+
+

घोषणापत्र माथिको खेलबाड कहिलेसम्म ?

निर्वाचित जनप्रतिनिधिबाट घोषणापत्र उपर पटक–पटक जवाफदेहिता खोज्ने सामूहिक र संगठित परिपाटी/संस्कारले घोषणापत्र केवल कागजी खोस्टा मात्र होइन भन्ने कुरालाई मद्दत पुग्छ।

उषा क्षेत्री उषा क्षेत्री
२०८० माघ ११ गते १०:५२

चुनावताकाका पार्टीहरूका घोषणापत्रहरूको हालखबर के छ? चुनाव जितेर आएको पार्टीले घोषणापत्रका बाचाहरू उपर के गरे? के हामीले घोषणापत्र हेरेर, पढेर भोट दिएका थियौं? घोषणापत्रहरू माथि भएको खेलबाडलाई रमिता मात्र बुझ्ने हाम्रो रगत कसरी तातो र रातो छ? हामी किन यति धेरै मौन छौं? मौन रहन्छौं? घोषणापत्र माथिको ज्यादती र अत्याचारमा हाम्रो रगत किन उम्लँदैन?

घोषणापत्र, पार्टीहरूका प्रतिबद्धता अर्थात् हाम्रा इच्छा, आकांक्षा, सपना, अवसर, उडान र उद्देश्यहरूको ब्ल्याङ्क चेक। त्यसलाई पूरा गर्ने शर्तमा हामीले त्यसमा हस्ताक्षर गरिदिन्छौं। तर त्यसको मनोमानी प्रयोगमा किन उठ्दैनौं? जाग्दैनौं? किन हाम्रा सपनाहरू माथि परेड खेलिन्छ?

हाम्रा सपनाहरूमाथिको परेडले किन हामीलाई दुख्दैन ? किन पोल्दैन? हामीमा किन मुर्दा शान्ति छ? के हामी बाँचेकै छौं? कि बाँचेको अभिनयमा छौं? बाँचेकै छौं भने त आवाज निस्कनुपर्ने हो। प्रश्न निस्कनुपर्ने हो। हामीलाई विद्रोहको चेतनाले लपेट्नुपर्ने हो।

यदि घोषणापत्र अनुसार शासन गरिएको थियो भने हामी तेस्रो विश्वबाट पहिलो विश्वमा पुगिसकेका हुनेथियौं। घोषणापत्रहरूले गरेका बाचा त्यसै अनुसारका विराट दायरामा हुन्छन्। दुईतिहाइ प्राप्त नेकपाको घोषणापत्रमा सामाजिक-आर्थिक रुपान्तरणलाई प्राथमिकता दिने भनिएको थियो । ‘व्यापक रूपमा आयात प्रतिस्थापन र निर्यात प्रवर्धन उद्योगहरूको विकास गरिनेछ, उत्पादकत्व र उत्पादन वृद्धि, रोजगारी सृजना, आर्थिक परनिर्भरता र व्यापार घाटा समाप्त पार्ने वाणिज्य निति अवलम्बन गरिनेछ’, उक्त दलको घोषणापत्रमा लेखिएको छ।

१० वर्षभित्र प्रतिव्यक्ति आय कम्तीमा ५ हजार अमेरिकी डलर पुग्ने गरी राष्ट्रिय अर्थतन्त्र विकास गरिने,  भूमिको वैज्ञानिक व्यवस्थापन गर्दै कृषिको आधुनिकीकरण मार्फत दुई वर्षभित्र नेपाललाई आधारभूत खाद्यान्न तथा माछा, मासु अण्डा र दूधमा आत्मनिर्भर बनाइने उद्घोष गरियो। कृषि, सिंचाइ र ऊर्जा, यातायात पूर्वाधारलाई आर्थिक रुपान्तरणको आधार भन्दै ठूला–ठूला योजना अगाडि सारियो।

हामीले कसरी बिर्सन सक्छौं, कसरी माफी दिन सक्छौं घोषणापत्र माथिको अत्याचारलाई ? के घोषणापत्र जलाउने नेतृत्वलाई तिमीले गलाउने ताकत राख्दैनौं ?

