+
+

पीडितलाई थप पीडा नदेऊ

पहिले त पीडितलाई आफूमाथि भएको अत्याचारको बारेमा मुद्दा दर्ता गराउनै गाह्रो बनाइदिएको हुन्छ। मुद्दा अगाडि बढिसकेपछि बलात्कारका पक्षपोषकहरूले पीडितलाई गिद्धले सिनो लुछे झैं लुछ्छन्।

अमृता लम्साल अमृता लम्साल
२०८० पुष २९ गते ८:३६

कुरा सन् २००३ को हो। हलिउडको सुविख्यात पुरस्कार ‘अस्कर’ वितरण हुने दिन थियो। त्यसै क्रममा, त्यस वर्षको एकेडेमी अवार्ड उर्फ ‘अस्कर’ पुरस्कार पाउनेमध्येमा, बेस्ट डाइरेक्टरको पुरस्कार त्यसताका निकै चर्चित मूभी ‘द पियानिस्ट’ले पाएको थियो।

अस्कर पुरस्कार दिन थालिएको ७५औं वर्षमा ‘द पियानिस्ट’ ७ वटा क्याटागोरीमा चयन भएको थियो । जसमध्ये, बेस्ट डाइरेक्टर, बेस्ट एक्टर र बेस्ट एडप्टेड स्क्रिन प्लेमा सोही चलचित्रले पुरस्कार हात पारेको थियो।

हलिउडको सबैभन्दा महत्वपूर्ण पुरस्कार प्राप्त गर्ने दिन पियानिस्टका डाइरेक्टर रोमन पोलनस्की भने कार्यक्रममा उपस्थित थिएनन्। उपस्थित नहुनुको कारण अरू केही नभएर उनी अमेरिका बस्दा सन् १९७७ मार्च १० मा एउटी १३ वर्षकी बच्चीलाई बलात्कार गरेकोले, अमेरिकाले उनलाई बलात्कारको मुद्दा लगाएको थियो।

पोलनस्कीलाई त्यतिबेला बलात्कार बाहेक, ती केटीलाई गरेको दुर्व्यवहार, ड्रग दिएको इत्यादि समेत ६ वटा मुद्दा लगाइएको रहेछ। त्यो केसमा उनलाई ४८ दिन थुनामा राख्न ‘प्लि बार्गेनिङ’ गरेर जेल पठाइएछ। लसएन्जेल्सको ‘चिनो स्टेट प्रिजन’मा पनि राखिएको रहेछ।

तर पोलनस्की ४२ दिनमै जेलबाट निस्किएछन्। त्यसपछि, अर्का जज लरेन्स लिट्टेनब्यान्डले उनलाई त्यति सजायले नपुग्ने, त्यसको सट्टा ५० वर्ष जेलमा राख्नुपर्ने बताएछन्।

सायद, त्यही हुन्छ भन्ने डरले, अन्तिम फैसला नहुँदै, पोलनस्की अमेरिकाबाट भागेछन्। पोल्यान्डमा जन्मिएका पोलनस्कीले फ्रान्सको पनि नागरिकता लिएका रहेछन्; र, उनी फ्रान्समा बसिरहेछन्।

सन् १९७८ मा अमेरिका छाडेर हिंडेका पोलनस्की अहिलेसम्म अमेरिका पस्न पाएका छैनन्; कारण, त्यही बलात्कारको केस थियो।

उनले बलात्कार गरेकी केटी वयस्क भइसकेपछि, आफूमाथि भएको त्यो जघन्य अपराधमा ‘मैले पोलनस्कीलाई माफ गरिदिइसकें, उनले पनि मसँग माफी मागिसके’ भनेर सार्वजनिक रूपमै भनिसकिन्।

