+
+

सुपर सिक्समा पुग्न नेपालले सुधार्नुपर्ने ४ कमजोरी

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ११ गते २०:५२

११ माघ, काठमाडौं । नेपालले आईसीसी यू–१९ विश्वकप २०२४ मा आफ्नो समूह चरणको अन्तिम खेल शुक्रबार अफगानिस्तानसँग खेल्नेछ । नेपाल सुपर सिक्समा पुग्न अफगानिस्तानलाई हराउनु पर्छ ।

अथवा वर्षाको कारण खेल रद्द हुनुपर्छ । नेपाल पराजित भएको खण्डमा सुपर सिक्स यात्रा समाप्त हुन्छ र नेपालले १३ औं देखि १६ औं स्थानको लागि प्लेअफ खेल्नुपर्ने समीकरण छ ।

गत डिसेम्बरमा यूएईमा सम्पन्न एसिया कपमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो । युवा ब्याटर अर्जुन कुमालले ९१ रनको इनिङ खेले पनि अन्य खेलाडीको साथ नपाउँदा २६१ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १८८ रनमा अल आउट भएको थियो ।

पछिल्लो एक दशक यता नेपालले अफगानिस्तानलाई हराउन पनि सकेको छैन । नेपालमाथि लगातार बाधक बन्दै आएको छ । त्यसैले अफगानिस्तानलाई हराउन सामान्य प्रदर्शन पर्याप्त हुनेछैन ।

नेपालले आफ्नो हालसम्मको उत्कृष्ट क्रिकेट खेल्नुपर्छ । त्यसको लागि नेपालले सुरुवाती दुई खेलमा देखिएका प्रमुख कमजोरी सुधार गर्न अति आवश्यक छ । नेपालले यी ४ कमजोरी सुधार गर्न सके अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा पुग्न सक्छ ।

१.ठूलो साझेदारी र इनिङको आवश्यक

क्रिकेटमा साझेदारी सबैभन्दा महत्वपूर्ण हुन्छ । एकदिवसीय क्रिकेटमा विशाल योगफल बनाउन एउटा जोडीले ठूलो साझेदारी गर्नुपर्छ । न्युजिल्यान्डविरुद्ध देव खनाल र अर्जुन कुमालले तेस्रो विकेटका लागि ६२ बलमा ५९ रनको साझेदारी गरेको हुँदा २३८ रन सम्म पुगेको थियो । उक्त खेलमा अन्य ब्याटरले अर्धशतकीय साझेदारी गर्न सकेका थिएनन् ।

पाकिस्तानविरुद्ध कुनै पनि ब्याटरले ४० रनको साझेदारी गर्न सकेनन् । जस्ले गर्दा नेपाल १९७ रनमा अल आउट भएको थियो । जति ठूलो साझेदारी खेलाडी र टोलीको मनोबल त्यतिनै बढ्ने हो । विपक्षी टोलीले विकेटको धुनमा खराब बलिङ गर्ने सम्भावना पनि त्यतिनै रहन्छ ।

न्युजिल्यान्डविरुद्ध अर्जुन कुमालले ९० रनको इनिङ खेलेका थिए । उनलाई अर्को एन्डबाट साथ मिलेको थिएन । पाकिस्तानविरुद्ध विपिन रावलले सर्वाधिक ३९ रन बनाए ।

नेपालको टोलीमा देव, गुलशन र अर्जुन प्रमुख ब्याटर हुन् । देव पाकिस्तानसँग २३ र न्युजिल्यान्डसँग ३६ रनमा आउट भएका थिए । गुलशन पाकिस्तानसँग १८ र न्युजिल्यान्डसँग २ रनमा आउट भएका थिए ।

सिनियर टोलीको अनुभव बटुलेका देव र गुलशनले ठूलो इनिङ खेल्न आवश्यक छ । उनीहरु दबाबमा खेलेको अनुभव पनि छ । यी दुई ब्याटरले राम्रो गर्न सके अन्य युवा खेलाडीको आत्माविश्वास र मनोबल झनै बढ्छ । टोली पनि राम्रो योगफलमा पुग्न सक्छ । यी दुई मात्रै होईन सबै खेलाडीले आफ्नो भूमिका र टोलीको अवस्था अनुसार खेल्न आवश्यक देखिन्छ ।

२.सुरुवातमा विकेट

नेपाल दुवै सुरुवाती खेलमा विकेट विहीन बनेको । पावर प्लेमा विकेट लिन सकेको खण्डमा मात्रै टोली खेलमा हाबी हुनसक्छ । सुरुवातमा विकेट गुम्दैन भने त्यसपछि खेल्न आउने ब्याटरमा पनि दबाब बढ्न सक्दैन । सुरुवातमै विकेट लिन सके अन्य ब्याटर रनको चक्करमा खराब सट खेल्दै विकेट आफैं दिने सम्भावना रहन्छ ।

पाकिस्तानका ओपनर शम्याल हुसेन र शाहजैब खानले २१.२ ओभरमा ८० रनको साझेदारी गरेका थिए । न्युजिल्यान्डका टम जोन्स र ल्यूक वाटसनले १०.१ ओभरमा ५३ रनको साझेदारी गरेका थिए । अफगानिस्तानलाई हराउन नेपालले सुरुवातमै विकेट लिन आवश्यक रहन्छ ।

३.बाउन्ड्रीमा जोखिम लिन

डट बल समस्या नेपाली क्रिकेटमा नौलो होईन । विकेट गएपछि बाउन्ड्रीमा जोखिम लिन डराउँदै आएकोछ । बाउन्ड्री विना कुनैपनि टोली बलियो योगफलमा पुग्न सक्दैन । डबल सिंगलसँगै कमजोर बलमा चौका र छक्का पनि हान्न सक्नुपर्छ ।

नेपालले पाकिस्तानसँग पूरै ३ सय बल खेल्दा मात्रै ११ चौका र ३ छक्का हानेको थियो । पाकिस्तानविरुद्ध २५ औं ओभरको अन्तिम बलमा नेपालले चौका हानेको थियो । त्यसपछि ४२ औं ओभरको चौथो बलमा मात्रै चौका हानेको थियो । ९९ बलसम्म नेपाल बाउन्ड्री विहीन थियो । बलिङमा विपक्षीलाई दबाबमा राख्न बाउन्ड्री अति आवश्यक हुन्छ ।

४.फिल्डिङमा सुधार

नेपालको सुरुवाती दुबै खेलमा फिल्डिङ राम्रो हुन सकेको छैन । कमजोर फिल्डिङबाट नेपालले विपक्षीलाई सहज रुपमा रन जोड्न दिएको छ । यदि बलरबाट विकेट आउँदैन भने विपक्षीलाई दबाबमा राख्न कुनैपनि टोलीले उत्कृष्ट फिल्डिङ गर्नुपर्छ ।

फिल्डिङमा एउटा रन आउटले पुरै खेल मोडिन सक्छ । अथवा रन जोड्न नदिए विपक्षी दबाबमा ठूलो सटको धुनमा आउट हुने सम्भावना पनि त्यति नै हुन्छ । त्यसैले अफगानिस्तानलाई हराउन नेपालाले आफ्नो फिल्डिङमा सुधार गर्न अति आवश्यक देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?