दलका घोषणापत्रमा १० वर्षभित्र सम्पन्न हुने गरी जलमार्ग, पदमार्ग, केवलकारका महत्वाकांक्षी योजनाहरू छन्। विराटनगर, नेपालगञ्ज, सुर्खेत तथा धनगढी विमानस्थललाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्ने भनिएको छ। पर्यटनको विकासका लागि ताप्लेजुङदेखि दार्चुलासम्म ‘हिमाली पर्यटकीय पदमार्ग’ जोड्नेदेखि केवलकारसम्मको योजना छ। एक प्रदेशमा न्यूनतम एक आधुनिक औद्योगिक क्षेत्रको स्थापना गर्दै १०औं लाख रोजगारी सिर्जना गर्ने लक्ष्य छ।

स्वास्थ्य शिक्षालाई नाफा कमाउने माध्यम बनाउन निरुत्साहित गरिने भन्दै प्रति २५ हजार नागरिकका लागि ७ चिकित्सक र ६० शय्या पुर्‍याउने भनिको छ। प्रत्येक प्रदेशमा न्यूनतम एक विश्वविद्यालय र प्राविधिक तथा व्यावसायिक महाविद्यालयहरू संचालन गरिने भन्दै केन्द्रीयस्तरमा राष्ट्रलाई आवश्यक पर्ने वैज्ञानिकहरू उत्पादन गर्ने विभिन्न अनुसन्धान केन्द्र स्थापना गरिनेछ भनिएको थियो।

घोषणापत्रभरि यी र यस्तै बाचाहरू बाँडिएका थिए। घोषणापत्रमा के छैनन् ? सबै छन् । तर व्यवहारमा के भए ?

दलले पाएको समय बालुवामा पानीसरह खेर गयो। अहिलेका सत्तासीन पार्टीहरूका घोषणापत्रको हैसियत पनि पूर्ववत् नै रहनेवाला छ। घोषणापत्रमा लोकतन्त्र, विधिको शासन, भ्रष्टाचारको अन्त्य, असमानता र विभेदको अन्त्य, समावेशी विकास, मौलिक हक, मानवअधिकार लगायत कुनै पक्षमा कमजोर मत हुँदैनन्। तर माथिका बाचाहरू सत्ताले कति सम्झियो? कति पूरा भए? कति हुँदैछन्? कि सबै जहाँको त्यही छन्? उत्तर छोटो छ बाचाहरूले हावा खाएका छन्। अर्थात् हावा खुवाइएको छ। कि हामीलाई मोतिविन्दु भएको हुनुपर्छ।

के घोषणापत्रहरू ढाँट्नकै लागि मात्र लेखिन्छन्? के घोषणापत्रभित्रका अक्षरहरू हाम्रा भाग्य र भविष्य होइनन् र? तिनको जीवन निर्जीव कागजको पाना भन्दा माथि किन उठेन? किन उठाइएन? प्रतिबद्धता अनुरूप के भयो के भएन? हुनुपर्ने के थियो तर भइरहेको के छ? त्यसको लेखाजोखा गर्ने दायित्व हामी जनताको रहन्छ कि रहँदैन? के हाम्रा विकल्प दिक्दारी र असन्तोष पोख्नु मात्र हुन्? कि केही ठोस र सार्थक विकल्पहरू पनि छन्?

पहिलो कुरा, घोषणापत्रका आधारमा मतदान गर्ने अभ्यासको सुरुवात कम्तीमा हाम्रो युवा पुस्ताले विकास गरोस्। अर्थात्, मुद्दा र कार्यक्रमहरूको आधारमा मतदान।

दोस्रो, कस्तो व्यक्तिले उम्मेद्वारी दिएको छ त्यो महत्त्वपूर्ण कुरा हो। के हाम्रो उम्मेदवार वचन र बाचाको प्रतिबद्ध छ? हामी र हाम्रो समयलाई नेतृत्व गर्न लायक छ? हामीले मतदान गर्दै गरेको उम्मेदवारको पार्टीले केन्द्रमा कस्तो व्यक्तिलाई देशको कार्यकारीमा पठाउँदैछ? मतदानको निर्णय अगाडि यस्ता प्रश्नहरूमा गम्भीर र पर्याप्त विमर्शको थालनी गरौं।

तेस्रो, निर्वाचित जनप्रतिनिधिबाट घोषणापत्र उपर पटक–पटक जवाफदेहिता खोज्ने सामूहिक र संगठित परिपाटी/संस्कारले घोषणापत्र केवल कागजी खोस्टा मात्र होइन भन्ने कुरालाई मद्दत पुग्छ।

हामीले कसरी बिर्सन सक्छौं, कसरी माफी दिन सक्छौं घोषणापत्र माथिको अत्याचारलाई ? के घोषणापत्र जलाउने नेतृत्वलाई तिमीले गलाउने ताकत राख्दैनौं ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?