उनले आफ्नो बारेमा मेम्वायर पनि लेखेकी छन्; तर, अमेरिकी सरकारले पोलनस्कीलाई चार दशक भन्दा अगाडि गरेको अपराधमा माफ गरेको छैन। त्यसै भएर उनी अमेरिकासँग अपराधीहरूलाई सुपुर्दगी गर्न नपर्ने देशहरूमा मात्रै जाने र बसोबास गर्ने गर्दछन्। उनी अहिले फ्रान्समा आफ्नो जीवन बिताइरहेका छन्।

सन् २००३ मा उनले पाएको अस्कर अवार्ड पनि सन् २०१८ मा फिर्ता लिइयो। उनले लसएन्जेल्स गएर केस टुङ्ग्याउन गरेको कोसिस पनि सफल भएन। पोलनस्की पनि एकखाले सेलिब्रेटी नै हुन्।

हलिउडमा द पियानिस्ट, टेस्, रोजमेरिज बेबी जस्ता थुप्रै सिनेमा बनाएको उनलाई सेलिब्रेटी नै भए पनि अमेरिकाले अहिलेसम्म अपराधी नै ठानेको छ।

माथि उल्लेखित घटना एउटा उदाहरण मात्रै हो। खोज्दै जाँदा धेरै उदाहरण भेटिन्छन्। हामीभन्दा अघिल्लो पुस्ताहरूमा वा हाम्रै पुस्तामा पनि महिला वा किशोरी भनेका केवल ‘सेक्स अब्जेक्ट’ या घरमा काम गर्ने व्यक्ति मात्रै हुन् भन्ने बुझाइ थियो। हामीभन्दा पछिका पुस्ताहरूले त बुझे होलान् भन्ठानेको, अपवादलाई छाडेर, उनीहरू त महिला र किशोरीको बारेमा भानुभक्तको ‘बधू शिक्षा’ पढेका पुस्ता जस्ता भएछन् !

यो युगमा पनि पीडित बालिका तथा महिलाहरूले अझै कति पीडा भोग्दै जानुपर्ने हो ? जुन देशमा ‘वैवाहिक बलात्कार’ समेतको कानुन छ, त्यही देशमा पीडितले ‘म यौन दुर्व्यवहारमा परें वा बलात्कृत भएँ’ भन्न खोज्दा, मानसिक तनाव दिएर आत्महत्या गर्ने स्थितिमा पुर्‍याइदिने ?

अहिलेका पुस्ताको सोच पढ्दा, देख्दा आश्चर्यमा पारेको छ। त्यो आश्चर्य हो, एनजीओ तथा आइएनजीओले लैंगिक हिंसा/बलात्कार विरुद्ध वकालत गर्न खनाएको पैसो कहाँ जान्छ ?

यदि त्यो ठिक ठाउँमा पुगेको भए त पीडितमैत्री समाज हुन्थ्यो होला; न कि, पीडकमैत्री देखिन्थ्यो। वर्षौं वर्षदेखि बालुवामा पानी खन्याए जसरी महिला हकअधिकारको संरक्षण गर्न खर्च गरेको गरेकै देखिन्छ। तर, जब महिलाहरू पीडित हुन्छन् उनीहरूलाई मद्दत गर्ने व्यक्ति र संस्था कम पर्छन्। उनीहरूलाई जिउँदो हुन त दिइएको छ; तर मानसिक तनाव यति धेरै दिइन्छ कि, परिस्थितिसँग जुद्धा जुद्धा अधमरो बनिसक्छन्। यसको लागि शिक्षितलाई सम्झाउने कि, साक्षर पनि नभएकालाई सम्झाउने ?

देशको कानुन बनाउने ठाउँमा पुगेको मान्छे समेत बलात्कार र प्रेमबीचको फरक छुट्याउन सक्तैनन्! उदाहरणको लागि नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीले यही पुस २६ गते फेसबुकको भित्तोमा लेखेका छन्, ‘बलात्कार कुन अवस्थालाई मान्ने सम्बन्धमा कानुनी व्याख्याको आवश्यकता छ। कस्तो अवस्थालाई प्रेम ? र कस्तो अवस्थालाई बलात्कार? बलात्कार भनेको के हो ? अनि प्रेम के हो ? प्रेम बलात्कारमा परिणत हुन्छ हुँदैन ? परिभाषाको आवश्यकता !’

