+
+

अभिभावक र विद्यार्थीले छाने उत्कृष्ट शिक्षक  

रासस रासस
२०८० माघ ३ गते १५:४४

३ माघ, म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–७ शिवाङमा रहेको हेम नमूना आवासीय माविमा अभिभावक र विद्यार्थीले उत्कृष्ट शिक्षक छनौट गरेका छन् ।

भेला र विद्यालय व्यवस्थापन समितिको बैठकबाट छनौट भएका उत्कृष्ट चार शिक्षकलाई नगदसहित टीकामाया स्मृति दिवसका अवसरमा बुधबार पुरस्कृत गरिएको हो ।

यस वर्ष मनिराम थनेत, उमादेवी कडेल, भीमप्रसाद पौडेल र कुलराज आचार्यलाई प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कारस्वरुप क्रमशः नगद २५ हजार, १५ हजार, १० हजार र पाँच हजार रुपैयाँले पुरस्कृत गरिएको थियो ।

प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर), धवलागिरि–७ का वडाध्यक्ष अशोक खत्री, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरकुमारी बुढाथोकी र टीकामाया स्मृति कोषका संरक्षक राम गुरुङले पुरस्कार वितरण गरेका थिए ।

शिक्षकलाई सृजनशील बनाउन कोषले गत वर्षदेखि अभिभावक र विद्यार्थीबाट उत्कृष्ट शिक्षक छानेर पुरस्कृत गर्दै आएको विद्यालयका प्रअ शेरबहादुर केसीले बताए । ‘कोषले घरदैलो, अभिभावक र विद्यार्थीको भेलाबाट उत्कृष्ट शिक्षकलाई पुरस्कृत गर्न थालेपछि शिक्षक सृजनशील बन्नुभएको छ’, उनले भने, ‘कोषबाट तह र विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई पनि पुरस्कृत गरिएको छ ।’

उत्कृष्ट छनौट भएका शिक्षकले यस वर्ष विद्यालयमा बगैँचा स्थापना, भित्तेपत्रिका प्रकाशन, अतिरिक्त क्रियाकलाप र खेलकुदमा योगदान गरेको कोषका संस्थापक गुरुङले बताए । गत वर्षको परीक्षामा उत्कृष्ट जिपीएका आधारमा कक्षा १ देखि ५ तर्फबाट कक्षा २ का सायु घर्ती, ६ देखि ८ तर्फबाट कक्षा ८ का अन्जान घर्ती र कक्षा १० की सन्ध्या सुनारलाई जनही रू पाँच हजार नगदसहित ट्रफी र प्रमाणपत्र वितरण गरिएको प्रअ केसीले जानकारी दिए ।

हेम मावि कक्षा ११ मा भर्ना हुने विद्यार्थीमध्ये उत्कृष्ट जिपीएका आधारमा छात्रातर्फ सुस्मिता थापा र छात्रतर्फ भेजिन्द्र सुनारलाई नगद १० हजार पाँच सय रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको छ । हाल अमेरिकामा होटल व्यवसाय गर्ने गुरुङले दिवङ्गत आमा टीकामायाको स्मृतिमा गत वर्ष दुई लाख ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका थिए ।

यस वर्ष पाँच लाख रुपैयाँ पुगेको अक्षयकोषको मूलधन बढाएर १० लाख रुपैयाँ पुर्‍याउने लक्ष्य रहेको गुरुङले बताए । ब्याजबाट उत्कृष्ट शिक्षक र विद्यार्थीलाई पुरस्कृत गरिने उनको जानकारी दिए ।

कक्षा १२ सम्मको पठनपाठन हुने विद्यालयमा हाल तीन सय छ जना विद्यार्थी छन् । घर टाढा र पारिवारिक समस्या भएका ३० विद्यार्थीलाई निःशुल्क छात्रावासको सुविधा दिइएको छ । विद्यालयमा १९ जना शिक्षक कार्यरत छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?