिकाको छ ।

Drone used in an attack on display in Abu Dhabi (file photo)

ह्वाइट हाउसस्थित राष्ट्रिय सुरक्षा प्रवक्ता एडि्रन वाट्सन भन्छन्, ‘लालसागरमा व्यवसायिक जहाजमाथि आक्रमणको योजना बनाउने काममा इजरायलको गहन सहभागिता रहेको कुरा हामीलाई थाहा छ । यस क्षेत्रमा अस्थीरता निम्त्याउने हुथीको क्रियाकलापमा दीर्घकालीन भौतिक सहयोग तथा प्रोत्साहन गर्ने इरानी कदमको निरन्तरता हो यो ।’

तर इरानले भने लाल सागरमा हुथीले गरिरहेका आक्रमणमा आफ्नो हात नरहेको जिकिर गरेको छ ।

साथै सन् २०१९ मा आफ्ना तेल कारखानामाथि हुथीले गरेको आक्रमणमा पनि इरानले क्रुज मिसाइल तथा ड्रोन सहयोग गरेको आरोप साउदी अरबको छ ।

हुथीले साउदी अरबमा छोटो दूरीका लाखौं मिसाइल प्रहार गरेको छ भने यूएईका विभिन्न निसानामा पनि आक्रमण गरेको छ । गाजामा युद्ध सुरु भएयता उसले इजरायलतर्फ ब्यालेस्टिक मिसाइल तथा ड्रोन आक्रमण गर्ने गरेको छ ।

हुथीलाई हतियार आपूर्ति गर्ने कार्य राष्ट्रसंघीय हतियार प्रतिबन्धको उल्लंघन हुने भएकाले इरानले हुथीलाई हतियार दिएको कुरा अस्वीकार गर्ने गरेको छ ।

यमनको कति क्षेत्रमा हुथीको नियन्त्रण छ ?

यमनको आधिकारिक सरकार त्यहाँको राष्ट्रपतीय नेतृत्व परिषद् हो । राष्ट्रपति अब्द्राबुह मन्सुर हादीले सन् २०२२ को अप्रिलमा उक्त परिषद्लाई आफ्नो अधिकार हस्तान्तरण गरेका थिए ।

तर राष्ट्रपति हादी सन् २०१५ मै यमनबाट भागेर साउदी अरबमा रहेका कारण उक्त आधिकारिक सरकार साउदी अरबको राजधानी रियादमा रहेको छ ।

यमनमा मुलुकको अधिकांश जनसंख्या हुथी विद्रोहीबाट नियन्त्रित क्षेत्रमा बस्दछन् । राजधानी साना र उत्तरी यमनसँगै लाल सागर पनि हुथी विद्रोहीको नियन्त्रणमा छ ।

यो विद्रोही समूहले कर संकलन र मुद्रा छपाइ पनि गर्दछ ।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का अनुसार सन् २०१० ताका हुथी विद्रोहीका सदस्यको संख्या एक लाख देखि १२ लाखको बीचमा थियो । जसमा सशस्त्र लडाकुदेखि गैरसैनिक समर्थक समेत छन् ।

बीबीसीबाट

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?