+
+
यू-१९ विश्वकप क्रिकेट :

नेपालले यू–१९ विश्वकपमा पाकिस्तानलाई हराएको त्यो खेल

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ९ गते १९:३९
दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकपमा सहभागी नेपाली टिम ।

९ माघ, काठमाडौं । अहिले जस्तो होइन, सन् २००० को दशकमा एकदिवसीय क्रिकेटमा ३०० माथिको योगफल निकै कम बन्थ्यो । अझ यू–१९ क्रिकेटमा त विरलै ।

टी–२० आई क्रिकेट आइसकेको थिएन । २०० रनको योगफल पनि बलियो र विशाल मानिन्थ्यो । समय त्यस्तै थियो । त्यो समय एकदिवसीय क्रिकेटमा आक्रामक क्रिकेट अहिले जस्तो थिएन ।

नेपालको पनि अन्तर्राष्ट्रिय क्रिकेटमा विस्तारै आफ्नो छाप छाड्दै गएको थियो । नेपालले १९९६ देखि अन्तर्राष्ट्रिय क्रिकेटमा सुरु गरेको हुँदा धेरैले नेपाललाई चिन्दैन थिए ।

नेपाली युवा टोली दोस्रोपटक यू–१९ विश्वकप खेल्न न्युजिल्यान्ड गएको थियो । पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ३७ रनले पराजित भएको थियो । इंग्ल्यान्डले दिएको २०५ रनको लक्ष्य पछ्याउनेक्रममा १६७ रनमा अल आउट भएको थियो ।

दोस्रो खेलमा पाकिस्तानका कप्तान सलमान बटले टस जितेर र नेपाललाई ब्याटिङ गर्ने निम्तो दिए । पाकिस्तानका सर्वाधिक सफल बलर मध्यका एक उमर गुलले नेपालका ओपनर यश्वन्त सुवेदीलाई ५ रनमै बोल्ड गरे र कनिष्क चौगाईं ५६ बलमा १५ रन बनाउँदै क्याच आउट भएका थिए । नेपालले एक एन्डबाट लगातार विकेट गुमाइ रह्यो । पाकिस्तानका तीव्र गतिका बलर जुनैद जियाले शक्ति गौचनलाई १२ र प्रेम चौधरीलाई ५ रनमा आउट गरे । विनोद दास पनि शून्यमै आउट भए ।

तल्लोक्रमका मन्जित श्रेष्ठ १७, सञ्जम रेग्मी १६ र मनोज कटवाल ८ रनमा आउट भए । नेपालका लागि तेस्रो नम्बरका खेलाडी बरदान चालिसेले ८७ बलमा ३ चौकासहित सर्वाधिक ४२ रन बनाएका थिए ।

नेपाल ४८.५ ओभरमा १५१ रनमा अल आउट भएको थियो । उक्त योगफल जित्न पर्याप्त हुन नसक्ने अनुमान धेरैको थियो । अहिले जस्तो सजिलै स्कोरकार्ड उपलब्ध हुने थिएन । लाइभ अपडेट त धेरै कठिन ।
स्पिन आक्रामण नेपालको सुरुवात देखिनै प्रमुख हतियार हो ।

त्यो सिनियर होस् वा जुनियर क्रिकेटमा । पाकिस्तानको सुरुवात पनि त्यति खराब थिएन । एक समय ८४–३ को अवस्थामा थियो । नेपालका दुई प्रमुख स्पिनर सञ्जम र शक्ति गौचनले पाकिस्तानको मध्यक्रम पुरै धरासयी बनाएका थिए ।

पाकिस्तान ८४–३ को अवस्थाबाट १२१ रनमा अल आउट भएको थियो । शक्ति र सञ्जमले ३–३ विकेट लिएका थिए । त्यस्तै स्पिनर लाक्पा लामा, बरदान चालिसेले र तीव्र गतिका बलर विनोद दासले १–१ विकेट लिएका थिए ।

पाकिस्तानको टोलीमा सलमान बट, अजर अली, उमर गुल जस्ता खेलाडीले खेलेका थिए । नेपालले पाकिस्तानलाई ३० रनले हराउँदै विश्व क्रिकेटमै सनसनी मच्चाएको थियो । त्यो नै नेपालले यू–१९ विश्वकपमा टेस्ट टोलीलाई हराएको पहिलो पटक थियो ।

नेपाललाई जिताउन शक्ति गौचनले १० ओभरमा ३ मेडनसहित १९ रन खर्चेर ३ विकेट लिएका थिए । शक्तिपछि गएर नेपालको सर्वाधिक सफल स्पिन अलराउन्डर बने । शक्ति त्यो समय उत्कृष्ट फिल्डिङको कारण जितेको बताउँछन् ।

‘हामीले त्यो खेलमा एक्स्ट्रानेरी क्याच (अद्भुत) लिएका थियौं । लिएका तीनै क्याच अविश्वसनीय थिए । एउटा सञ्जम, लाक्पा लामा र प्रेम चौधरीले लिएका थिए । ती क्याचहरु मिराकल थिएँ । जसले गर्दा जित्न’, शक्तिले ती दिनहरु सम्झँदै भने ।

त्यो समय नेपालले १५० रन बनाउन सके आफूहरुले जित्ने सोच हुने उनी बताउँछन् । ‘हामीले १५० रन बनायौं भने पूरा टिमलाई नै आछु–आछु पार्न सक्छौं भन्ने लाग्थ्यो । त्यो विश्वकपकै सवैभन्दा ठूलो स्तब्ध थियो । त्यो क्षण एकदमै अविश्वसनीय लाग्छ’, उनले भने ।

नेपाली युवा टोली पुन पाकिस्तानलाई हराउने सोचका साथ बुधबार मैदान उत्रनेछ । दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकपमा नेपाललाई सुपर सिक्स सम्भावना बलियो बनाउन उक्त जित आवश्यक छ । पहिलो खेलमा न्युजिल्यान्डसँग नेपाल ६४ रनले पराजित भएको थियो । अन्तिम खेल शुक्रबार अफगास्तिानसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?