+
+

संसद चलेको बेला काठमाडौं बाहिर जान कांग्रेस सांसदले स्वीकृति लिनुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १९ गते १८:२२

१९ माघ, काठमाडौं । नेपाली कांग्रेसले संघीय संसदको बैठक चलिरहेको बेला बाहिर काठमाडौं बाहिर जानुपरे संसदीय दलको प्रमुख सचेतक वा सचेतकसँग लिखित स्वीकृत लिनुपर्ने निर्देशन दिएको छ ।

संघीय संसदको अधिवेशन चालु रहेको समयमा काठमाडौं बाहिर नजान निर्देशन दिएको छ । शुक्रबार बसेको संसदीय दलको बैठकले सांसद अत्यवाश्यक कार्यले राजधानी बाहिर जानु परेमा कारण सहित उल्लेख गरी प्रमुख सचेतक र सचेतक समक्ष निवेदन दिनुपर्ने पार्टीले निर्देशन दिएको हो ।

संघीय संसदमा खेल्नुपर्ने प्रभावकारी भूमिकाका बारेमा बैठकले निर्णय लिएको छ । ‘देशको सबैभन्दा ठूलो पार्टीका रुपमा स्थापित कांग्रेसले संसदको प्रभावकारिता जिम्मेवार रुपमा काम गर्नुपर्दछ,’ बैठकको निर्णय सुनाउँदै प्रमुख सचेतक लेखकले भने ।

पार्टी सभापति शेरबहादुर देउवाले सांसदहरुलाई समिति र संसदमा थप क्रियाशील हुन निर्देशन दिए । नागरिकका सरोकारका मुद्दा संसदमा उठाउने प्रतिवद्धता कांग्रेसले बैठकमार्फत गरेको छ ।

सरकारले संसदमा प्रस्तुत गरेका विधेयकलाई यसै संसद बैठकबाट पारित गर्न सहजीकरण गर्ने कांग्रेसको निर्णय छ ।

गणपूरक संख्या नपुगेर संसद बैठक अवरुद्ध हुने र समितिको बैठक पनि प्रभावित हुने अवस्थाको अन्त्य गर्न पार्टीेले सांसदहरुलाई उत्तरदायी गराउने निर्णय लिएको लेखकले बताए ।

कोशीमा राष्ट्रिय सभा गठबन्धनका एक उम्मेदवार पराजित हुनु अनेपेक्षित भएको ठहर बैठकले गरेको छ । ११ माघमा भएको राष्ट्रिय सभाको निर्वाचनका १९ जना उम्मेदवार मध्ये एक जना कोशीमा पराजित भएका थिए । माओवादी केन्द्रबाट उम्मेदवार बनेकी चम्पादेवी कार्की पराजित भएकी थिइन् ।

बैठकमा सांसदद्वय चन्द्र भण्डारी र विनोद चौधरीले समय लिएर बोलेका थिए । उद्योगपति तथा व्यवसायी समेत रहेका चौधरीले बिहीबार पक्राउ परेका आफ्ना भाइ अरुण चौधरीका पक्षमा बोलेका थिए ।

सरकारले पूर्वाग्रह साँधेर उनलाई पक्राउ गरेको उनको जिकिर थियो । लगानी सम्मेलन गर्न लागिरहेको सरकारले उद्योगी व्यवसायीलाई निरुत्साहित गरेको विचार राखेका थिए । बाँसबारीको सरकारी जग्गा विधिसंगत तरिकाले विद्यालयको नाममा ल्याइएको उनको जिकिर थियो ।

संसद सचिवालयको महासचिव नियुक्ति र कांग्रेस सांसद टेरामक्स प्रकरणमा परेको विषयमा भने बैठकमा छलफल नभएको सचेतक लेखकले जानकारी दिए ।

पार्टी र संसदीय समितिलाई संयोजन गर्ने सांसदहरुलाई जिम्मेवारी बैठकले दिएको छ ।

समितिमा पार्टीबाट तोकिएका संयोजकहरुः

१. अर्थ समिति – रामनाथ अधिकारी
२. अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समिति – डा. नारायण खड्का
३. उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति – रमा कोइराला पौड्याल
४. कानून न्याय तथा मानव अधिकार समिति – नागिना यादव
५. कृषि, सहकारी तथा प्राकृति स्रोत समिति – कुसुमदेवी थापा
६. महिला तथा सामाजिक मामिला समिति – आशा विक
७. राज्य व्यवस्था तथा सुशासन समिति – दिलेन्द्रप्रसाद वडू
८. पूर्वाधार विकास समिति –  दिनेश कुमार यादव
९. शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति –  लिलादेवी बोखिम (लिम्वू)
१०. सार्वजनिक लेखा समिति – श्यामकुमार घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?