+
+

गठबन्धनबारे कांग्रेससँग गम्भीर समीक्षा गर्ने अवस्था आयो : वर्षमान पुन

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १३ गते १०:३२

१३ माघ, रोल्पा । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचन परिणामपछि कांग्रेससँगको गठबन्धनबारे गम्भीर समीक्षा गर्नुपर्ने अवस्था आएको बताएका छन् ।

गृहजिल्ला रोल्पामा माओवादी जनप्रतिनिधि र जिल्लास्तरीय नेताहरुलाई प्रशिक्षण दिँदै पुनले कांग्रेसले आफूहरुको विश्वास गुमाएको टिप्पणी गर्दै समीक्षा गर्ने बेला भएको बताएका हुन् ।

हरेकपटकका निर्वाचनमा आफूहरुले कांग्रेसलाई इमान्दारितापूवर्क मत दिने तर, कांग्रेसबाट धोका खाने क्रम दोहोरिंदै आएको उनको भनाइ थियो । ‘कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचन परिणामले राष्ट्रिय राजनीतिमा नयाँ मोड आएको छ । कांग्रेससँगको गठबन्धनबारे गम्भीर समीक्षा गर्नुपर्ने अवस्थामा हामी पुगेका छौं,’ पुनले भने, ‘काँग्रेससँगको गठबन्धनले राजनीतिक रुपमा हामीलाई घाटा या नाफा के छ ? हामी हरेक चुनावमा इमान्दार कांग्रेसलाई मत दिइराख्ने अनि कांग्रेसले हाम्रा उम्मेदवार हराइराख्ने कहिलेसम्म चल्छ ?’

यसअघि विभिन्न प्रकरणमा काँग्रेस नेतृत्वले पार्टीभित्रको गुटबन्दी र शक्ति संघर्षलाई कारण देखाउने गरेको भन्दै पुनले योपटक त्यत्तिले मात्र नपुग्ने बताए ।

पुनले दुई वर्षअघि पनि कोशीबाट राष्ट्रिय सभामा जसपा उम्मेदवारलाई कांग्रेसले भोट नदिएर बेइमानी गरेको स्मरण गरे ।

यस्तै शीर्ष नेतृत्व तहमा भएको समझदारीविपरीत एमालेसँगको गठजोडमा केदार कार्कीलाई कोशीको मुख्यमन्त्री बनाएर पनि कांग्रेसले धोका दिएको पुनले बताए ।

‘दुई वर्षअघि पनि जसपाको राष्ट्रिय सभामा उम्मेदवारलाई हराउने काम कांग्रेसबाट कोशीमै भयो । केदार कार्कीलाई  मुख्यमन्त्री बनायँदा पनि त्यही प्रवृत्ति देखियो’, पुनले भने, ‘काँग्रले एकपछि अर्को गर्दै घात गर्ने र हामीभित्र समस्या छ भनेर माफी पाउने अवस्था रहँदैन ।’

पुनले आफूभित्रको अराजकता र अराजनीतिक प्रवृत्तिको समीक्षा गर्न कांग्रेस नेतृत्वसँग माग पनि गरे । यस्तै कांग्रसबाट कोशीमा भएको धोकाबारे सत्ता गठबन्धनको बैठकमा छलफल हुने पनि उनले बताए ।

बिहीबार सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनले कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र माओवादीकी चम्पादेवी कार्कीलाई उम्मेदवार बनाएको थियो । सिटौला विजयी भए पनि कार्की भने एमालेकी रुक्मिणी कोइरालासँग पराजित भइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?