+
+

विश्वकपमा नेपाल पाकिस्तानसँग पराजित

भुपेन्द्र जि.सी. भुपेन्द्र जि.सी.
२०८० माघ १० गते २१:३४

१० माघ, काठमाडौं  । नेपाल दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप २०२४ मा पाकिस्तानसँग ५ विकेटले पराजित भएको छ । नेपालको यो लगातार दोस्रो हार हो । लगातार दोस्रो जितसँगै समूह डी बाट पाकिस्तान र न्युजिल्यान्ड सुपर सिक्समा प्रवेश गरेका छन् ।

शुक्रबार नेपाल र अफगानिस्तानबीच हुने खेलको विजेता टोली तेस्रो स्थानमा रहँदै सुपर सिक्समा पुग्नेछ ।

१९८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४७.४ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । पाकिस्तानको जितमा आजन आविसले ८२ बलमा ६ चौकासहित नटआउट ६३ रन जोडे । उनले दीपक डुम्रेलाई चौका हान्दै खेल अन्त्य गरेका थिए ।

पाकिस्तानलाई ओपनर शम्याल हुसेन र शाहजैब खानले २१.२ ओभरमा ८० रनको साझेदारी गर्दै संयमित सुरुवात दिलाएका थिए । तर तीव्र गतिका बलर आकाश चन्दले २२ औं ओभरमा दुबै ओपनरलाई आउट गरेपछि नेपालले खेलमा फर्किन सक्ने झिनो सम्भावना देखाएको थियो ।

हुसेन ५९ बलमा ४ चौका र १ छक्कासहित ३७ रनमा आउट भए । खान ७० बलमा ३ चौका र १ छक्कासहित ३७ रनमा आउट भए । आकाशले सट बलमा दुबै ओपनरलाई आउट गरेका थिए । आकाशले अरफत मिन्हासलाई ८ रनमा सट बलमा दीपक डुम्रेबाट क्याच आउट गराउँदै पाकिस्तानी टिमलाई केही दबाबमा राख्न खोजेका थिए  ।

कप्तान साद बेग आकाश त्रिपाठीको बलमा दीपक बोहराबाट क्याच आउट भएका थिए । एक समय पाकिस्तान ८०–० बाट १०४–४ को अवस्थामा पुगेको थियो ।

पाँचौं विकेटका लागि आजन आविस र अहमद हसनले ८५ बलमा ६४ रनको साझेदारी गरेपछि नेपालले २००२ पछि पाकिस्तानलाई हराउने सपना अधुरै बनेको थियो ।

हसन ३७ बलमा ४ चौकासहित २९ रनमा स्टम्पिङ आउट भए । दीपेश कँडेललाई अघि बढेर सट खेल्ने क्रममा विकेटकिपर विपिन रावलको हातमा लागेर बल स्टम्प लाग्न पुगेको थियो । हरुन अर्शद १८ बलमा २ चौकासहित १५ रनमा नट आउट रहे ।

नेपालका आकाश चन्दले ९ ओभरमा ३४ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । आकाश त्रिपाठी र दीपेश कँडेलले १-१ विकेट लिए । गुल्सन झाले १० ओभरमा २९ रन खर्चिँदा विकेट भने लिन सकेनन् ।

त्यसअघि दक्षिण अफ्रिकाको बफेलो पार्कमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ५० ओभरमा १९७ रनमा अल आउट भएको थियो ।

नेपालका विपिनले ६८ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३९ रन जोडे  । नेपालले शीर्षक्रमका दुई ब्याटर अर्जुन कुमाल र आकाश त्रिपाठीलाई ६–६ रनमै गुमाएको थियो । कप्तान देव खनाल ३७ बलमा ३ चौकासहित २३ रन बनाउन सके  । उत्तम थापा मगर ४, दीपेश कँडेल १७ बलमा २ चौकासहित १३ र दीपक डुम्रे १ छक्कासहित २६ रनमा आउट भएका थिए ।

तल्लो क्रममा आकाश चन्द ११ बलमा १ चौका र १ छक्कासहित १६ रनमा नट आउट रहे । सुवास भण्डारीले २४ बलमा २० रन बनाए । नेपालले २६ रन एक्स्ट्रा पाएको थियो । गुल्सन झाले ४७ बलमा १८ रन बनाए । देव, गुल्सन  र अर्जुन प्रमुख ब्याटर चल्न नसकेपछि बलियो योगफलमा पुग्न सकेको थिएन ।

पाकिस्तानका स्पिनर अरफत मिन्हासले १० ओभरमा ३ मेडनसहित २३ रन खर्चेर ३ विकेट लिए । उनले पाकिस्तानको सिनियर टोलीबाट समेत खेलेका छन् । अहमद हसन र उबेद साहले २–२ विकेट लिए ।

नेपाल पहिलो खेलमा आइतबार न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । नेपाल सुपर सिक्समा पुग्न शुक्रबार अफगानिस्तानलाई हराउनुपर्ने हुन्छ । अन्यथा नेपाल समूह चरणबाट बाहिरिनेछ ।

अफगानिस्तान पाकिस्तानसँग १८१ रन र न्युजिल्यान्डसँग १ विकेटले पराजित भएको थियो । त्यसैले सुपर सिक्समा पुग्न समूह डी बाट शुक्रबार नेपाल र अफगानिस्तानबीचको खेल नकआउट सरह हुनेछ ।

लेखकको बारेमा
भुपेन्द्र जि.सी.

जिसी अनलाइनखबरको खेलकुद ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?