+
+

१ हजार ६६५ लाई प्रशिक्षण र रोजगारी दिन त्रिपक्षीय सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १४ गते १९:३२

१४ माघ, काठमाडौं । १ हजार ६६५ जनालाई प्रशिक्षण र रोजगारी प्रदान गर्ने उद्देश्यसहित नेपाल सरकार, नेपाल उद्योग परिसंघ र उद्योगबीच त्रिपक्षीय सम्झौता भएको छ ।

कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम (एप्रेन्टिससीप) सञ्चालनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र, नेपाल उद्योग परिसंघ र ६ उद्योगहरुबीच त्रिपक्षीय सम्झौता भएको हो ।

आइतबार भएको सम्झौतामा केन्द्रका कार्यकारी अधिकृत दीपक घिमिरे, परिसंघका महानिर्देशक दीपकराज जोशी र सम्बन्धित उद्योगका प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन् ।

एप्रेन्टिससीप कार्यक्रममा सम्झौता गर्ने ६ उद्योगहरुमा लिटमस् इन्डष्ट्रिज प्रालि, अरिहन्त मल्टिफाइबर्स लिमिटेड, किरण सुज म्यानुफ्याक्चर्स प्रालि, बाबा जुट मिल प्रालि, मोर्डन स्लिपर इन्डस्ट्रिज प्रालि र रन सुज इन्डस्ट्रिज प्रालि रहेका छन् ।

सम्झौताअनुसार यी उद्योगहरुले कुल १ हजार ६६५ जना प्रशिक्षार्थी कामदार छनोट गरी उनीहरुलाई प्रशिक्षण दिए पश्चात कम्तीमा १८ महिनाको रोजगारी प्रदान गर्ने छन् ।

प्रशिक्षार्थी कामदारहरुको अधिकतम तीन महिनाको पारिश्रमिक भने नेपाल सरकारका तर्फबाट केन्द्रले व्यहोर्ने भएको छ ।

सम्झौता उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल, उद्योग सचिव मुकुन्दप्रसाद निरौला, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालको उपस्थितिमा भएको हो ।

कार्यक्रममा मन्त्री रिजालले यस कार्यक्रमको सञ्चालनबाट उद्योगको उत्पादकत्व वृद्धिमा योगदान गर्ने र स्वदेशमै रोजगारीका थप अवसर सिर्जना हुने अपेक्षा व्यक्त गरे । उनले कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न क्रियाशील रहनुपर्नेमा जोड दिए ।

कार्यक्रममा परिसंघका अध्यक्ष अग्रवालले चालु आर्थिक वर्षका लागि ९ ओटा उद्योगहरुले २ हजार १०० जना प्रशिक्षार्थीका लागि परिसंघमार्फत आवेदन दिएको जानकारी दिए ।

पाठ्यक्रम तथा अन्य चुनौतीका कारणले ६ ओटा उद्योगहरुसँग मात्र यस कार्यक्रमका लागि त्रिपक्षीय सम्झौता भएको उनले जानकारी दिए ।

अन्य उद्योगहरु इच्छुक हुँदाहुँदै पनि यसमा सहभागी हुन नसक्दा १ हजार ६६५ हाराहारी मात्रै रोजगारीको अवसर सिर्जना गर्न सकिएको उनले बताए ।

परिसंघका उपाध्यक्ष गुप्ताले आगामी वर्ष यस कार्यक्रमको लक्षित संख्यामा वृद्धि गरी सबै उद्योगहरुलाई समेट्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?