+
+

नेशनल ट्रेडिङको गोदाममा अस्पताल : सरकार फेरिएपिच्छे नयाँ बोर्ड

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ७ गते १९:०७

७ माघ, विराटनगर । नेशनल ट्रेडिङको पुरानो कार्यालय भवन र गोदामघरमा कोशी प्रदेश सरकारले सोमबारबाट शैलजा आचार्य हृदय रोग केन्द्र सञ्चालन गर्दैछ । चालु आर्थिक वर्षको बजेटमा ५ करोड बजेट विनियोजन गरेका मुख्यमन्त्री केदार कार्कीले सोमबार उपचार केन्द्रको उद्घाटन गर्दैछन् ।

प्रदेश सरकारले उद्घाटन गर्न लागेको अस्पतालको भवनमा यसअघि संक्रामक रोग तथा सघन उपचार केन्द्र थियो । केन्द्रमा विरामीको सामान्य स्वास्थ्य जाँच हुँदै आएको थियो । संक्रमक रोग तथा सघन उपचार केन्द्रअघि सोही अस्पताललाई प्रादेशिक प्रसूति तथा स्त्रीरोग अस्पताल बनाउने घोषणा सरकारको थियो ।

तत्कालिन सामाजिक विकास मन्त्री जीवन घिमिरेको सक्रियतामा २०७६ चैत १७ गते कोशी अस्पताल  कोभिड १९ उपचार केन्द्र स्थापना भएको थियो । उनीपछि सामाजिक विकास मन्त्री बनेकी उषाकला राईले २०७८–७९ को बजेटमा कोभिड महामारी सकिएपछि प्रादेशिक प्रसूति तथा स्त्रीरोग अस्पताल बनाउने योजना बजेटमा राखिन् । तर उषाकला लगत्तै स्वास्थ्य मन्त्री बनेका जयराम यादवले अस्पतालको नाम परिवर्तन गरिदिए ।

बजेट योजना संसोधन गर्दै उनले प्रदेश स्तरीय संक्रमक रोग तथा सघन उपचार केन्द्र बनाए । २०७९ भदौ ३१ ग्ते सघन रोग उपचार केन्द्र उद्घाटन भएको थियो । स्वास्थ्य मन्त्रालयले केन्द्रको गुरु योजना बनाउनका लागि कार्यदल पनि बनाएको थियो ।

२०७९ को निर्वाचनपछि बनेको नयाँ सरकारले संक्रमक रोग तथा सघन उपचार केन्द्र सञ्चालन गरेको थियो ।  केदार कार्की मुख्यमन्त्री बनेपछि बजेट अध्यादेश प्रतिस्थापन विधेयकमा शैलजा आचार्य हृदय रोग उपचार केन्द्रका  स्थापना गर्ने घोषणा गरे ।

कार्कीले बनाएको उपचार केन्द्र नेशनल ट्रेडिङको जग्गा हो । नेशनल ट्रेडिङ र नेपाल खाद्य संस्थानलाई सरकारले मर्ज गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी बनाएको छ । कम्पनीले भवन र गोदामको भाडा माग गर्दै कोशी प्रदेश सरकारलाई पत्र पठाएको छ ।

कोरोना महामारी नियन्त्रणका लागि सरकारले ५० शय्याको अस्पताल बनाउँदा खाली रहेको कार्यालय भवन भाडामा लिएको थियो । महामारी बढेपछि भने भवनसँगै रहेका दुई वटा गोदामलाई पनि अस्पतालको रुपमा प्रयोगमा ल्याइएको थियो । मुख्यमन्त्री कार्कीले सोही संरचनालाई प्रयोग गरेर अस्पताल सञ्चालनमा ल्याएका हुन् ।

कोभिड १९ उपचार केन्द्र हुँदा अस्पतालमा १७५ जनासम्मको दरबन्दी थियो । महामारी नियन्त्रणमा आएपछि दरबन्दी घटेको थियो । शैलजा आचार्य हृदय रोग उपचार केन्द्रमा ४२ जनाको दरबन्दी छ ।

सोमबार उद्घाटन गर्ने  उपचार केन्द्रको आइतबार कांग्रेस नेता डा. शेखर कोइरालाले अवलोकन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?