+
+

थारू संस्कृति संरक्षणमा सहयोगी बन्दै ‘माघी मिलन कार्यक्रम’

रासस रासस
२०८० माघ ३ गते १७:०४

३ माघ, कञ्चनपुर । कञ्चनपुरमा थारू समुदायको संस्कृति जगेर्नामा ‘माघी मिलन कार्यक्रम’ सशक्त माध्यम बन्न थालेको छ । थारू समुदायको महत्वपूर्ण पर्व माघीका अवसरमा थारू बहुल गाउँहरुमा माघी मिलन कार्यक्रम आयोजना हुन थालेपछि संस्कृति जगेर्नामा टेवा पुगेको हो ।

स्थानीय तहहरुले उक्त कार्यक्रमलगायत संस्कृति जोगाउन योगदान पुर्‍याउने अन्य कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था गर्दै आएका आएका छन् ।

कार्यक्रममा थारू बूढापाकाहरुबाट तन्नेरीहरुले थारू समुदायको परम्परागत लवाइखुवाइ र रहनसहनका साथै संस्कृतिसँग सम्बन्धित गीत, नृत्य, चालचलन सिक्ने मौका पनि पाउने गरेका छन् ।

‘संस्कृतिसँग सम्बन्धित पुराना कुराहरु युवाले सिक्ने मौका पाउने गरेकाले थारू समुदायको परम्परा थामिएको छ,’ शुक्लाफाँटा नगरपालिका–३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले भने, ‘बूढापाकाहरुबाटै हराउँदै गएका सजना, धमारलगायत गीतहरु सुन्ने मौका पाएका उनीहरू सिक्न उत्सुक छन् ।’

नयाँ पुस्तालाई पुराना धार्मिक र सामाजिक भावनाले ओतप्रोत गीतहरु सुनाउने मौका पाइएको जोनापुर गाउँका पूर्ववडघर मनिराम डगौराले बताए । गीतसँगै पुस्तान्तरण हुँदै आएका सखिया, झुम्रा, हुरदङ्ग्वा, छोक्रा, मघौटालगायत नृत्यहरु माघी मिलनजस्ता कार्यक्रममा देखाउने मौका पाइने गरिएको वडघर गहनु डगौराले उल्लेख गरे ।

‘केही वर्षअघि पश्चिमी संस्कृतिको सिको गर्दै युवाले आफ्नो परम्परा, संस्कृति र पहिरन भुल्दै जान थालेका थिए,’ उनले भने, ‘देशमा लोकतान्त्रिक गणतन्त्र सुरुआत भएसँगै जनप्रतिनिधि चुन्न थालेपछि संस्कृति जोगाउनका लागि बजेटको व्यवस्था हुन थाल्या र कार्यक्रम हुन थालकाले पुराना संस्कृति जोगिएका छन् ।’

बूढापाका महिलाले मात्रै लेहङ्गा चोली पहिला बनाउने गरेको उल्लेख गर्दै गहनुले हाल लेहङ्गा चोली बनाउने तालिम नै स्थानीय तहले सञ्चालन गर्न थालेपछि युवा महिलाले पनि लेहङ्गा सहजरुपमा बनाउने गरेको बताए । निकै आकर्षक बुट्टा भएर लेहङ्गा बजारमा बिक्रीसमेत हुन थालेको उनको भनाइ थियो ।

लेहङ्गा निकै आकर्षक भएकाले केही वर्षअघि मात्रै पीपलाडीको थारू गाउँमा छायाङ्कन भएको नेपाली कथानक चलचित्र हिम्मतवालीको केही नृत्यमा नायिका र कोरस डान्स गर्नेहरुले लेहङ्गा लगाएका र यसले डगौरा तथा चौधरी समुदायका महिलाको पहिरन भनेर चिनाउन मद्दत पुगेको गहनुले उल्लेख गर्नुभयो ।

कुनै पनि सांस्कृतिक समारोह तथा विवाहलगायत कार्यक्रममा थारू युवतीले परम्परागत पहिरन र गहना लगाउने गर्दैआएका छन् । जनचेतनाको बढदो प्रभावका कारण संस्कृतिसँग सम्बन्धित कुराहरु जोगिएको थारू अगुवाको भनाइ थियो ।

‘युवतीले निःसङ्कोच सार्वजनिक समारोहमा परम्परागत पहिरन र गहना लगाउने गरेका छन,’ टिकुराम दहितले भने, ‘यो गर्वको कुरा हो, पछिल्लो पुस्ता पनि परम्परागत पहिरन जोगाउन अगाडि सरेका छ ।’

पहिरनसँगै माघी मिलन कार्यक्रमहरुमा थारू समुदायको परम्परागत मौलिक परिकारका रुपमा रहेका अन्तिको चामलको पीठोबाट बनाइएको ढिक्री, गुलियार जाँड, महुवाँको फुलबाट तयार गरिएको मदिरा, मुसाको चटनी, घोँघी, सुगुँरको सिकारलगायत बनाउने र पाहुनालाई चाडपर्वका बेला खुवाउने गरिएको छ ।

औद्योगिक व्यापार, मेला, पर्यटनसम्बन्धी मेला र हाटबजार लाग्ने क्षेत्रमा थारू समुदायका मौलिक परिकार बिक्रीका लागि राखिएको हुन्छ ।

थारू परिकारको व्यवसायीकरणले आम्दानीको स्रोत वृृद्धि हुनु सकारात्मक भएको आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का कञ्चनपुर अध्यक्ष डिवी कुश्मीले बताए । सांस्कृतिक समारोहमा परम्परागत पहिरन, गहना, गीत, नृत्य, परिकार जोगिनाका साथै समाजलाई समृद्धिको बाटोमा अगाडि बढाउन र अधिकारका लागि सचेत पार्न गीत र नृत्यमार्फत कार्यक्रमहरु पनि हुने गरेका छन् ।

कार्यक्रममा सहभागी जनप्रतिनिधि र कर्मचारीलाई सुनाउन पनि थारू समुदायका स्थानीय कलाकारले गीतमार्फत अधिकारका कुराहरु व्यक्त गर्न पछि पर्दैनन् । पीपलाडीमा मङ्गलवार आयोजना भएको माघी मिलन कार्यक्रममा टोलको नेतृत्व गर्दै मघौटा नृत्य लिएर पुगेकी राजकुमारी चौधरीले किसानले अन्न, तरकारीलगायतको मूल्य नपाएको र अधिकारका लागि आफैँ अगाडि बढ्नुपर्ने सहभागीहरुलाई गीतमार्फत सुनाइन् ।

थारू समुदायका सीपमूलक कामलाई व्यावसायिकीकरण गराउन आधुनिक तालिमको व्यवस्था गर्न लागिएको उल्लेख गर्दै उनले मातृभाषामै थारू समुदायका बालबालिकालाई आधारभूत तहको ज्ञान दिलाउनका लागि पाठयक्रम तयार गर्न थारू शिक्षक र बुद्धिजीवी अगाडि सर्नुपर्नेमा जोड दिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?