+
+

महामारीविरुद्ध विश्वव्यापी तयारी सम्झौतामा डब्लुएचओको ताकेता

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १० गते १४:०९

एजेन्सी । विश्व स्वास्थ्य संगठनले महामारीसँग जुद्धनका लागि विश्वव्यापी तयारी सम्झौता संकटमा परेको बताएको छ । आपसी टकराव र गलत सूचनाका कारण महामारीसँग जुध्नका लागि तयार गरिएको सम्झौता संकटमा पर्न लागेको उसको भनाइ छ ।

कोरोना महामारीपछि भविष्यमा आउनसक्ने यस्तै महामारी रोकथामका लागि विश्वव्यापी तयारी गर्ने सम्झौता भएको थियो । १९४ सदस्य रहेको डब्लुएचओले महामारीसँग जुध्नका निम्ति सदस्य राष्ट्रहरुले पूर्वाधार तयार गर्नुपर्ने सहितको अन्तर्राष्ट्रिय सम्झौता गर्ने निर्णय लिएको थियो । त्यस सम्झौतालाई सन् २०२४ को २७ मेमा हुन लागिरहेको सभामा अनुमोदन गर्ने तयारी थियो ।

तर त्यससम्बन्धी सम्झौता हाल संकटमा परेको डब्लुएचओका महानिर्देशक टेड्रोस अदानम ग्याब्रेसियसले बताएका छन् । उनको भनाइ उधृत गर्दै द गार्डियनले लेखेको छ, ‘अफवाह र अन्य षड्यन्त्रका कारण यस सम्झौता अलपत्र परिरहेको छ । हामीसँग अब निकै थोरै समय छ तर हामीले सुल्झाउन बाँकी धेरै कुरा रहेका छन् ।’

सम्झौताका विषयमा रहेका असमझदारीहरुलाई हल गर्ने प्रयत्न नगरे सम्पूर्ण मिहेनत नै व्यर्थ हुने उनको भनाइ छ । महामारीसँग जुध्नका लागि विश्वव्यापी तयारीबारेको यस सम्झौता अनुमोदन नभए भावी पुस्तालाई सुरक्षित बनाउने अवस्था नहुने र उनीहरुले यस पुस्तालाई माफी नदिने बताएका छन् ।

यस सम्झौता अनुमोदन भएमा रोगको समयमै पहिचान गरी त्यसको यथासक्य निदानमा सबै राष्ट्रलाज्ञ बाध्य पार्न सकिने डब्लुएचओको भनाइ छ । महामारीको समयमा आवश्यक स्वास्थ्य परीक्षणको व्यवस्था, उपचार र भ्याक्सिनको सुनिश्चितता लागि यस सम्झौता जरुरी रहेको निर्देशन टेड्रोसले बताएका छन् । ‘यो सम्झौताले हाम्रा भावी पुस्तालाई महामारीबाट जोगाउन सहयोग पुर्‍याउनेछ । हामीले सम्झौता अनुमोदन गर्न असफल भएको खण्डमा भावी पुस्ताले हामीलाई माफी दिनेछैन,’उनले भनेका छन् ।

यस सम्झौताले महामारीको समयमा लकडाउन तथा भ्याक्सिनसम्बन्धी सम्पूर्ण अधिकार डब्लुएचओलाई दिने भनेर दुष्प्रचार गरिएको टेड्रोसले बताएका छन् ।

डब्लुएचओका सदस्य राष्ट्रहरुले सन् २०२१ मा महामारीसँग जुध्न र कोरोनालेझैं विश्व संकटको परिस्थिति नआओस् भन्ने उद्देश्यले महामारी रोकथाम तथा नियन्त्रणका लागि नयाँ अन्तर्राष्ट्रिय संयन्त्र बनाउने सहमति गरेका थिए ।

डब्लुएचओका आपतकालीन निर्देशक मिचेल रायनले कोरोनाले सामाजिक, आर्थिक र राजनीतिक प्रणाली ध्वस्त पार्दै ठूलो आर्थिक असर पुर्‍याएकाले सदस्य राष्ट्रहरु सम्झौता अनुमोदनका लागि गम्भीर हुनुपर्ने बताएका छन् । ‘भूराजनीतिक टकरावमा व्यस्त विश्वले कोरोनाको असर यति छिट्टै सायदै भुलेको छ । यो सम्झौतामा सहमत भएकाहरुले अनुमोदनमा विलम्ब गर्नुहुँदैन यो सबैको साझा सहमति पनि हो’, उनले भनेका छन् ।

यस सम्झौताका वार्ताकार रोनाल्ड ड्रिस सात वर्षअघि देखिको प्रयत्नलाई सन् २०२१ मा सफल बनाइएकाले यसको अनुमोदन हुनुपर्ने बताउँछन् । ‘स्पस्ट प्रतिवद्धता नवीनतम सोच र महामारी रोकथामका लागि व्यवहारिक महत्वकांक्षा सहितका विषय उल्लेख गरेर सम्झौता अनुमोदन हुनुपर्छ,’ उनको भनाइ छ ।

