+
+

गाउँपालिका भवन चुहिने भएपछि प्रयोगमा नआउँदै मर्मत

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १० गते १९:५७

१० माघ, जनकपुरधाम। धनुषाको बटेश्वर गाउँपालिका कार्यालयको प्रशासनिक भवन प्रयोगमा नआउँदै चुहिने भएको छ । वर्षायाममा भवनको दोस्रो तला ठाउँ ठाउँमा चुहिएकाले मर्मत गर्न थालिएको गाउँपालिकाका इन्जिनियर जितेन्द्र यादवले बताए ।

भवनमा तला थप्ने काम रौतहट राजपुरको आर्यन कन्ट्रक्सनले ५९ लाख ९९ हजार १७२ मा ठेक्का लिएको थियो र उसले ०७८ को असार मसान्तमा काम पूरा गरेको थियो ।

निर्माणकै बेलादेखि भवन ठाउँठाउँमा चुहिएको कर्मचारीहरु बताउँछन् । अहिले गाउँपालिकाको केही शाखा उक्त भवनको दोस्रो तलामा राख्नुपर्ने भएपछि २९ पुसमा बसेको गाउँ कार्यपालिका बैठकले भवन मर्मत गर्ने निर्णय गरेको हो ।

इन्जिनियर यादवका अनुसार छत मर्मतका लागि ५ लाख रुपैयाँमा आरके बिल्डर्सलाई ठेक्का दिइएको छ । ‘वाटरप्रुफ केमिकल राखेर डेढदेखि दुई इन्चसम्म ढलान गरेर मर्मत गर्ने काम गर्न लागिएको छ’, इन्जिनियर यादवले भने ।

स्थानीय दीपलाल साह भने त्यतिबेला गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा ठेक्का लागेकाले ठेकेदारले राम्रोसँग काम नगरेको आरोप लगाउँछन् ।

आर्यन कन्ट्रक्सनले गाउँपालिकाको कार्यालय अगाडि वडा नं. ४ मा महादेव मन्दिर, वडा नं. १ को लक्ष्मी माध्यमिक विद्यालयमा चारकोठे भवन, वडा नं.-२ को जनप्रिय माविको आठ कोठे भवन  बनाउने काम पनि पाएको थियो । अझै पनि लक्ष्मी माध्यमिक विद्यालयको चारकोठे भवन र महादेव मन्दिरको काम पूरा भएको छैन ।

प्रशासनिक भवनकै पहिलो तल्लाको भुक्तानीमा तत्कालिन अध्यक्ष डम्बरबहादुर राउत क्षेत्री ८ लाख रुपैयाँ घुस लिँदा १८ फागुन २०७७ मा अख्तियारको फन्दामा परेका थिए । अख्तियारले रंगेहात समात्न पछ्याएपछि घुसको आठ लाख रकम फालेर गाडीबाट हाम फालेर उनी फरार भएका थिए ।

तत्कालिन प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीले अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा हुँदा आर्थिक वर्ष ०७३/७४ मा फर्निचर खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १६ साउन २०७८ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । त्यसयता उनी निलम्बनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?