बलात्कार गर्ने व्यक्ति कुनै क्षेत्रको नाम चलेको व्यक्ति हो भने त हुल उसैको पक्ष लिएर समर्थन गर्छ; पीडितको जिन्दगी तहसनहस बनाइदिन्छ। त्यति ठूलो जघन्य अपराध गर्नेलाई हदैसम्मको दण्ड–सजाय दिनु र दिलाउनुपर्नेमा अपराधीको बारेमा उजुरी नै लिन नमान्ने कार्य गरिन्छ। अझै तल गिरेर सो अपराध लुकाउन सहयोग गर्न सम्पूर्ण पक्ष समेत लागिपर्छ।

बलात्कार गर्ने भनेको केवल यौनजन्य हिंसा मात्र होइन, यो त शारीरिक रूपमा बलियोले निर्धोमाथि गरेको सबैभन्दा तल्लोस्तरको अपराध हो। यो भनेको एक मानवले अर्को मानवको अस्तित्व नै मेटाउन गरेको घृणित व्यवहार हो।

अझै भन्नुपर्दा बलात्कार गरिएको व्यक्ति या समूहमाथि आफ्नो समूह या व्यक्तिले कहिल्यै माथि नउठोस् भन्ने चाहेर उनीहरूको मनस्थिति गिराउन गरेको आदिमकालीन जंगली र क्रूर व्यवहार हो। बलात्कारीले निरीह बनेकी ती महिलाको शारीरिक अस्मिता मात्र लुट्ने होइनन्; पीडितको मानसिक अवस्था समेतलाई परोक्ष रूपमा उठ्नै नसक्ने गरी ट्रमामा पुर्‍याइदिन्छन्।

यो समाजले कहिलेसम्म यौनजन्य हिंसालाई पक्षपोषण गर्दै जाने हो ? कहिलेसम्म लोग्नेमानिसको सर्वोच्चतालाई एकदमै धार्मिक देवता माने जस्तो मान्दै जाने हो ? अनि कहिलेसम्म लोग्नेमानिसले जति अन्याय र अत्याचार गरे पनि स्वास्नीमानिसले आफ्नो इज्जत जाने डरले लुकाएर बस्नुपर्ने हो ? अनि कहिलेसम्म कमजोर न्यायप्रणाली र कानुनका नीति–निर्माताहरूको हेल्चेक्र्याइँको शिकार महिलाले नै बन्नुपर्ने हो ?

यस्ता मुद्दाहरूको सन्दर्भमा भन्नुपर्दा, पहिले त पीडितलाई आफूमाथि भएको अत्याचारको बारेमा मुद्दा दर्ता गराउनै गाह्रो बनाइदिएको हुन्छ। मुद्दा अगाडि बढिसकेपछि पनि बलात्कारका पक्षपोषकहरूले पीडितलाई गिद्धले सिनो लुछे झैं लुछ्छन्। अनि कसको हिम्मत हुन्छ पल पल लड्ने भिड्ने गरिरहन ?

नेपालको जस्तो समाज, जहाँ महिलाको इज्जत र अस्मिता भनेकै केवल उसको यौनसँग जोडिएको छ। त्यस्तो समाजमा एकाध अपवाद छाडेर कुनै पनि महिलाले ‘म बलात्कृत भएँ’ भनेर हतपती अगाडि आएर भन्दैनन्। जो हिम्मत गरेर बोल्छन्, उनीहरूलाई समाजका अघोषित न्यायाधीशहरूले मानसिक प्रताडना दिएर तील तील गरेर जलाउँछन्।

यो युगमा पनि पीडित बालिका तथा महिलाहरूले अझै कति पीडा भोग्दै जानुपर्ने हो ? जुन देशमा ‘वैवाहिक बलात्कार’ समेतको कानुन छ, त्यही देशमा पीडितले ‘म यौन दुर्व्यवहारमा परें वा बलात्कृत भएँ’ भन्न खोज्दा, मानसिक तनाव दिएर आत्महत्या गर्ने स्थितिमा पुर्‍याइदिने ?

