+
+

रवि मिश्रले बिहीबारदेखि एकल कार्टुन चित्र प्रदर्शनी गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २ गते १२:२१

काठमाडौं । कार्टुनिष्ट रवि मिश्रले एकल कार्टुन चित्र प्रदर्शनी गर्ने भएका छन् । नयाँ बानेश्वरस्थित एनबी सेन्टरमा रहेको उमोजा क्याफेमा उनले बिहीबारदेखि ‘डिपेक्सन’ नाम दिएर १० दिने एकल प्रदर्शनी गर्ने भएका हुन् ।

सञ्चारमाध्यमबाट भइरहेको एकल संवादलाई दोहोरो बनाउन प्रदर्शनीमार्फत आउने निर्णय गरेको उनले बताए । १७ वर्षदेखि विभिन्न अखबार तथा म्यागेजिनमा करिब तीन हजार कार्टुन प्रकाशित गरिसकेका मिश्रले पहिलोपटक एकल प्रदर्शनी गर्न लागेका हुन् ।

‘अखबारमा प्रकाशित भएका विभिन्न काटुर्नमध्ये केही यस प्रदर्शनीमा राखिने छन्, जसलाई मैले ‘डिपेक्सन’ नाम दिएको छु,’ मिश्रले भने, ‘डिपेक्सन मैले देखेको नेपाली समाजको चित्र हो ।’

प्रदर्शनीमा राखिने अधिकांश कार्टुन विभिन्न पत्रिकामा प्रकाशित छन् । ‘तैपनि कार्टुनलाई सञ्चार मात्रै नभएर संवाद पनि बनाउन प्रदर्शनीको आवश्यक हुँदोरहेछ । पत्रिकाको माध्यमबाट एकोहोरो संवाद गरिरहेको म यो प्रदर्शनीमार्फत दोहोरो संवाद गर्न खोज्दैछु । कार्टुन एकतर्फी सञ्चार मात्र होइन, संवाद पनि हो भन्ने मेरो विश्वास छ,’ उनले भने ।

मिश्रले कार्टुन आफ्ना लागि चित्र मात्रै नभएर विचार, भावना र हाँसो व्यक्त गर्ने माध्यम रहेको बताए । ‘वास्तविकतालाई रचनात्मक तवरमा चित्रण गर्ने विधि हो कार्टुन,’ उनले भने, ‘मेरा लागि कार्टुन समाजसँग अन्तरक्रिया गर्ने माध्यम हो । अन्तरक्रिया मजेदार होस् भनेरै म कार्टुन लिएर यहाँ आएको छुँ । वर्तमानमा मैले देखेको समाजको दृश्य कोर्छु म कार्टुनमा । वर्तमानका कतिपय घटना, परिवेश, पात्र, प्रवृत्ति र विचारसँगको असहमति पनि हुन् मैले बनाउने कार्टुन ।’

अखबारका कोलममा नअटाउने कतिपय विषय मिश्रले प्रदर्शनीमार्फत प्रस्तुत गर्दैछन् । ‘मैले अखबारका कोलममा नअटाउने कतिपय विषयलाई दर्शक समक्ष पुर्‍याउने माध्यमका रुपमा यो प्रदर्शनीलाई लिएको छु,’ उनले भने ।

प्रदर्शनीस्थल उमोजा क्याफेका निर्देशक लीलाराम खड्काले पत्रिका र आर्ट ग्यालरीमा देखाइँदै आएको कार्टुनलाई नियमित स्पेसबाट बाहिर ल्याउने प्रयास रहेको बताए ।

‘कर्नर किक’मार्फत उहाँसँग मेरो एकोहोरो परिचय भयो,’ खड्काले भने, ‘आजभोलि मिश्र र उनका कार्टुनसँग समाजिक सञ्जालका भित्तामा देखाभेट हुन्छ । पत्रिका र आर्ट ग्यालरीमा मात्र कति कार्टुन प्रदर्शनी गर्नु भनेर मैले क्याफेमा प्रदर्शनी गर्ने आइडियामा जोड गरेको हुँ ।’

मिश्र कार्टुनिस्ट क्लब अफ नेपालका महासचिवसमेत हुन् । व्यंग्य चित्रसँगै उनी व्यंग्य लेखनसमेत गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?