यसैक्रममा अन्तर्राष्ट्रिय स्वास्थ्य नियम सुधारका निम्ति पनि समानान्तर रुपले काम भइरहेको उनले जानकारी दिएका छन् । नियम सुधारको संयोजन न्युजिल्याण्डका स्वास्थ्य मन्त्री यस्ले ब्लुमफिल्डले गरिरहेका छन् ।

‘अफवाह र असहयोगले हाम्रो सम्पूर्ण मिहेनतलाई असर गरिरहेको छ । हामीले तयार गरेको सम्झौतामा ३०० भन्दा बढी संशोधन परेका छन्,’ उनले भनेका छन् ।

मे २०२३ मा डब्लुएचओले अन्तर्राष्ट्रिय आपतकालीन अवस्थाको अन्त्य भएको घोषणा गरेको थियो । आगामी दिनमा आउनसक्ने यस्तै आपतकालीन अवस्थासँग जुध्नका निम्ति विश्वव्यापी तयारी सम्झौता अनुमोदन गर्नुपर्ने पक्षमा डब्लुएचओ रहेको छ ।

के हो महामारीविरुद्ध विश्वव्यापी तयारी सम्झौता ?

कोरोना भाइरसको महामारीले यस्तो संकट कुनै पनि सरकार वा संस्थाको एकल प्रयासमा समाधान नहुने र त्यसमा आपसी सहकार्य आवश्यक रहेको देखायो । भविष्यमा पनि महामारी आउनसक्ने भएकाले त्यस्तो संकटसँग जुध्नका निम्ति प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता महशुस गराएको थियो । संक्रामक रोग बढिरहेको विश्व परिवेशमा त्यसले निम्त्याउने संकटसँग जुध्नका लागि सामूहिक पहलको खाँचो महसुस भएसँगै नयाँ संयन्त्र गठनको बहस सुरु भयो । त्यसपछि विश्व स्वास्थ्य संगठनको संयोजनमा भावी महामारीविरुद्ध बलियो ढंगले जुध्दै विश्व समाजको कल्याणका निम्ति नयाँ अन्तर्राष्ट्रिय संयन्त्र बनाउने पहल सुरु भएको थियो । अन्तर्राष्ट्रिय संयन्त्रको प्रस्ताव भने युरोपेली परिषद्का अध्यक्ष चार्ल्स माइकलले गरेका थिए । सन् २०२० मा पेरिस शान्ति मञ्चमा उनले यस्तो प्रस्ताव गरेका थिए । त्यसपछि डिसेम्बर २०२१ डब्लुएचओले विशेष अधिवेशनमार्फत संयन्त्र बनाउनका निम्ति सम्झौताको मस्यौदा तयार गर्न थाल्यो । मार्च २०२२ मा युरोपेली परिषद्ले सम्झौता अघि बढाउन डब्लुएचओलाई सकारात्मक संकेत दियो । मार्च २०२३ मा सम्झौताको पहिलो मस्यौदामा सहमतिको प्रयास भयो । मार्च २०२३ मा डब्लुएचओको ७६ औं महासभामा प्रगति प्रतिवेदन पेश भएको थियो । आगामी मे २०२४ मा हुने महासभामा यस सम्झौतालाई अनुमोदन गर्ने तयारी भइरहेको छ ।

सम्झौता अनुमोदन भएमा के हुनेछ ?

यस सम्झौताका चार प्रमुख उद्देश्य रहेका छन् । पहिलो, महामारीसँग जुध्नका निम्ति दिगो र दीर्घकालीन राजनीतिक प्रतिवद्धता सुनिश्चित गर्ने । दोस्रो, सरल प्रक्रिया कार्यहरुको निर्धारण गर्ने । तेस्रो, सबै तहमा सार्वजनिक र निजी क्षेत्रको दीर्घकालीन सहयोग सुनिश्चित गर्ने । चौथो, समय सान्दर्भिक नीति अनुसार सबै सरकार र सबै समाजलाई स्वास्थ्य मामिलामा एकीकृत गराउने ।

सम्झौता अनुमोदन भएको अवस्थामा यसले महामारी रोकथाम तथा नियन्त्रणमा राजनीतिक संलग्नताका साथै विश्वव्यापी समावेशीताको प्रवर्द्धन हुने अपेक्षा राखिएको छ ।

यस्तै, महामारी रोकथा सम्बन्धमा नयाँ सिद्धान्त र प्राथामिकतामा आधारमा लक्ष्य हाँसिलमा सहयोग पुग्ने विश्वास राखिएको छ । अर्कोतर्फ महामारी रोकथाममा राष्ट्रिय, अन्तर्राष्ट्रिय र विश्वव्यापी क्षमता अभिवृद्धि हुने अपेक्षा राखिएको छ ।

औषधीमा सरल र सहज पहुँज हुनुका साथै तथ्यांक र प्रविधि बाँडफाँडका कारण प्राथामिकता निर्धारणमा सहयोग पुग्ने विश्वास गरिएको छ भने सबैको स्वास्थ्य जीवन सुनिश्चित हुने अपेक्षा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?