+
+

दक्षिण सुडानमा शान्ति मिसनको क्याम्पमा आक्रमण, नेपाली टोली सकुशल

घानाका एक सैनिकसहित ५२ सर्वसाधारणको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १५ गते १०:३८
अबेईमा खटिएका शान्ति सेना ।

१५ माघ, काठमाडौं । दक्षिण सुडानको अबेई क्षेत्रमा हतियारधारी समूहले आक्रमण गर्दा संयुक्त राष्ट्रसंघको शान्ति मिसनको एक सदस्यसहित ५२ जना सर्वसाधारणको मृत्यु भएको छ । अन्य ६४ जना घाइते भएका छन् ।

बन्दुकधारीको समूहले २७ जनवरी शनिबारको दिन श्रृङ्खलाबद्ध आक्रमण गरेको थियो । न्यिनकुआक, मजबोङ र खादियन क्षेत्रमा साम्प्रदायिक हिंसा भएको थियो । हतियारधारी समूहले अगोकमा रहेको संयुक्त राष्ट्र संघको अन्तरिम सुरक्षा बलको क्याम्पमा समेत आक्रमण गरेको थियो । ती आक्रमणमा परी ५२ जनाको मृत्यु भएको समाचार एजेन्सी एपीले जनाएको छ ।

अबेईका लागि संयुक्त राष्ट्र संघको अन्तरिम सुरक्षा बलले पनि बन्दुकधारीको आक्रमणबाट शान्ति मिसनमा खटिएका घानाका एक जना सदस्यको मृत्यु भएको पुष्टि गरेको छ । ‘सो आक्रमणलाई शान्ति सैनिकको टोलीले विफल पारेको थियो । तर दुःखका साथ भन्नु परेको छ आक्रमणमा परी शान्ति मिसनमा खटिएका घानाका एक जना सैनिकको मृत्यु भयो,’  संयुक्त राष्ट्र संघको अन्तरिम सुरक्षा बलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उसले आक्रमणको निन्दा पनि गरेको छ ।

तेल भण्डार भएको अबेईलाई सुडान र दक्षिण सुडान दुवैले दाबी गर्दै आएका छन् । तर यो क्षेत्र हाल दक्षिण सुडानको नियन्त्रणमा छ । स्थानीय अधिकारीका अनुसार शनिबार साँझ ४ः४५ बजेतिर बन्दुकधारी समूहले आक्रमण गरेको थियो । आक्रमणको कारण खुलेको छैन । तर भूमि विवाद नै कारण हुन सक्ने अनुमान छ ।

साम्प्रदायिक दंगा भइरहने अबेई क्षेत्रमा नेपाली शान्ति सैनिकको ९७ जनाको टोली पनि खटिएको छ । तर नेपाली टोली सुरक्षित रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए । ‘आक्रमणमा घानाको एक सदस्यको मृत्यु भएको जानकारीमा आएको छ । हाम्रो टोली भने सुरक्षित छ,’ प्रवक्ता भण्डारीले अनलाइनखबरसँग भने ।

अबेई क्षेत्रमा जातीय हिंसा सामान्य जस्तै छ । यहाँका आदिवासी समुदायबीच भूमि विवाद पनि छ । सो क्षेत्रका बहुसंख्यक नगोक डिंका समुदायले दक्षिण सुडानको पक्ष लिन्छन् भने मिसेरिया खानाबदोश समुदायले सुडानको पक्ष लिन्छन् । त्यसैले त्यहाँ बेला–बेला हिंसा भइरहन्छ ।

अफ्रिकी संघले अबेईको विवाद टुंगो लगाउन जनमत संग्रहको प्रस्ताव गरेको थियो । मतदानमा सहभागीताको विषयमा सहमति नजुटेपछि नतिजा निस्किएको छैन ।

गत वर्ष मार्चमा संयुक्त राष्ट्रसंघले अबेई क्षेत्रमा शान्ति सैनिक तैनाथ गरेको थियो । त्यसपछि पनि साम्प्रदायिक हिंसा रोकिएको छैन ।

सन् २०२३ मा पनि सो क्षेत्रमा आक्रमण हुँदा ३२ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?