+
+

यू-१९ विश्वकप : पाकिस्तानको गतिसामु नेपाली ब्याटरको परीक्षा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १० गते ७:१४

 १० माघ, काठमाडौं । नेपालले आईसीसी यू-१९ विश्वकपमा आज पाकिस्तानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १ : ४५ मा दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा सुरु हुनेछ ।

नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । उता पाकिस्तानले अफगानिस्तानलाई १८१ रनले हराएको थियो ।

न्युजिल्यान्डले अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्सका पुगेको छ । उता पाकिस्तान आजको खेलमा विजयी भएका सुपर सिक्समा पुग्नेछ । नेपाल पाकिस्तातानलाई हराउँदै सुपर सिक्स पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ । नेपालले आज हारेपनि अन्तिम खेलमा शुक्रबार अफगानिस्तानलाई हराएमात्रै पनि सुपर सिक्समा पुग्ने समीकरण छ ।

आज नेपालको परीक्षा तीव्र गतिका बलरसँग हुन्छ । गत डिसेम्बरमा पाकिस्तानका तीव्र गतिका बलर मोहम्मद जिशानले ६ विकेट लिएपछि नेपाल १५२ रनमै अल आउट भएको थियो । अग्ला कदका जिशानको बाउन्स र सट बलमा नेपाल फसेको थियो । उक्त खेलमा उबेद शाहले १ र अमिर हसनले २ विकेट लिएका थिए ।

दक्षिण अफ्रिका तीव्र गतिका सहयोगी पिचमा यी तीन बलरविरुद्ध खेल्न सहज हुनेछैन । जिशानको बलमा रन बनाउन निकै कठिन पर्न सक्छ । एक महिनाअघि मात्रै एसिया कप खेलेको हुँदा पाकिस्तानलाई नेपालको कमजोरी राम्रोसँग थाहा छ । त्यसैले सट र बाउन्सर बलको प्रयोग बढी हुनसक्छ ।

नेपालका अर्जुन कुमालले न्युजिल्यान्डविरुद्ध ९० रन बनाएका थिए । उनी नेपाली ब्याटिङका खम्बा हुन् । उनलाई सिनियर टोलीबाट खेलेका देल खनाल र गुलशन झाले पनि साथ दिन आवश्यक छ । देव र गुलशनबाट नेपालले ठूलो अपेक्षा गर्नेछ । उक्त एसिया कपमा उत्तम थापामगर ५१, अर्जुन कुमाल २१ र दीपेश कँडेलले ३१ रन बनाएका थिए । आकाश र उत्तमले पनि उक्त जिम्मेवारी लिनुपर्छ ।

नेपालले आजको खेलमा ओपनर दीपक बोहराको स्थानमा विपिन रावललाई मौका दिनसक्छ । त्यस्तै तीव्र गतिका बलर आकाश चन्दको स्थानमा बायाँ हाते बलर दुर्गेश गुप्ताले मौका पाउन सक्छन् । तल्लोक्रमका दीपक बोहराको स्थानमा विशाल विक्रम केसीलाई पनि मौका दिनसक्छ ।

नेपाल आजको खेलमा पनि तीन स्पिनरका साथ जाने देखिन्छ । सुवाश भण्डारी, दीपेश कँडेल र तिलक भण्डारी स्पिनर हुन् । दीपेश प्रमुख स्पिनर हुन् । सुवास र तिलकले न्युजिल्यान्डसँग बलिङसँगै ब्याटिङमा पनि राम्रो प्रभाव छाडेका थिए ।

विश्वकपमा नेपाल र पाकिस्तानबीच तीन खेल भएका छन् । नेपालले २००२ को विश्वकपमा पाकिस्तानलाई हराएको थियो । २०१६ मा भने पराजित भएको थियो । २००० मा वर्षाको कारण खेल भएको थिएन । यू-१९ एसिया कपमा नेपाल पाकिस्तानसँग तीनै खेलमा हारेको छ ।

नेपाली यू-१९ टोली :

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन झा, दिपेशप्रसाद कंडेल , विशालविक्रम केसी, सुवास भण्डारी, दीपक बोहरा, दिपक बोहरा, उत्तम रंगु थापा मगर (विकेटकिपर), विपिन रावल (विकेटकिपर), तिलकराज भण्डारी, आकाश चन्द ।

पाकिस्तानको टोली :

शाहजैब खान, शम्याल हसन, आन वावैस, साद बेग (कप्तान), अहमेद हसन, मोहमद रिआजउल्लाह, अरफत मिन्हास, उबेद साह, मोहम्मद जिशान, अमिर हसन, अली असफन्द, खुबैब खलिल, नविद अहमद खान, हरुन अर्शद र अली राजा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?