पंक्तिकारको यो भनाइ पटक्कै होइन कि, समाजमा अपराध हुँदैन या अपराधी हुँदैनन्। यतिमात्र भन्न खोजिएको हो कि, अझै पनि केवल महिलालाई नै ज्यादाभन्दा ज्यादा पीडित बनाउँदै लैजाने परम्पराको अन्त्य हुनुपर्दैन ?

अनि, त्यस्तो अपराध गर्ने अपराधीहरूलाई कारबाही गर्ने र सजाय दिने निकायमा बस्नेहरूले आफ्नो जिम्मेवारी मन, वचन र कर्मले निभाउन पछाडि सर्ने ? यस्तो घृणित र आदिमकालीन जंगली अपराध गर्नेहरूलाई त कानुन संशोधन गरेरै भए पनि थोरै कारावासको सजाय होइन कि, कम्तीमा ५० वर्ष कारावासमा जाक्नुपर्छ।

यसै सन्दर्भमा प्रासंगिक हुनसक्ने एक उदाहरण यहाँ पेश गर्न चाहन्छु। करिब १३ वर्ष अगाडिको कुरा हो, अमेरिकाको क्यालिफोर्निया राज्यस्थित रिच्मन्ड शहरमा एकजना १५ वर्षे स्कुले केटीलाई २० जना केटाहरूले सामूहिक बलात्कार गरे। त्यो समूहमा सबैभन्दा ठूलो उमेरको केटाचाहिं २१ वर्षको रहेछ।

त्यतिबेला, प्रहरीले उसलाई पक्रेर एक दशमलव २५ मिलियनको जमानीमा मात्र छुट्ने गरेर थुनेको थियो र अन्य संलग्न व्यक्तिहरूको हकमा सुराकी दिने व्यक्तिलाई बीस हजार डलरको पुरस्कार दिने सूचना प्रकाशित गरेको थियो। यो घटना यहाँ उल्लेख गर्नुको कारण न्याय र सुरक्षा दिने निकायले मुद्दाको संवेदनशीलता हेरेर सजाय पनि त्यसैगरी दिनसक्ने कानुन बनाउनुपर्छ। अपराध जुनसुकै समाजमा पनि हुन्छ, फरक यत्ति हो, त्यस्ता अपराध नियन्त्रण गर्ने र न्याय दिलाउन सम्बन्धित पक्ष कति तत्परतासँग लागिपर्छ ?

माथिकै घटनालाई तुलना गर्ने हो भने प्रहरीको तदारुकताले अपराधी पक्रिनमा मात्रै होइन, समाजमा सुरक्षा कायम गर्नमा पनि ठूलो भूमिका खेलेको देखिन्छ।

अन्त्यमा यति मात्र भन्नु छ, पीडितलाई अझै पीडा थपेर उनको जीवनलाई अझै कष्टप्रद बनाइदिनुको साटो उनलाई सक्दो सहयोग गर्नु अहिलेको महत्वपूर्ण कुरा हो। पीडितलाई भौतिक तथा भावनात्मक सहयोग दिएर समाजमा स–सम्मान बाँच्न पाउने अधिकारको व्यवस्था गरियोस्।

साथै, भोलिका दिनमा अरू कुनै महिलाले यस्तो दिन भोग्न नपर्ने अवस्थाको सिर्जना गर्न सम्बन्धित निकायले ध्यान देओस्।

लेखकको बारेमा
अमृता लम्साल

लेखक सामाजिक अभियन्ता, लेखक एवं पत्रकार हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?